जेष्ठ २३, काठमाडौं । संगीत रोयल्टी संकलन समाज नेपालले आफ्नो वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको छ । जेष्ठ २५ गते स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको महासचिव महेश खड्काले बताए । नेपाल पर्यटन बोर्डको हलमा विहान १० बजेदेखि दुई बजेसम्म आयोजना गरिएको उक्त कार्यक्रममा सबै संगीतकर्मीहरुलाई उपस्थित भएर रक्तदान गर्नका लागि अनुरोध गरिएको छ । मुलुकमा रगत संकलन नहुँदा विरामीहरुलाई आवश्यक परेको समयमा रगत उपलब्ध गराउन अप्ठ्यारो पर्दै आएको हुँदा रक्तदानलाई विशेष रुपमा हेरिएको महासचिव खड्काले बताए । संगीतकर्मीहरुको पनि सामाजिक कार्यमा उत्तिकै कर्तव्य हुने भएकोले यो कार्यका लागि सबैलाई अनुरोध गरिएको उनले बताए ।