‘सुगम सङ्गीत यात्रा’को अध्यक्षमा गजलकार अनुराग अधिकारी सर्वसम्मत चयन !

म्यूजिक खबर
प्रकाशित: २० भाद्र २०७५, बुधबार

पोखरा, भदौ २० गते । पोखराबाट सञ्चालित साङ्गीतिक अभियान सुगम सङ्गीत यात्राको अध्यक्षमा गजलकार अनुराग अधिकारी चयन हुनुभएको छ ।

विगत ३ वर्षदेखि सञ्चालित अभियानमा संलग्न गीतकार, सङ्गीतकार तथा गायक÷गायिकाहरुको भेलाबाट यात्राका आयोजक संस्थाहरुमध्ये एक अनुपम म्युजिकका प्रबन्ध निर्देशक र यात्राका परिकल्पनाकारसमेत रहनुभएका अधिकारीलाई अध्यक्षमा सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । यात्राका उपाध्यक्षमा आयोजकमध्ये एक संस्था त्रिवेणी सङ्गीतालयका प्रबन्ध निर्देशक सङ्गीतकार नवराज बराल र सचिवमा अर्को आयोजक संस्था जे. ई. म्युजिक एकेडेमीका प्रबन्ध निर्देशक गायक रामभक्त जोजिजू चयन हुनुभएको छ । यस्तै कोषाध्यक्षमा गायिका इतु जोजिजू, सहसचिवमा साहित्यकार रुपिन्द्र प्रभावी र सदस्यहरुमा गायक सुनील बराल र गायिका प्रमिला बराल रहनुभएको छ ।

हरेक महिना अनुपम म्युजिक, त्रिवेणी सङ्गीतालय र जे. ई. म्युजिक एकेडेमीको संयुक्त आयोजनामा हुँदै आएको साङ्गीतिक अभियान सुगम सङ्गीत यात्रालाई अझै व्यवस्थित गर्ने उद्देश्यले कार्यसमितिको संरचनामा अगाडि बढ्न लागिएको अध्यक्ष अनुराग अधिकारीले जानकारी दिनुभयो । आगामी दिनमा संसारका जुनसुकै भागमा रहेका नेपाली गीत÷सङ्गीतप्रेमीहरुलाई सदस्यता वितरण गरेर अगाडि बढ्ने योजना बनाइएको अध्यक्ष अधिकारीले जनाउनुभयो ।

उहाँका अनुसार यात्राको ३८ औँ शृङ्खलासँगै गायक रामभक्त जोजिजूको स्वर र रक्ष गुरुङको रचना र सङ्गीत रहेको नयाँ गीत ‘मनको ढोका…’को म्युजिक भिडियोको लोकार्पण कार्यव्रmम आगामी भदौ ३० गते गरिने छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङको प्रमुख आतिथ्यमा पोखरा थिएटर, गैह्रापाटनमा हुने कार्यव्रmम बिहान ११ बजे हुने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु