• नेपाली साहित्य सम्मेलन जापानमा हुने

    म्यूजिक खबर
    प्रकाशित: १८ भाद्र २०७२, शुक्रबार

    काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को चौथो सम्मेलन आगामी सेप्टेम्बर १९ देखि २१ सम्म जापानको टोकियोमा हुँदैछ। मोतीराम भट्टको जन्मजयन्ती पारेर हुने सम्मेलनमा संसारभरका २०० नेपाली स्रष्टाहरुले भाग लिनेछन् । सन् २००९ मा अमेरिकाको न्युयोर्कबाट सुरु सम्मेलन हरेक दुई वर्षमा हुँदै आएको छ। सन् २०११ मा बेलायत र २०१३ मा वासिङ्गटन डीसीमा सम्मेलन भएको थियो। सम्मेलनमा कार्यपत्र प्रस्तुति, छलफल सत्र, कवि गोष्ठी, पुस्तक प्रदर्शनी, सम्मान र कृति लोकार्पण तथा हिरोसिमा घोषणा पत्र जारी लगायतका कार्यक्रम हुने बताइएको छ।
    यसपटकको सम्मेलनका लागि अनेसासका उपाध्यक्ष प्रकाश पौडेल माइलाको संयोजकत्वमा तयारी समिति गठन भएको छ। सम्मेलन भव्य बनाउन अनेसासका अध्यक्ष पदम विश्वकर्माको संयोजकत्वमा वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकाली, उपाध्यक्षहरू राम खत्री र प्रकाश पौडेल तथा महासचिव गोवर्दन पूजा र अनेसास जापानका अध्यक्ष आलोक चालिसे रहेको उच्चस्तरीय समिति पनि गठन गरिएको विज्ञप्तिमा जनाइएको छ।

    समितिको हालै बसेको बैठकले विशेष सल्लाहकार र सल्लाहकारसमेत छानेको छ । विशेष सल्लाहकारमा डा. कविता लामा, डा. खगेन्द्रप्रसाद लुइँटेल, गंगाप्रसाद उप्रेती, जीवा लामिछाने, डा. ताना शर्मा, देवमान हिराचन, भुवन भट्ट, डा. श्याम कार्की र होमनाथ सुवेदी छन्। सल्लाहकारमा भने डा. कुमार बस्नेत, गीता खत्री, तिलक मल्ल, डा. दुबसु क्षेत्री, भारती गौतम, भूषण घिमिरे र सीता पाण्डे छन्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु