आज गायिका तथा मोडल सन्जु न्यौपानेको जन्मदिन !

म्यूजिक खबर
प्रकाशित: २ फाल्गुन २०७४, बुधबार

२ फागुन, काठमाडौं । छोटो समयमै नेपाली संगीत क्षेत्रमा स्थापित नाम हो गायिका तथा मोडल सन्जु न्यौपाने । दर्जनौं गीत गाएसँगै उतिकै संख्यामा मोडलिङ गरेकी उनै बहुप्रतिभाशाली कलाकार सन्जुको आज जन्मदिन पर्न गएको छ । सन्जुले आज २४ औं जन्मदिन मनाउँदै छिन् । गएको वर्ष सुप्रसिद्ध कलाकारहरु र पत्रकारका साथमा पार्टी आयोजना गरेर जन्मदिन मनाएकी सन्जुले यो वर्ष भने सामान्य तरिकाले केक काटेर जन्मदिन मनाउने बताइन् ।

सानैदेखि गीत संगीत भनेपछि भुतुक्क हुने सन्जु २०५० साल फागुन २ गते स्याङ्जाको निवुवा खर्कमा जन्मिएकी हुन् । सांगीतिक क्षेत्रमा नै आफ्ना पाइलाहरु चाल्दै आएकी सन्जुलाई गायिका भनेर चिनाउने गीत भने ‘डाली नुहेछ, हेर्दा हेर्दै बिहे गर्ने उमेर पुगेछ’ हो । उनले दर्जनौं म्यूजिक भिडियो, केहि टेलिफिल्महरुमा समेत अभिनय गरिसकेकी छिन् । त्यस्तै ठुलोपर्दाको चलचित्र ‘निर्भय’मा समेत उनले आफ्नो कला कौशल प्रस्तुत गरेकी छिन् ।

संगीतक्षेत्रमा समर्पित भएको छोटो समयमा नै देश तथा विदेशका विभिन्न कार्यक्रमहरुमा समेत प्रस्तुति दिएकी सन्जु गायन र मोडलिङमा एकसाथ अघि बढीरहेकी छिन् । तर उनलाई मोडल भन्दा गायिका भन्दा आनन्द आउने बताइन् ।


अभिनय त प्रस्तावलाई हार्न नसकेर मात्र गरेको उनले बताइन् । अभिनयका लागि अफरहरु त अनगिन्ती आएको बताउँछिन् उनी । यदि आएका अफरहरुलाई मैंले स्वीकारिसकेकी थिएँ भने अहिले १ नम्बरकै कलाकार पो बन्थें होला उनले भनिन् । अनि यहि क्षेत्रमा परिचय खोज्ने फेरि यहि क्षेत्रबाट आएका अफरलाई किन रिजेक्ट गर्नुभएको नि भनेर सोध्दा उनी भन्छिन् ‘हैन हैन मैंले अभिनय मार्फत मेरो परिचय खोजेकै छैन नि । म नायिका तथा मोडल सन्जु न्यौपाने नभई गायिका सन्जु न्यौपानेको परिचयबाट चिनिन चाहन्छु ।’

सानैदेखि गीत संगीत भनेपछि भुतुक्क हुने सन्जु २०६८ सालमा एसएलसी दिएर शसस्त्रको जागिरमा जोडिन पुगिन् । शसस्त्रको जागिर मार्फत करिव ३ वर्षको समय उनले नवलपरासीमा बिताइन् । जागिरे जीवनमा रहँदै गाना बजानाप्रति आकर्षित बनेकी सन्जुलाई दिदी जमुना गैरेले गरेको साथ र सहयोगले पनि झन् बढी यो क्षेत्रमा दिगो समर्पण गराएको बताउँछिन् । यसो त उनलाई गायक विमल परियारले देखाएको मार्ग निर्देशन र साथ सहयोग पनि कम नरहेको उनी बताउँछिन् ।

लोकदोहोरीमा आफ्नो करिअरलाई समर्पण गर्दै आएकी भर्सटायल कलाकार सन्जुलाई जन्मदिनको लाखौं लाख शुभकामना ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु