• एकल रचना वाचनमा गजलै गजल

    म्यूजिक खबर
    प्रकाशित: २९ भाद्र २०७१, आईतवार

    रोल्पा, २९ भाद्र । साहित्यकार रमेश सुवेदीको एकल रचना वाचन शनिबार लिबाङमा सम्पन्न भयो । रोल्पाको जेठो साहित्यिक संस्था ललित साहित्य परिषद्, रोल्पाले कार्यक्रमको आयोजना गरेको हो । परिषद्ले हरेक महिनाको अन्तिम शनिबार एकल रचना वाचन कार्यक्रम सञ्चालन गर्दै आएको छ । सुवेदीको यो एकल रचना वाचन परिषद्को चौथो शृङ्खला हो । यस अघि साहित्यकार खेमराज शर्मा, कवि डी.बी.टुहुरो तथा कवयित्री सीता शर्माको एकल बाचन कार्यक्रम सम्पन्न भईसकेको छ ।

    प्राथमिक विद्यालयको नजानिँदो समयबाटै साहित्यमा लागेको बताउँने सुवेदीले उनको जन्मथलो रोल्पाको गजुल स्थित आफूले अध्ययन गरेका विद्यालयहरूबाट विभिन्न साहित्यिक प्रतियोगिताहरूमा प्रतिनिधित्व गर्दै आएका र कैयौ प्रतियोगिताहरूमा विजयी भई सदरमुकामको यही थलोमा कैयौं पटक पुरस्कारहरू पनि थापेका हुन् । कर्मचारी मिलन केन्द्र रोल्पाद्वारा २०४४ सालमा आयोजित रोल्पा जिल्लाका अन्तर मा.वि. स्तरीय निबन्ध प्रतियोगितामा प्रथम भई सोही मिलन केन्द्रले प्रकाशन गरेको पत्रिका ‘जलजला’मा छापिएको निबन्ध नै सुवेदीको पहिलो प्रकाशित रचना हो । पछिल्लो चरणमा गीत गजलमा बढी सक्रिय देखिएका सुवेदीको गजल लेखनको शुरुवात भने २०४७ साल देखि पोखराको लामाचौरमा अवस्थित ईन्जिनियरिङ् क्याम्पसमा अध्ययन गर्दा खेरी बाट भएको हो ।

    उक्त एकल बाचन कार्यक्रममा सुवेदीले आफूले सिर्जना तथा प्रकाशन गरेको पहिलो गजलसहित उनले पहिलो चरणमा ६ वटा गजल सुनाएका थिए । २०४८।११।४ मा रचना गरेको सुवेदीको पहिलो गजल पोखराबाट प्रकाशित हुने प्रतिमा मासिक पत्रिकामा २०४९ सालमा छापिएको थियो । त्यसपछि साहित्यकार डी.बी. टुहुरोले सुवेदीको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पारेका थिए । सुवेदीले अहिलेसम्म मनको तरेलीमा गजलसङ्ग्रह (२०६०), त्रिवेणी संयुक्त गजलसङ्ग्रह (२०६७) र सभ्यता गीति एल्बम (२०७१) रचना गरेको छन् । यसका साथै सन्तोष श्रेष्ठ सम्बद्ध विभिन्न एल्बमहरुमा उनका आधुनिक गीत  तथा लोकगीतहरु पनि समाहित छन् । पेशाले ईन्जिनीयर सुवेदी रापतीको जेठो साहित्यिक संस्था राप्ती साहित्य परिषद्का केन्द्रीय सचिव पनि हुन् । एकल बाचन कार्यक्रममा सुवेदीले कर्मचारी जीवनदेखि व्यक्तिगत जीवनसम्मका अनुभव तथा अनुभूतिहरु गजलमार्फत व्यक्त गरेका थिए । कायक्रममा उनले समसामयिक र शृङ्गारिक गरी जम्मा १८ वटा गजलहरु सुनाएका थिए ।

    ramesh nepal

    यस्तै  साहित्यकार पुरण क्षेत्रीले समग्र कार्यक्रमको समीक्षा गरेका थिए । कार्यक्रमको समीक्षा गर्दै क्षत्रीले सुवेदीका गजलहरूमा समाजमा घटिरहने घटनाहरू प्रतिविम्वित हुनुको साथै जनताले आसागरेका अगुवाहरूको कार्यशैली प्रति असन्तोष,तथा आफ्नै लामो जागिरे जीवनको अनुभूति रहेको बताएका थिए । ललित साहित्य परिषद्का अध्यक्ष ओम पन्छीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नारायण रेग्मी जिज्ञासुले गरेका थिए । कार्यक्रममा लोक आलोक,नारायण आचार्य,टेकेन्द्र जी.एम, काशिराम डाँगी, खेम बुढा, हीरा घर्ती,कविता उपाध्याय, के.वी. विरही, गोकर्ण पुन, भगवती बुढा, नविन लोचनमगर, खबपु चञ्चलमगर,चाहना शर्मा लगायतका साहित्यकारहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको पाँचौ शृङ्खलामा यही असोज २५ गते शनिवार कवि टेकेन्द्र जी.एम.को एकल वाचन कार्यक्रमको आयोजना गरिने आयोजकले जनाएको छ ।

    rolpa

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु