अञ्जु र नरेन्द्र उत्कृष्ट, अम्बर गुरुङलाई लाइफटाइफ

म्यूजिक खबर
प्रकाशित: २२ मंसिर २०७०, शनिबार

काठमाडौं । विन्दवासिनी म्यूजिक अवार्डमा अन्जु पन्त र नरेन्द्र प्यासी उत्कृष्ट भएका छन् । पन्त र प्यासीले क्रमशः खै के होला र म तिम्रो मान्छे गीतबाट अवार्ड प्राप्त गरेका हुन् ।
त्यस्तै अवार्डका अवसरमा झक्तराज आचार्य संगीत प्रतिष्ठानबाट प्रदान गरिने लाइफ टाइम अचिभमेन्ट अवार्डबाट संगीतज्ञ अम्बर गुरुङलाई सम्मान गरियो । नेपाली संगीत तथा नाट्य प्रतिष्ठानका कुलपतिसमेत रहेका गुरुङलाई ५१ हजार राशिसहित दोसल्ला ओढाइ सम्मान गरिएको हो ।
शुक्रबार आर्मी अफिसर्स क्लबको हलमा सम्पन्न विन्दवासिनी म्यूजिक अवार्डमा ३१ विधामा अवार्ड प्रदान गरिएको थियो । सुगम संगीतको अवार्डतर्फ म त तिम्रो मान्छेबाट उत्कृष्ट संगीतकार राजकुमार बगर ठहरिए भने तिम्रो साथमा हाँस्नबाट उत्कृष्ट रचनाकार रामचन्द्र क्षेत्री हुन सफल भए । त्यस्तै उत्कृष्ट एल्बमका रुपमा भने योगेन्द्रमणि दाहालले अवार्ड चुम्न सफल भए । त्यसैगरी महिला गीतकार सुगम संगीततर्फ भने लिलु गुरुङ उत्कृष्ट गीतकार ठहरिइन् भने संगीत संयोजन र ध्वनि मिश्रणमा विजेश्वर तण्डुकार उत्कृष्ट बन्न सफल भए ।
पप गायकतर्फ फिका फिका गीतबाट नवीन के. भट्टराई र गायिकातर्फ मलाई पुगेनबाट आस्था बी उत्कृष्ट हुन सफल भए । पप संगीतकारको अवार्ड भने राजु सिंहले म पग्लिसकेँबाट प्राप्त गर्न सफल भए भने नव प्रतिभातर्फ श्रेयसी चेमजोङ उत्कृष्ट भइन् । त्यस्तै युगल गायनतर्फ भने रेखा शाह र कमल खत्रीले नजिक छौ तिमी… गीतबाट उत्कृष्ट युगल गायनको अवार्ड चुम्न सफल भए ।


चलचित्र गायक र गायिकाको अवार्ड भने रिदम चलचित्रबाट स्वरुपराज आचार्य र रजिना रिमाल उत्कृष्ट हुन सफल भए भने सरसर वेग मारी… बोलको गीतबाट उत्कृष्ट चलचित्र संगीतकारको अवार्ड अर्जुन पोखरेलले चुम्न सफल भए ।
त्यसैगरी लोकदोहोरीतर्फ उत्कृष्ट लोकदोहोरी समूह गायन कुलेन्द्र वि.क., देवी घर्ती र राजु ढकालले हाँस्न सिकायौ गीतबाट अवार्ड पाए भने एउटा कुरा भन्न त… बाट विमल डाँगी उत्कृष्ट भए । उत्कृष्ट लोकदोहोरी शब्दरचना किन यस्तो हुन्छ गीतबाट शिव सुवेदी उत्कृष्ट भए भने उत्कृष्ट लोकदोहोरी भाका आज माया मसँग… बाट बसन्त थापा अब्बल ठहरिए ।
उत्कृष्ट म्यूजिक कम्पनीका रुपमा एसियन म्यूजिक अगाडी रह्यो भने उत्कृष्ट म्यूजिक भिडियो निर्देशकमा सुरजसिंह ठकुरी र उमेश गुरुङ उत्कृष्ट बन्न सफल भए । त्यस्तै सम्पादकमा भरत रेग्मी, छायाँकारमा राजेश घिमिरे उत्कृष्ट बन्न सफल भए । त्यस्तै लोकदोहोरी मोडलतर्फ दुर्गेश थापा, शिल्पा पोखरेल उत्कृष्ट बने भने बादल प्रसाईं र नम्रता सापकोटा सुगमसंगीत एवं पप विधाको मोडलमा उत्कृष्ट भए । राष्ट्रिय गीतकारमा भने रञ्जना राई उत्कृष्ट बनिन् ।
त्यस्तै कार्यक्रममा चलचित्र पत्रकार विदुर गिरीलाई विन्दबासिनी कला पत्रकारिता सम्मान पुरस्कारबाट सम्मानित गरियो । कार्यक्रममा रामकृष्ण ढकाल र छोरी रानीले बाँचुन्जेलीलाई गीत गाएका थिए । त्यस्तै रातो र चन्द्र सूर्य जस्ता गीतहरुबाट सत्य स्वरुपको गायन सबल देखियो भने विविध सांस्कृतिका कार्यक्रमका साथ अवार्ड सम्पन्न भएको थियो ।

satyasworup yogendramani

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु