काठमाडौं, २९ असार । कला क्षेत्रमा क्रियाशील रहेर राम्रा भन्दा राम्रा कलाकार उत्पादन गर्दै आएको कलिउड कल्चर ग्रुपले आफ्नो स्थापनाको छैठौं वार्षिकोत्सव मनाएको छ । कोरियोग्राफर एवं निर्देशक भुवन लामाद्वारा स्थापना गरिएको कलिउड कल्चरले चलचित्र एवं संगीत क्षेत्रमा स्थापित धेरै कलाकार जन्माइसकेको छ । सामाखुशीको रानीबारीमा कार्यालय रहेको यस कल्चरले छैठौं वर्षसम्म आइपुग्दा गरेको मेहनत र संघर्षलाई वार्षिकोत्सवको अवसरमा मूल्यांकन गरिएको थियो । गुरु पूर्णिमाको दिन पारेर शुभारम्भ भएको कलिउड कल्चरले हाल पनि धेरै कलाकारहरुलाई नृत्य एवं अभिनयको प्रशिक्षण दिइरहेको छ ।
छैठौं वार्षिकोत्सवको अवसर पारेर कल्चरका अध्यक्ष भुवन लामा, म्यूजिक खबर डटकमका अध्यक्ष सुमन बैरागी र कल्चरबाटै प्रशिक्षण लिएर चलचित्रमा होमिएकी नायिका एनी कुँवरले संयुक्त रुपमा केक काटेर वार्षिकोत्सवको शुभारम्भ गरेका थिए । त्यस्तै उक्त अवसरमा विभिन्न कलाकारहरुले आफ्नो प्रतिभालाई प्रस्तुत गरेका थिए भने कोरियोग्राफर भुवन लामाकै ४ वर्षे छोरी लिबिया तामाङले नृत्य प्रस्तुत गरेकी थिइन् । लिबियालाई नृत्यलाई देखेर उपस्थित सम्पूर्ण दर्शकहरुले भोलिको तेरिया मगर हुने भन्दै प्रंशसा गरेका थिए । कलिउड कल्चरमा सरस्वती तामाङ र भुवन लामाले नृत्यको प्रशिक्षण दिँदै आइरहेका छन् ।