नाच्ने संगीत होइन बाँच्ने संगीत चाहिएको छ : संगीतकार राजु सिंह

म्यूजिक खबर
प्रकाशित: २४ भाद्र २०७१, मंगलवार

काठमाडौं, २१ भाद्र । संगीतकार राजु सिंहले पछिल्लो समय नाच्ने संगीतको बाढी आइरहेको बताउँदै अब नाच्ने होइन बाँच्ने संगीत चाहिएको बताएका छन् । राजधानीमा भएको सुमी एल्बम विमोचनको अवसरमा संगीतकार सिंहले पछिल्लो समय नाच्ने संगीत आइरहेको बेला बाँच्ने संगीत सहितको एल्बम लिएर गीतकार सुमी र संगीतकार अविद आएको बताउँदै सुमी एल्बम एउटा संग्रहणीय एल्बम भएको बताएका थिए ।
गीतकार सुमी सिंहको एकल रचना र संगीतकार अविदको एकल संगीतमा तयार पारिएको गीतिसंग्रह सुमी सार्वजनिक गरिएको छ । कार्यक्रमका विशेष अतिथि गीतकार सुवाषचन्द्र ढुंगेलको हातबाट सुमीको सार्वजनिक गरिएको हो । सार्वजनिक कार्यक्रममा स्वागत मन्तव्य दिँदै म्यूजिक खबर डटकमका अध्यक्ष सुमन बैरागीले पछिल्लो समयको गीतसंगीतको उद्योग रेमिट्यान्स र गीतकारले धानेको बताएका थिए । उनले सुमी एल्बमलाई सफलताको शुभकामना दिँदै गीतसंगीत बिक्री नभए पनि संगीतकर्मीहरु व्यस्त भएको र क्रियाशील भने भइरहेको बताएका थिए ।
संगीतकार अविदको सभापतित्वमा सम्पन्न भएको सुमी सार्वजनिक कार्यक्रममा गीतकार सुमी सिंहले आफ्नो गीति सिर्जनाका बारेमा प्रष्ट पारेकी थिइन् । सिंहले आफ्ना जीवनका अनुभूतिलाई शब्दमार्फत् सार्वजनिक गरेका बताउँदै एल्बमको तयारीमा आइपरेका आरोह अवरोहलाई कार्यक्रममा सुनाएकी थिइन् । कार्यक्रमका अतिथि संगीतकार सन्तोष श्रेष्ठले सुमी एल्बमको सफलताको शुभकामना दिँदै गीतकार सिंह र संगीतकार अविदको आआफ्नै फ्लेबर भएको हुँदा गीतसंगीत आफ्नो परिचय स्थापित गर्न फ्लेबरले साथ दिने बताएका थिए ।

sumi
कार्यक्रमका अर्का अतिथि संगीतकार बुलु मुकारुङले गीतसंगीतका बारेमा बोल्दै सुमी सिंहको पहिलो यात्राको सफताको शुभकामना दिएका थिए भने संगीतकार अविदको चौथो एकल एल्बमको यात्रालाई अझ सशक्त भएको बताएका थिए । उनले संगीतकार अविद पक्कै पनि राम्रो संगीतको विद्यार्थी भएका कारण जीवन्त संगीत दिन सफल भएको बताएका थिए । त्यसैगरी गीतकार भावेश भुमरीले सुमी एल्बमका गीतहरु राम्रा भएको बताउँदै आफ्नो कम्पनी सुरप्रभा गीतसंगीतले सुमी एल्बमको बजार प्रबद्र्धनका लागि सक्दो सहयोग गर्ने बताएका थिए ।

suman bairagi-sakira
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि गीतकार सुवाषचन्द्र ढुंगेलले गीतकारका शब्दहरुमाथि प्रकाश पार्दै सुमी एल्बम उत्कृष्ट एल्बम बनेको बताएका थिए । संगीतकार अविदसँगको सहकार्य र विगतलाई सम्झँदै ढुंगेलले सुमी एल्बमको सुरुवातबाट गीतकार सुमीलाई संगीत क्षेत्रमा स्थापित गर्ने बताएका थिए ।
कार्यक्रम संचारकर्मी हेम सुवेदीले संचालन गरेका थिए भने सुमी एल्बममा समावेश रहेका स्रष्टाहरुलाई एल्बम र खादा ओढाएर सम्मान गरिएको थियो । सुमी एल्बमभित्र ६ वटा गीतहरु समावेश गरिएका छन् । पर्खिएँ कि कतै, फोरेर मुटु, दोसाँधको संघारमा, लाखौं पटक, सम्झनाका तरेलीमा, वसन्तको न्यानो जस्ता गीत रहेका छन् । गीतमा अन्जु पन्त, रिमा गुरुङ होडा, सत्यराज आचार्य, शिव परियार, जीना रसाइली जस्ता गायक गायिकाको स्वर रहेको छ । सुमी एल्बमलाई सुरप्रभा गीतसंगीत प्रा.लि.ले बजार व्यवस्थापन गरेको छ ।

sumi_rekha sumi_rajesh sumi_dipika sumi_amir saharukh khan

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु