• राजनलाई भ्याइनभ्याइ

    म्यूजिक खबर
    प्रकाशित: १२ माघ २०७१, सोमबार

    काठमाडौं । गायक राजन ठकुरी कुनै बेला चर्चाको शिखरमा थिए । सिमसिम पानी रैछौ बेइमानी बोलको गीतबाट गायनयात्रामा प्रवेश गरेका राजन ठकुरीले लोकदोहोरीको क्षेत्रमा आफ्नो गायकीलाई उच्च स्थानमा राख्न सफल भए । उनको सिमसिम पानीले लोकदोहोरीको क्षेत्रमा ठूलो फड्को मार्यो । त्यसपछि उनलाई फर्केर हेर्नुपर्ने अवस्था आएन । दिनदिनै उनको गायनको तारिफ हुन थाल्यो । फलस्वरुप उनका बादलभित्र जून छ, हातमा लाग्यो शून्य जस्ता दर्जनौं गीतहरु हिट हुँदै गए ।
    उनको गायनको तारिफ जसरी भएको थियो त्यसरी नै उनलाई लोकदोहोरीको क्षेत्रमा सफल गायकका रुपमा परिचय पनि प्राप्त भयो । त्यसपछि उनी विभिन्न महोत्सवहरुमा व्यस्त हुँदै गए र दोहोरी साँझ पनि संचालनमा ल्याए । अहिले बाग्लुङ कालिका दोहोरी साँझ संचालन गरिरहेका राजन विभिन्न जिल्लामा हुने मेला महोत्सवमा व्यस्त छन् । उनलाई यतिखेर भ्याइनभ्याइ भएको छ । कहिले पवर्त, कहिले बाग्लुङ, कहिले चितवन त कहिले राजधानीमै हुने गरेका महोत्सवहरुमा उनको सुमधुर स्वर सुन्न पाइन्छ । दर्जनौं गीतहरु गाइसकेका गायक ठकुरीले विभिन्न सम्मान र अवार्डहरुबाट सम्मानित भइसकेका छन् । पछिल्लो समय बजारमा नयाँ गीत नआउँदा स्रोताहरुले ठकुरी हराएको भन्ने गरेको भए पनि अब स्रोताहरुका लागि नयाँ लोकदोहोरी बजारमा ल्याउने तयारी गरिरहेको ठकुरीले बताए । मेला महोत्सव र विभिन्न स्टेज कार्यक्रममा व्यस्त हुँदै आएका ठकुरी अब गायनलाई निरन्तरता दिने भएका छन् । हुन त उनले लोकदोहोरीलाई पनि आत्मसात गर्दै आधुनिक गीतसंगीतमा पनि हात हालेका थिए । उनको आधुनिक गीतिसंग्रह परीक्षाले त्यति राम्रो सफलता पाउन नसके पनि लोकदोहोरीमा भने उनको अभाव देखिन्छ ।

    20150124_154435 20150115_174116

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु