• प्रवासदेखि जन्मभूमिसम्म खलपात्रमा लामिछाने

    म्यूजिक खबर
    प्रकाशित: २८ चैत्र २०७०, शुक्रबार

    काठमाडौं । केही समय पहिला प्रवासमा व्यस्त भएका बीएस लामिछाने अर्थात् राजु बजाज यतिबेला जन्मभूमिमा फर्किएका छन् । प्रवासमा रहेर पनि आफूलाई राम्रो पात्रको रुपमा उभ्याउन नसकेका लामिछानेले जन्मभूमिमा फर्किएपछि पनि राम्रो बन्न सकिरहेका छैनन् । अर्थात् उनको भूमिका सधैं नेगेटिभ नै बनिरहेको छ ।
    नारायण रायमाझी निर्देशित चलचित्र प्रवासमा प्रमुख खलपात्रको रुपमा देखिएका बीएस लामिछानेलाई मोहन निरौला निर्देशित चलचित्र जन्मभूमिमा पनि खलपात्रकै सहभूमिकामा लिइयो । प्रवासमा प्रमुख खलपात्र भएर आफ्नो अभिनयलाई मजबुत बनाएका लामिछानेले जन्मभूमिमा पनि सशक्त अभिनय गरेर आफूलाई चलचित्र अभिनयमा स्थापित गर्दैछन् । करिब तीन दर्जन म्यूजिक भिडियोमा अभिनय गरिसकेका लामिछानेले केही टेलिसिरियल र चलचित्रहरुमा अभिनय गरिसकेका छन् ।
    अभिनयको क्षेत्रमा लागिसकेपछि आफूलाई सबै भूमिकामा उभ्याउन सक्ने क्षमता बोकेर हिंड्नुपर्छ भन्ने मान्यताका साथ अघि बढेका लामिछाने पछिल्लो समय लोकसांस्कृतिक नृत्य लिएर देश विदेशका केही कार्यक्रमहरु पनि भ्याउने गरेका छन् ।
    रायमाझी निर्देशित चलचित्र प्रवासमा लामिछानेका अलावा प्रशान्त तामाङ, रजनी केसी, सुशील पोखरेल, नरेश खड्का, प्रविन खनिया, हिउँवाला गौतम, आरसी कोइराला, केशव भट्टराई, अनु अधिकारी, शितल आचार्य लगायतको अभिनय रहेको छ । राजेश वंशल निर्माता रहेको प्रवास चलचित्र गोर्खा पल्टनपछि रायमाझीले निर्देशन गरेको चलचित्र हो ।
    त्यस्तै निरौला निर्देशित चलचित्र जन्मभूमिमा लामिछानेका अलावा विनोद श्रेष्ठ, निष्मा घिमिरे, अनु शाह, अग्रज गिरी, मोहन निरौला, उत्तम केसी, सौगात विष्ट लगायतको अभिनय रहेको छ । यस चलचित्रलाई सुरज गिरीले निर्माण गर्न लागेका हुन् ।

    prabas1

     

    prabas

     

    buddhisagar

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु