• संगीतमा राजनीतिक प्रभाव

    म्यूजिक खवर
    प्रकाशित: १८ मंसिर २०७०, मंगलवार

    सन्तोष श्रेष्ठ
    सङ्गीत प्रिय विषय अर्थात् सबैको हृदयको आभास । किनकी एक जना स्रष्टाले आफ्नो हृदयको कल्पना वा यथार्थतालाई सङ्गीत मार्फत् थुप्रै श्रोताहरुको माझमा प्रस्तुत गर्न खोजेको हुन्छ तर जब उसले प्रस्तुत गरिदिएको विषय श्रोतामाझमा पुग्दछ । त्यो कुनै एक राष्ट्रको मात्रै नभएर थुप्रै श्रोताहरुले प्रिय सिर्जना बन्न सफल हुन्छ । सङ्गीत आफैंमा एक कोमल विषय हो । सङ्गीत हृदयबाट स्वतःस्फूर्त प्रस्फुटित विषय भएका कारण एउटा स्रष्टाले केवल आफ्नो भावना प्रस्तुत गरिदिएको विषय पनि धेरैको हृदयको ढुकढुकी अर्थात् मीठो रोजाईको पाटो पनि बनिरहेको हुन्छ । कुनै पनि एउटा स्रष्टाले सिर्जना गरेको गीत सङ्गीत धेरै श्रोताहरुलाई थाहै हुँदैन कि उक्त गीतमा रचनाकार को हो ? सङ्गीतकार को हो ? अनि गायक वा गायिका को हो ? यी सबै व्यक्तिहरुको पहिचान नभएता पनि श्रोताहरुले अत्याधिक आनन्द लिएर गीत सङ्गीत सुनिरहेका हुन्छन् । एउटा असल स्रोताले गीत सङ्गीत सुनेर आफूलाई आनन्द आइरहेको विषयभित्रका स्रष्टाहरु को को हुन् भन्ने कुरा थाहा पाउँदा साह्रै राम्रो मानिन्छ । तर कसैले स्रष्टाहरुको पहिचान विना नै उसले गीत सङ्गीत सुन्नु र आनन्द लिनुमा उसको कुनै ठूलो अपराध वा भूल हो भन्न सकिँदैन ।
    सङ्गीत र फूल उस्तै उस्तै हुन् जस्तो लाग्दछ । किनकी सङ्गीत सबैलाई मन पर्दछ । त्यसैगरी फूल पनि सबैलाई मन पर्दछ । सङ्गीत कोमल हुन्छ अनि फूल पनि कोमल हुन्छ । र त सबैलाई दुवै चिज मन पर्दछ । सङ्गीत र फूल म नपराउने मानिस कठोर स्वभावको हुन्छन् । त्यो पनि अपवादकै रुपमा मात्रै भेटिन्छन् । फरक यति मात्रै हो की सङ्गीत र फूल आफ्नो आफ्नो रोजाइका हुन सक्दछन् । सबैलाई सबै मन पर्दछन् भन्न सकिँदैन । कसैलाई कुन मन पर्दछ भने कसैलाई कुन मन पर्दछ । रोजाइका पाटा आ–आफ्नै हुन सक्दछन् । कसैलाई लोक सङ्गीत, कसैलाई आधुनिक सङ्गीत, कसैलाई शास्त्रीय सङ्गीत, कसैलाई पप सङ्गीत, कसैलाई रक सङ्गीत मन पर्दछ । कसैलाई पूर्वीय सङ्गीत मन पर्दछ भने कसैलाई पाश्चात्य शैलीका सङ्गीतहरु म्न पर्दछ । यी पनि श्रोताहरुको रोजाइका पाटा हुन सक्दछन् । त्यसैगरी फूलहरु पनि सबैलाई सबैथरीका मन पर्दछन् भन्न सकिँदैन । मन परेका मध्येमा पनि अलि बढी मन पर्ने हुन सक्दछन् । कसैलाई लालीगुराँस मन पर्न सक्छ । कसैलाई गुलाफ मन पर्न सक्दछ अनि कसैलाई चमेली मन पर्न सक्दछ भने कसैलाई लालुपाते मन पर्न सक्दछ । गीत सङ्गीतमा आ–आफ्ना रोजगाइका विविधता हुनु स्वाभाविक कुरा नै हो ।
    सङ्गीत सबैको साझा विषय बन्न सक्नु वा बनाउन सक्नु त्यस सिर्जनामा संलग्न स्रष्टाहरुको खुबीको कुरा हो । सिर्जना कति खुम्चिने र कति फैलिने भन्ने कुरा उक्त सिर्जनामा आबद्ध स्रष्टाहरुमै भर पर्दछ । सिर्जना खुम्चिने र फैलिने कुरा पनि स्रष्टाकै सोचाइ वा विचारमा भर पर्दछ । स्वयम् स्रष्टाले आफ्नो सिर्जनालाई सीमित घेराभित्र राख्न खोज्यो भने खुम्चिन सक्दछ अनि सीमारेखा विहीन बनाउन खोज्यो भने फैलिन्छ । कतिपय स्रष्टाहरुले गीत सङ्गीत सीमाहिन विषय हो भन्ने थाहा पाउँदा थाहा पाउँदै पनि आफ्नो केवल क्षणिक स्वार्थका लागि सीमारेखाभित्र बाँधिन खोजेका वा बाँधिएको पाइन्छ । यी यस्ता कामहरु स्रष्टाहरुका केही बाध्यता र विवशताका कारणले भएका हुन सक्दछन् भने केही विचारले पनि प्रभाव पारेको हुन सक्दछ ।
    पछिल्लो समयमा नेपाली गीत सङ्गीतमा राजनैतिक प्रभाव परेको प्रष्ट रुपमा देख्न पाइयो । विशेषतः संविधानसभाको निर्वाचनका अवसरमा नेपाली सङ्गीतमा अझ बढी प्रभाव परेको देखियो । सङ्गीत सीमारेखाविहीन विषय हो भन्ने ज्ञान हुँदा हुँदै वा कतिलाई ज्ञान नभएका कारण खुलेआम प्रभावित भएको देखियो । प्रभावित हुनुमा कतिको भविश्यमा केही लोभलालच नै बढी हावी भएको नै हुनु पर्दछ भने कति लहलहैमा पछाडि लागेको हुनु पर्दछ । नेपाली सङ्गीतमा आफूलाई माथिल्लो स्थानमा देखाउन चाहने र ती सङ्गीतकर्मीहरु जो सबैका साझा र राष्ट्रकै सम्पत्ति हुन् उनीहरु आफ्नो धरातल विर्सिएर केवल क्षणिक आवेशमा उफ्रिएको हाँस्यास्पद अभिनयहरु छरपस्ट भएको देखियो । नेपाली सांगीतिक क्षेत्रमा साझा ठानिएकाहरु खुलेआम रुपमा एउटा निश्चित सिद्धान्तभित्र खुम्चिनु, उनकै झोला बोक्नु, उनकै झण्डा बोक्नु र केवल एउटा विचराको पछाडि दौडिनु केवल क्षणिक आवेग हो र नेपाली सङ्गीतलाई राजनीतिले पारेको प्रभाव हो भन्ने नबुझ्नु कमजोरी नै हो । कुनै विचारले जित्नु र कुनै विचारले हार्नु मात्रै ठूलो कुरा भएन सङ्गीतकर्मीहरुका लागि राष्ट्रिय जित भयो की भएन यो महत्वपूर्ण कुरा हो ।
    हजारौं नेपाली सङ्गीतकर्मीहरु केवल नेपाली राजनीतिका खेलाडीहरुका भोट माग्ने सरल र कोमल माध्यम मात्रै त भएनन् ? यो विषयमा सङ्गीतकर्मीहरुले सोच्नु पर्ने विषय हो । आफ्नो फराकिलो विचारलाई खुम्च्याएर केवल एउटा सिद्धान्तको झोला र झण्डामा आश्रित भएर देशभरि दौडिएता पनि कुनै एकजना कलाकारको दौडमा विजय नहुनु दुखद् कुरा हो । आफ्नो क्षेत्रलाई विशिष्ट बनाउने तिर लाग्नुभन्दा पनि केवल हावादारी रुपमा एउटा विचारको रंगीन जुलुस गर्नुले भविश्यमा के कति महत्व राख्दछ ? एउटा सबैको साझा ठानिएका सङ्गीतकर्मीहरु अनि सबैको साझा ठानिएको सङ्गीत क्षेत्र केवल एउटा राजनैतिक विचारबाट प्रभावित हुनु दुखद् कुरा हो । हिजोसम्म समग्र रुपमा हाम्रो सङ्गीत भन्नेहरु आज राजनैतिक प्रभावका कारण यो तेरो सङ्गीत र त्यो मेरो सङ्गीतका नाममा बदलिएका छन् । यसरी साझा विषयवस्तु तेरो र मेरोमा विभाजन हुनु र सङ्गीतकर्मीहरु राजनैतिक विचारमा प्रभावित भएर आफ्नो स्वतन्त्रतालाई बिर्सिएर कसैको विचारको रंगीन टीकामा रमाउनु । कसैको रसिद भित्र रमाउनु । कसैको झण्डा फरपराउनु कसैको झोला बाँधिन दुखद् कुरा हो । राजनैतिक कारणले नेपाली सङ्गीतमा परेको प्रभावको बारेमा एक पटक समग्र रुपमा बाहिरिएर संगीतकर्मीहरुले सोच्न अत्यन्त आवश्यक छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु