चलचित्र संगीतमा दीपकको कब्जा

म्यूजिक खबर
प्रकाशित: १४ फाल्गुन २०७१, बिहीबार

काठमाडौं । दीपक शर्मा यतिबेला चलचित्र उद्योगमा संगीतकारको रुपमा अग्रपंक्तिमा देखिएका छन् । उत्कृष्ट पाँच चलचित्र संगीतकारको हिसाब गर्नुपर्दा यतिबेला दीपक शर्मा पनि देखिने गर्छन् । चलचित्र सम्झिराख हैको गीत आँधिखोला उर्लिएर बोलको गीतले उनको चलचित्र संगीतमा अवार्ड चुम्न सफल भयो, चर्चा बटुल्यो अनि एकाएक उनी संगीतकारका रुपमा परिचित हुन थाले । हुन त उनी लोकदोहोरी गायक बन्ने सपना बुन्दै राजधानीमा प्रवेश गरेका थिए । तर उनको एउटा लोकगीत बजारमा नआउँदै उनी पनि हराए । त्यसपछि निरन्तर संगीत शिक्षा लिन थालेका उनले चलचित्र संगीत र आधुनिक संगीतमा भने कब्जा जमाउँदै आएका छन् ।
उनले संगीत गरेको चलचित्र संगीत सम्झिराख है, धमाका, दबाब, अप्रिल फूल, लभ यू बाबा, हवल्दार सुन्तली, वडा नं. ६, ब्रासलेटलगायत चलचित्र रहेका छन् । उनको पछिल्लो समयमा हवल्दार सुन्तलीको गीत तिम्रो डोलाडोला हातले मेहन्दी भरिछौं यतिबेला चर्चाको शिखरमा रहेको छ भने चलचित्र वडा नं. ६ को शीर्ष गीत पनि चर्चा चुम्नेमा ढुक्क छन् शर्मा । त्यस्तै चलचित्र ब्रासलेटका गीत पनि उत्तिकै राम्रा देखिन्छन् ।
आधुनिक संगीतमा पनि उत्तिकै सफल संगीतकारका रुपमा दीपक शर्मालाई लिने गरिन्छ । पछिल्लो समय उनको छुट्टिएर तिमीसँग बाँच्न सक्ने भए सबैभन्दा बढी चर्चा बटुल्न सफल गीत भयो । हुन त उनका अन्य गीतहरुले पनि आधुनिक संगीतमा कब्जा गरेकै हो । दीपक शर्मा जति संगीतकारबाट चर्चित छन् उनका शब्द लेखन पनि उत्तिकै सफल छन् । सकेसम्म फरक फरक फ्लेबर दिएर स्रोताको मन जित्न सफल भएका शर्माले आधुनिक, लोक, चलचित्र, पप गीतको संगीतमा छुट्टै पहिचान बनाउन सफल भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु