‘केटी फ्यानहरुको अफरलाई मायाको रुपमा लिन्छु’

म्यूजिक खबर
प्रकाशित: २३ मंसिर २०७१, मंगलवार

गायक कन्हैया सिंहको सांगीतिक उचाइलाई हेर्ने हो भने संघर्षका आरोह अवरोह धेरै नै भेटिन्छन् । करिब दुई दशकभन्दा लामो समय सांगीतिक दौरानमा बिताइसकेका गायक सिंह यतिबेला अमेरिकामा हुनुहुन्छ । गायक भएपछि केटी फ्यानहरु धेरै हुने गर्छन् त्यो स्वभाविक नै हो । गायक कन्हैया सिंहसँग पनि केटी फ्यानका अफरहरु धेरै छन् तर केटी फ्यानहरुको अफरलाई मायाको रुपमा लिने गर्नुहुन्छ । त्यस्तै अमेरिका जाने कलाकारहरुलाई पयालन भए भन्ने आरोप लागिरहेको भए पनि सिंह भने घर सुरक्षित नभए सुरक्षाको लागि मान्छे जहाँ पनि पुग्न सक्छ भन्ने गर्नुहुन्छ । प्रस्तुत छ गायक कन्हैया सिंहसँग म्यूजिक खबरले गरेको कुराकानी :

अमेरिका कस्तो रहेछ ?
अमेरिका संसारकै उत्कृष्ट देश हो, जहाँ मानवलाई मानवको दर्जा दिइन्छ । जातभात, धनीगरीब जस्ता विभेदलाई पूर्णत अन्त्य गरिएको मुलुक हो । यहाँ सबैका लागि समानतापूर्वक बाँच्न पाउने अधिकार मिल्दछ ।

के गर्दै हुनुहुन्छ अमेरिकामा ?
विदेशमा हामी कलाकारलाई स्वदेशभन्दा पनि एकता र साथको खाँचो पर्छ । हाम्रो परिवार भनेकै साथी र समूह हो । दुःख, सुख साट्ने माध्यम हो । यिनै कुराहरुलाई मध्यनजर गर्दै हामीले अमेरिकाभरिका कलाकारहरु मिलेर ‘नेपाली अमेरिकन आर्टिष्ट एसोसिएन’ खोलेका छौं । यही संस्थामा हामी कलाकारहरु गोलबन्द भएर नेपाली कलासंस्कृतिको जगेर्ना गर्नुको साथसाथै एकआपसमा पर्ने सुखदुःखलाई हातेमालो गरिरहेका छौं ।

कलाकारहरु पलायन भए भन्ने गरिन्छ नि ?
पलायनको बारेमा भन्नुपर्दा घर सुरक्षित छैन भने छिमेकीको घरमा रात बिताउनु पर्ने हुन्छ । तर जुन दिन आफ्नो घरमा शान्ति सुरक्षाको ग्यारेन्टी हुन्छ त्यो दिन आफ्नै घर प्यारो र स्वर्गसरी हुन्छ ।

पछिल्लो समय कलाकारले रोयल्टी पाएनन् भन्ने गरिन्छ, यसलाई कसरी लिनुहुन्छ ?
रोयल्टीको बारेमा म पनि आवाज उठाउने एक गायक हुँ । कलाकारले आफ्नो अधिकारको बारेमा बोल्नुपर्छ, अधिकार लिनका लागि खोस्नुपर्छ । रोयल्टीको लागि गरिएको सबै प्रकारका आन्दोलनमा मेरो समर्थन र साथ छ । कलाकार साथीहरुलाई यो भन्न चाहन्छु की रोयल्टीको सिस्टम र सरकारी रेडियो, टेलिभिजनसँग रोयल्टी लिनसके मात्रै पनि कलाकारलाई ठूलो राहत हुने थियो । कलाकारको जीवनयापनमा रोयल्टीले महत्वपूर्ण भूमिका खेल्ने थियो ।

kanhaiya

गायक भएर के पाउनुभयो के गुमाउनु भयो ?
म गायक भएर लोकप्रिय गायिका अन्जना गुरुङको साथ पाएको छु । दर्शक, स्रोता र मिडियाको न्यानो माया, उत्साह पाएको छु, जसले मेरो संगीत यात्रामा उर्जा मिलेको छ । तर व्यक्तिगत जीवन भने गुमाएको छु । एउटा सामाजिक मान्छे बनेपछि कसले के भन्ला, के सोच्ला भन्ने डरत्रासमा सधैं होसियारीपूर्वक काम गर्नुपर्ने अवस्था छ ।

गायक नभएको भए के हुनुहुन्थ्यो ?
गायक नभएको भए म नायक हुन्थेँ । … यो पनि सोध्ने कुरा हो त हजुर ! ज्यानै देखेर नि पत्याउनुपर्ने त ।

गायकको पछाडि त केटी फ्यानको अफरको ओइरो लाग्छ रे नि ?
केटी फ्यानको अफर आउँदैन म भन्दिनँ । तर केटी फ्यानहरुको अफरलाई मायाको रुपमा लिन्छु किनकी मेरो संगीतको समर्पणले गर्दा उहाँहरु फ्यान हुनुभएको हो । त्यो गायक कन्हैया सिंहलाई मात्र होइन संगीतका सिपाही र सारथी कन्हैया सिंहलाई पनि माया गर्नु भाको हो ।

kanhaiya singh pariyar

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु