एकल रचना वाचनमा गुन्जिए टेकेन्द्र

म्यूजिक खबर
प्रकाशित: २७ आश्विन २०७१, सोमबार

रोल्पा, २७ असोज । ललित साहित्य परिषद्, रोल्पाले आयोजना गरेको नियमित एकल बाचन कार्यक्रममा रोल्पाली कवि टेकेन्द्र जी.एम.ले आफ्ना कविताहरू बाचन गरे । रोल्पाको साझा साहित्यिक संस्था परिषद्ले हरेक महिनाको अन्तिम शनिबार एकल रचना वाचन कार्यक्रम सञ्चालन गर्दै आएको छ । जी.एम.को यो एकल रचना वाचन परिषद्को पाँचौ शृङ्खला हो । यस अघि साहित्यकार खेमराज शर्मा, कवि डी.बी.टुहुरो कवयित्री सीता शर्मा एवं साहित्यकार रमेश सुवेदीको एकल बाचन कार्यक्रम सम्पन्न भईसकेको छ ।
जिल्ला विकास समितिको कार्यालय रोल्पामा कार्यरत कवि टेकेन्द्र जी.एम.विद्यालय तहका पाठ्यपुस्तकमा भएका कथा, कविता, निबन्ध र साहित्यिक पत्रिकामा छापिएका रचनाहरूको अध्ययन र मननले नै आफूलाई साहित्य तर्फ लाग्न प्रेरित गरेको बताएपनि उनले आफ्नो समग्र प्रेरणाको श्रोत भने बाबु रणबहादुर र आमा पवित्रा घर्तीमगर लाई नै ठान्छन् । आफ्नै बान्की र शैलीमा अभिव्यक्त हुन सक्नेहो भने कविता नै सशक्त विधा भएकोले आफूले साहित्यका विविध विधाहरुमध्ये कविता विधा नै रोजेको बताउँने जी.एम.ले साहित्य लेखकको नीजि अनुभूति र अभिव्यक्ति भएको र तत्पश्चात प्रभावक कार्यव्यापार भएको मान्छन् । साथै साहित्य मन छुने र मानव मन मस्तिष्कलाई सकारात्मक परिवर्तन गर्ने हुनुपर्छ भन्ने उनको धारणा छ । कविता लेखनको शुरुवात विद्यालय जीवनबाटै गरी प्रतियोगिताहरुमा भागलिई पुरस्कृत समेत भएका कवि जी.एम. २०४५ सालतिर पोखराको लामाचौरमा अवस्थित ईन्जिनियरिङ् क्याम्पसमा अध्ययन गर्दा लेखन र प्रकाशनमा बढी सक्रिय भएका हुन् । पोखरामै रहँदा रचना गरिएको ‘पोखरा’शीर्षकको कविता नै उनको पहिलो प्रकाशित रचना पनि हो,जुन २०४८ साल साउन १५ गतेको दृष्टि साप्ताहिकमा भएको थियो । पछिल्लो चरणमा साहित्यिक गतिविधिमा केही निस्क्रिय देखिएका जी.एम.ले आफ्नो एकल बाचन कार्यक्रममा नै अव आफूलाई सक्रिय राख्ने र निकट भविष्यमै कविता संग्रह प्रकाशन गर्ने समेत प्रतिवद्धता जाहेर गरे ।

उक्त एकल बाचन कार्यक्रममा कवि जी.एम.ले विभिन्न भाव धरातलका १५ वटा कविताहरू सुनाएका थिए । कार्यक्रममा कवि जी.एम.को व्यक्तित्व तथा कृतित्व माथि साहित्यकार रमेश सुवेदीले प्रकाश पारेका थिए भने समग्र कार्यक्रमको समीक्षा साहित्यकार तथा पत्रकार काँशीराम डाँगीले गरेका थिए । ललित साहित्य परिषद्का अध्यक्ष ओम पन्छीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संचालन महासचिव नवीन लोचन मगरले गरेका थिए । कार्यक्रममा पुरण क्षत्री,विष्णुमणि आचार्य,सीता आचार्य,गौरीकिरण डाँगी,गोकर्ण पुन,खेमराज गाउँले,चन्द्रज्योति सुवेदी, नारायण आचार्य, भोलानाथ आचार्य, घनश्याम आचार्य,निशेष आचार्य,महेश न्यौपाने, सुन्दर पुरुष अनुराग,व्योम जी अवतार,ईश्वरी जी.एम.भोलानाथ आचार्य,नरेन्द्र जी.सी.,मित्रलाल घर्ती लगायतका साहित्यकार तथा साहित्यनुरागीहरुको साथै कविपत्नी पिपला जी.एम.को समेत उपस्थिति रहेको थियो । परिष्द्को एकल बाचनको छैटौ श्रृङ्खलामा यहीँ कार्तिक २९ गते शनिबार कवयित्री गायत्री घर्तीमगरको रचना बाचन गरिने आयोजकले जनाएको छ ।

tekendra gm

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु