अभिनेता श्रीकृष्ण श्रेष्ठको सरकारी सम्मानसहित अन्त्यष्टि

म्यूजिक खबर
प्रकाशित: २६ श्रावण २०७१, सोमबार

काठमाडौं, २६ साउन । चर्चित अभिनेता श्रीकृष्ण श्रेष्ठको सरकारी सम्मानसहित पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ । उनको पार्थिव शरीरमा उनका दाजुले दागबत्ति दिएका थिए भने १० जना प्रहरीको टोलीले उनलाई सरकारी सम्मान दिइएको थियो । उनको शरीरमा उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंह र सञ्चारमन्त्री मिनेन्द्र रिजालले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए । हड्डीको क्यान्सर र निमोनियाबाट ग्रसित भएका श्रेष्ठको उपचारको क्रममा भारतको गंगाराम अस्पतालमा आइतबार निधन भएका थिए ।
उनको पार्थिव शरीरमा श्रद्धान्जली व्यक्त गर्नका लागि हजारौं दर्शक, शुभचिन्तक, कलाकार र पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । साढे दुई बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भएको श्रेष्ठको शवयात्रा तिनकुने, बानेश्वर, बबरमहल, पुतलीसडक हुँदै करिब ५ बजेतिर नेपाल प्रज्ञा प्रतिष्ठानको प्रांगणमा आइपुगेको थियो । श्रेष्ठप्रति श्रद्धान्जली अर्पण गर्नका लागि हजारौं शुभचिन्तकहरु प्रज्ञा भवनमा दिनभर पुष्पगुच्छा लिएर लाइन बसेका थिए । उनको पार्थिव शरीर प्रज्ञा भवन आइपुग्दा श्रद्धाञ्जली अर्पण गर्नेको भीडलाई व्यवस्थि तगर्न नसक्दा छोटो समयमै पशुपति आर्यघाटतर्फ लगिएको थियो । श्रेष्ठको पार्थिक शरीरमा श्रद्धाञ्जली अर्पण गर्नका लागि एमाओवादीका अग्नी सापकोटा, कृष्णबहादुर महरा, राप्रपाका पशुपति शमशेर राणा, एमालेका वामदेव गौतम, अमृतकुमार बोहरा, कांग्रेसका प्रकाशनमान सिंह, मिनेन्द्र रिजाल लगायतका विभिन्न दलका नेताहरुको उपस्थिति भएको थियो भने कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो । उनलाई सम्झिएर उपस्थित दर्शक एवं शुभचिन्तकहरुको आँखा रसाएका थिए । त्यस्तै पूर्व राजा ज्ञानेन्द्रले पनि श्रेष्ठको निधनप्रति शोक व्यक्त गर्दै श्रेष्ठ एक होनाहार प्रतिभा भएको उल्लेख गरेका छन् । त्यस्तै प्रधानमन्त्री सुशील कोइरालाले श्रेष्ठको निधनले नेपाली चलचित्र जगतले अपुरणीय क्षति पु¥याएको विज्ञप्ति उल्लेख गरेका छन् ।

Shreekrishna-death-rituals-11
गत असार २३ गते मात्र अभिनेत्री श्वेता खड्कासँग विवाहबन्धनमा बाँधिएका श्रीकृष्ण श्रेष्ठको असामयिक निधन भएपछि अब श्वेताको जीवन पनि श्वेत बनेको छ । उनी बेहोस् अवस्थामा नै नेपाल आइपुगेकी छन् । अभिनेता श्रीकृष्ण हालसम्म कुनै पनि विवादमा नपरेका अभिनेताका रुपमा चिनिन्थे भने उनको अभिनय र नृत्य क्षमताले सम्पूर्ण दर्शकको मन जित्न सफल भएका थिए । २०४५ सालमा भुमरी चलचित्रबाट अभिनययात्रा प्रारम्भ गरेका श्रीकृष्णले दर्जनौं सफल चलचित्र दिएका छन् । कसम, पुकार चलचित्रमा आफ्नो अभिनय देखाइसकेपछि छविराज ओझाको चलचित्र नाताबाट अभिनेता भएका श्रीकृष्णले पछिल्लो समयमा कहाँ भेटिएला, आफन्त, आफ्नो मान्छे, भरोसा, गोर्खाली, गरीब, गुरुचेला, धर्ती, प्रेमयुद्ध, माइती, पाहुना, वरपिपल, सीमारेखा, जाली रुमाल, ए मेरो हजुर, हामी तीनभाइ लगायतका दर्जनौं चलचित्र खेलिसकेका छन् । गत शुक्रबारबाट प्रदर्शनमा आएको उनको चलचित्र कोहिनूर यतिबेला प्रदर्शनमा रहेको छ । उनको मृत्युले नेपाली चलचित्र उद्योगप्रति ठूलो क्षति पुगेको छ । म्यूजिक खबर डटकम अभिनेता श्रीकृष्ण श्रेष्ठको मृत आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

a funeral of Actor Shree Krishna Shrestha 08(1) Shreekrishna-death-rituals-2

IMG_9354

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु