• लोकदोहोरीमा भीडन्त हुँदै, प्रतिष्ठानमा अब कसको नेतृत्व ?

    म्यूजिक खबर
    प्रकाशित: २ आश्विन २०७३, आईतवार

    काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको छैटौं अधिवेशनबाट नयाँ नेतृत्वको लागि भीडन्त हुँदैछ । चन्द्र शर्मा अध्यक्ष रहेको यस संस्थाको आगामी आश्वीन ८, ९ र १० गते काठमाडौंमा हुन लागेको अधिवेशनबाट नयाँ नेतृत्वका लागि कसले बाजी मार्ला भन्ने विषय अहिले निकै चर्चाको विषय बनिरहेको छ । यतिखेर सामाजिक सञ्जालमा उम्मेदवारहरुको चर्चा निकै बढेको छ । प्रतिष्ठानको अध्यक्षमा तत्कालिन वरिष्ठ उपाध्यक्ष बद्री पंगेनीको उम्मेदवारीले धेरै चर्चा बटुलिरहेको छ । सम्भवतः उनको चर्चाको हिसाबले र संस्थापनको समर्थनको हिसाबले पनि अध्यक्ष हुने पक्कापक्की देखिन्छ । तर अध्यक्षकै प्रत्यासीमा टीकाराम चपाई पनि देखिएका छन् भने यसभन्दा अगाडि पनि आफूलाई वामपन्थी धार भन्दै आएका गायक विष्णु खत्रीले पनि अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । यसरी हेर्दा विष्णु खत्री र बद्री पंगेनीको बीचमा टीकाराम चपाईं भोट कटौती गर्ने साधनका रुपमा देखिएलान् जस्तो छ । जसको फाइदा सिधै बद्री पंगेनीलाई पुग्ने देखिन्छ ।

    badri-pangeni
    त्यस्तै वरिष्ठ उपाध्यक्षमा भने तत्कालिन महासचिव रमेश बिजीको उम्मेदवारी बलियो देखिएको छ । महासचिवमा रहेर गरेको कार्यदेखि संस्थापक सदस्यमध्येका एकमात्र सदस्यका रुपमा रहेका बिजीले वरिष्ठ उपाध्यक्षमा संस्थापन पक्षको मात्र होइन सम्पूर्ण जिल्ला र समन्वयबाट पनि राम्रो समर्थन पाएका छन् । आफूलाई कर्मठ, इमान्दार कार्यकर्ताको रुपमा चिनाउँदै आएका बिजीले अबको उम्मेदवारी भनेको सम्पूर्ण लोकदोहोरी क्षेत्रका विकासकै लागि हो भनेका छन् । त्यस्तै ऋषिलाल श्रेष्ठ र विमलराज क्षेत्रीले पनि वरिष्ठ उपाध्यक्ष पदमा नै उम्मेदवारी दिएका छन् । उनीहरु पनि एकअर्कामा चुनावी मैदानमा दौडिरहेका छन् । त्यस्तै प्रथम उपाध्यक्षमा पशुपति शर्मा, द्वितीय उपाध्यक्षमा रामजी खाँडको उम्मेदवारी देखिएको छ ।

    त्यसैगरी महासचिवमा भने गायक शिरिष देवकोटा र गीतकार सुवास केसीको उम्मेदवारी परेको छ भने सचिवमा ९ जनाको उम्मेदवारी परेको छ । जसमा शंकर बिसी, खुमन अधिकारी, राजु गुरुङ, चोलेन्द्र पौडेल, हुम गैरे, कृष्ण रेउले, नविन पौडेल, टीका पुनको उम्मेदवारी देखिएको छ । सबैभन्दा बढी प्रतिस्पर्धाको पद भने सचिव पद देखिएको छ । कोषाध्यक्षमा भने अहिलेसम्म दीपक खड्काको उम्मेदवारी मात्रै देखिएको छ ।

    बाँकी सदस्य पदहरुमा भने मुना थापा मगर, ईश्वरी भुसाल, राजन ठकुरी, विरही कार्की, गणेश गुरुङ, शिव हमाल, किरण अधिकारी, कृष्ण आँसु, पूर्णकला बिसी, जानकी तारमी मगर, अमृता लुंगेली, सावित्री जोशी लगायतको नाम अगाडि देखिएको छ । यसरी प्रतिष्ठानको निर्वाचनलाई हेर्दा करिब ४० हजार सदस्य रहेको संस्थामा चुनावी अधिकार बोकेर आउनेहरुको भीडले कसलाई नेतृत्वमा लैजान्छ त्यो भने हेर्न बाँकी नै छ । तर एउटा पार्टीको चुनावमा हुने खर्चभन्दा बढी खर्च भएर नै प्रतिष्ठानको केन्द्रीय कार्यसमितिको चुनाव सकिने देखिन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु