![LP Joshi-Laxmi Prasad Joshi](https://musickhabar.com/wp-content/uploads/Lp-josi-150x150.jpg)
निर्देशक रुपेश उप्रेतीद्वारा निर्देशित चलचित्र ‘चाल’को प्रोमो एवं पोष्टर सार्वजानिक गरिएको छ । नेपाल रेडक्रस सोसाईटी दुवाकोट–भक्तपुर, उपशाखाको आयोजना एक कार्यक्रम गर्दै प्रोमा र पोस्टर सार्वजनिक गरिएको हो । रेडक्रस भक्तपुर उपशाखाका सभापति सोम प्रधानको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भक्तपुरका मन्त्री शिवहरी केसीको प्रमुख अतिथ्यता रहेको थियो ।
नेपाली चलचित्रको व्यापार व्यवसाय विस्तारै वृद्धि भैरहेको अवस्थामा निर्देशक उप्रेतीको निर्देशनमा निर्माण भएको चलचित्र चालले पनि आशातित रुपमा व्यापार गर्ने बताउँदै निर्देशक माधव खरेलले चलचित्रको सफलताको शुभ–कामना दिएका थिए । त्यसैगरी चलचित्रका नायक श्रीदेव भट्टराईले चलचित्रमा मौलिकता रहेको र यस चलचित्रमा आफुले मेहनत गरेको बताए । भट्टराईले चलचित्र चालले आफ्नो अभिनय क्षमतालाई राम्रोसँग पर्दामा उतारेको बताउँदै दर्शकहरुले मन पराइदिनेमा विश्वस्त रहेको बताए । यसैगरी चलचित्रका बारेमा बोल्दै चलचित्रका कलाकार विशाल विष्टले आफुले यतिका वर्षसम्म धेरै चलचित्र, टेलीचलचित्रहरुमा अभिनय गरे पनि ‘चाल’ गम्भीर चाल चलेको बताए । विष्टले चालमा गरेको आफ्नो अभिनय अहिलेसम्मकै उत्कृष्ट रहेको बताउँदै निर्देशक रुपेश उप्रेतीलाई धन्यवाद समेत दिएका थिए ।
चलचित्रका निर्देशक रुपेश उप्रेतीले भने चलचित्रको कथा आफैंमा मौलिक रहेको र यसको छायाङ्कन पनि नेपालको उत्कृष्ट पर्यटकीय स्थल मध्ये पर्ने दोलखा जिल्लाका विभिन्न स्थानमा गर्न पाएकोले चलचित्रको विषयवस्तुलाई प्रष्ट्याउन थप मद्दत पुगेको बताए ।
सुर–श्रृंगार फिल्मस् प्रा.लि. को व्यानरमा निर्माण भएको चलचित्र चालको छायांकन एवं प्रस्तुति राजु केसीको रहेको छ भने केसीलाई निर्माणका लागि कार्यकारी निर्माताका रुपमा हरि विष्ट र सह–निर्माताका रुपमा प्रविण थपलियाले साथ दिएका छन् । श्रीदेव भट्टराई, विशाल विष्ट, दिपशा विसी, विक्रम थापा, प्रल्हाद खरेल, गोपाल वराईली, सरिना वयलकोटी, मुकेश अधिकारी, हिरा मगर लगायतका कलाकारहरुको अभिनय रहेको उक्त चलचित्रलाई राज सरगमले लेखेका छन् भने कुमार श्रेष्ठको द्वन्द्व, हरि विष्ट, सन्तोष प्रगाढ राई, राम सिंह नेपालीको संगीत रहेको छ ।
चलचित्र चाललाई गरिव तथा असाहायहरुको उपचारको लागी नेपाल रेडक्रस सोसाईटी दुवाकोट उपशाखा भक्तपुरले यहि आगामी असोज २१ गते साँझ ५ वजे विशेष च्यारिटि शोको आयोजना गर्न लागेको निर्माण पक्षले उक्त कार्यक्रममा जानकारी दिएको थियो । कार्यक्रम संचारकर्मी अर्जुनराजले संचालन गरेका थिए ।