गायिका राधिका होलटाइमर राजनीतिमा, पत्यायो कांग्रेसले

म्यूजिक खबर
प्रकाशित: २१ जेष्ठ २०७४, आईतवार

जेठ २१, काठमाडौं । सयौंको संख्यामा कलाकारको जमात अनेक पार्टीमा प्रवेश गरेको समाचारको चर्चा अत्याधिक रहेता पनि यसको उपलब्धी भने अहिलेसम्म शुन्य नै रहेको छ । कला क्षेत्रले कलाकार राजनीतिमा प्रवेश गरेर गर्वको अनुभुति गर्न यतिञ्जेल पाएको छैन । चुनावमै पनि कलाकारहरु गीत गाउन र भोट माग्नमा प्रयोग हुँदै आएका छन् । तर यस पटकको स्थानीय तह निर्वाचनमा काँग्रेसले चर्चित लोकदोहोरी गायिका राधिका हमाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उनलाई कांग्रेसले त्रिवेणी गाउँपालिकाको उपाध्यक्ष उम्मेदवार बनाउने निर्णय हो । गायिकालाई उपाध्यक्ष उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेसले गाउँपालिका अध्यक्षमा भने कमल बुढालाई उठाउने निर्णय गरेको छ ।

radhika hamal

आफूलाई राजनीतिमा खुलेरै लागेको देखाउनेहरु पछिल्लो समय धेरै छन् । गायिका राधिका हमाल ०६२÷६३ बाट खुलेरै नेपाली कांग्रेसको राजनीति गरेकी छन् । ०५५ सालबाट नै कांग्रेसको सदस्यता लिएर हिंडेकी गायिका हमाल पछिल्लो समय भने होलटाइमर जस्तै बनेर कांग्रेसको राजनीति गरिरहेकी छन् । सांस्कृतिक संघ को केन्द्रिय सदस्य ,नेपाल सांस्कृतिक कलाकर्मी संघ को बरिस्ठ उपाध्यक्ष  जस्तो पदमा रहेर राजनीतिमा आफूलाई सक्रिय देखाउँदै आएकी गायिका राधिका हमाल नेपाली कांग्रेसको होलटाइमर राजनीतिक जीवन प्रवेश गर्दैछिन् । राधिका रोल्पाको त्रिवेणी गाउँपालिकाको उपाध्यक्ष पदमा चुनाव लड्दैछिन् ।

उनी भन्छिन्–‘पार्टीले त अध्यक्ष पदका लागि नै टिकट दिएको थियो । कलाकारीता क्षेत्र चटक्क छाड्नु पर्ने भएकाले मैंले नै अध्यक्षमा आँट गरिन । जित निश्चित छ । अध्यक्ष पद जितेपछि गाउँमै बस्नुपर्ने भएकाले पनि मैले नै अध्यक्ष भन्दा उपाध्यक्ष रोजेकी हुँ । जसले गर्दा राजनीतिसँगसँगै गायनलाई निरन्तरता दिन सकियोस् ।’

radhika hamal

अहिलेको स्थानीय निकायको चुनावमा पनि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म चुनाव प्रचास प्रसारमा व्यस्त बनेकी राधिकाले एमालेकी साबित्रा बुढा र माओवादीकी लालसरी घर्तीसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । साबित्रा नेकपा एमालेको राजनीतिमा सक्रिय छिन् । यसैगरी माओवादी केन्द्र त्रिवेणीले लालसरी घर्तीलाई उपाध्यक्षमा अघि सारेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु