चिन्ता छैन केहीले झन् चिन्ता बढायो : गायिका सीता केसी

म्यूजिक खबर
प्रकाशित: ८ आश्विन २०७१, बुधबार

काठमाडौं, ८ असोज । गायिका सिता केसी बाग्लुङमा जन्मिएर गीतसंगीतलाई कर्मथाले बनाउँदै काठमाडांैमा संघर्षरत छिन् । दुई दर्जनभन्दा बढी गीतमा स्वर दिइसकेकी र आफ्नै पाँचवटा एल्बम बजारमा ल्याइसकेकी गायिका केसी पछिल्लो समय बजारमा आएको चिन्ता छैन केही बोलको गीतले झन् चिन्ता बढाएको बताउँछिन् । लगानी एउटाको नाम अर्कैको हुने हाम्रो समाजको परिपाटी बनेको समयमा उनी पनि अछुतो नबनेको बताउँछिन् । पैसा र विकृति भित्र्याउनेहरुले गर्दा दुनियाँ स्वार्थी बनेको र सोझोपनको फाइदा उठाउनेहरु बढिरहेको उनको गुनासो गर्ने गर्छिन् । यिनै गायिका सिता केसीसँग म्यूजिक खबरका लागि सुमन बैरागीले गरेको कुराकानी ः
सीता केसीलाई स्रोताले कसरी चिन्ने ?
चिनिन नै सकेकी रैनछु भन्ने लागेको छ । लामो समय लोकदोहोरीको क्षेत्रमा काम गरेँ, एल्बमहरु निकालेँ, कलेक्सन एल्बमहरुमा गाएँ तर सीता केसी के हो ? को हो ? भनेर चिन्ने ठाउँ अझै भएको रहेनछ ।
चिन्ता छैन जस्तो सफल गीतमा लगानी गर्नुभयो, गाउनुभयो तर त्यसले नै चिन्ता बढायो की क्या हो ?
हो, साँच्चै पनि मलाई चिन्ता छैन केहीले नै चिन्ता बढाएको छ । सम्पूर्ण मिडियाहरुले सधैं चिन्ता छैन केही भनेर पशुपति शर्माको मात्र नाम लेखिन्छ । मेरो त नाम नै कहिँ कतै छापिएन, बोलिएन । मलाई यहाँ धेरै दुःख लागेको छ, जसले लगानी गरेर गाएर यो बजारमा गीत ल्याए पनि पशुपतिको मात्र नाम लिनु भनेको बलेको आगो ताप्ने भनेजस्तै लाग्यो ।
किन लेखेनन्, बोलेनन् त मिडियाले ?
त्यो त मैले भन्न सक्दिनँ किनकी मिडियाको पनि आफ्नो सिस्टम होला । तर बलेको आगो पनि एक दिन निभ्छ भन्ने सबैले बुझ्नुपर्छ । हुन त मिडियासँग नजिक हुन नसक्नु मेरो कमजोरी पनि हुन सक्छ । अहिलेको मिडिया भनेको जसले नजिकबाट चाकडी गर्न सक्यो त्यसको मात्र समाचार प्रकाशन गर्ने र अन्यलाई खोजेर नलेख्ने प्रचलन छ भन्ने मैले पनि सुनेको छु, त्यहीभित्र मेरो पीडा पनि परेको हुन सक्छ ।
२०६३ देखि गायनमा लाग्नुभयो, कतिवटा एल्बम निकाल्नुभयो ?
२०६३ सालदेखि मैले गायन यात्रा सुरु गरेको हुँ । त्यसपछि निरन्तर दोहोरीकै क्षेत्रमा क्रियाशील छु । मैले व्यक्तिगत रुपमा ५ वटा एल्बम निकालेँ भने अन्य २५ भन्दा माथि गीतहरुमा मैले स्वर दिएकी छु । तर कुनै पनि कोणबाट म चल्न नसकेकी गायिका हुँ भन्ने लाग्छ ।

sita
किन चल्न सकिएन की ?
अहिलेको समयको मागसँगै म अगाडि बढ्न सकिनँ र चर्चामा आइनँ । जे गरेँ एक्लै संघर्ष गरेँ । स्वार्थी संसारभित्र म पनि बाँचिरहेकी छु भने मैले अरु के नै आशा गर्न सक्छु र ? मेरो विचारमा अहिलेको समाज, मान्छे सबै स्वार्थी बनिरहेका छन् । विकृति बढेको छ । सोझोपनको फाइदा उठाउनेहरु धेरै छन् ।
स्वार्थी भनेपछि डिमान्ड धेरै गरेकी क्या हो ?
धेरैलाई त्यस्तो भइरहेको छ, तर म त्यस्तो बन्न सकिनँ । डिमान्ड अनुसार चल्न सक्ने चलेका छन् तर म आफू पैसामा बिक्री हुन चाहिनँ र चल्न सकिनँ । सबै कुरा पैसा होइन, सामाजमा इज्जत अनुसार नाम चल्नु ठूलो हो भन्ने मैले सोचेकी छु ।
चिन्ता छैन केहीमा कति लगानी गर्नुभयो ?
मैले यस गीतमा एक लाख लगानी गरेकी हुँ ।
फाइदा के पाउनुभयो ?
अरु त केही पाइएन, देशभित्र बाहिर जुन प्रोग्राम पाइरहेकी छु यही गीतका कारण पाएकी छु । बिक्री भएर आउने भन्ने आशा नै नगरौं ।
यति चर्चाको गीतको गायक चाहिँ चर्चामा नै गायिका किन ओझेलमा त ?
होइन पशुपति दाइ आफैंमा चर्चित गायक हुनुहुन्छ । उहाँको योभन्दा अगाडिका गीतहरु पनि हिट थिए भने चिन्ता छैन केहीले अझ राम्रो चर्चा पाउनुभयो । म चाहिँ यो गीतबाट ओझेलमा पर्नुका कारण ठूलो रुखको फेदबाट नै उम्रन खोजेकी रहेछु भन्ने लागेको छ । ठूलो रुखको फेदमा ओत लाग्दा एकझर पानी ओत्छ भन्ने बुढापाकाको उखान पानीबाट मात्रै बच्ने रहेछ तर त्यही फेदबाट उम्रन खोज्यो भने उचित वातावरण पाउँदो रहनेछ र मर्दो रहेछ भन्ने लागेको छ ।
यसका लागि के गर्ने ?
जति पनि अग्रज कलाकारहरु हुनुहुन्छ उहाँहरुले सपोर्ट गर्नुपर्छ । मै खाऊँ र मै लाऊँ मात्रैको भावना उहाँहरुसँग हुन भएन ।
तपाईं आफूले लगानी गरेको गीत भन्नुहुन्छ तर पशुपति र सीता केसीको संयुक्त भनेर बजारमा आयो नि त ?
होइन, यो कसले ग¥यो भन्ने मैले पनि खोजीरहेको छु । आशिष म्यूजिकसँग सम्झौता गर्दासम्म सीता केसीको भनेर आएको छ तर भिडियो बाहिर आउँदा संयुक्त नाम जोडेर आयो । यहाँ लगानीकर्ताको लगानीलाई मिसयूज गरिएको छ ।
यो कसले ग¥यो त ?
म पनि खोजीरहेको छु । दोषी को हो भनेर ।
विदेशको कार्यक्रम कत्तिको पाउनुभएको छ ?
नपाएको होइन, नगएको हो ।
किन नजानुभएको त ?
कार्यक्रम सुरु गर्नुभन्दा अगाडि नै आयोजकहरुका प्याकेज अगाडि सारिन्छन् । त्यसरी म विदेश जानु छैन । म एउटा गायिका हुँ गायन प्रस्तुत गर्न जाने हो । त्योभन्दा अरु मैले केही जानेकी छैन । त्यही भएर विदेश जाने र आफूलाई व्यस्त देखाउने नाउँमा कुनै सम्झौता गर्दिनँ । इज्जत ठूलो हो ।
महिला कलाकारहरु त झन् चाँडो चर्चामा आउँछन् छिटो कमाइ गरेरका छन् तर तपाईं त चर्चित गीत बजारमा ल्याएर पनि पछाडि किन त ?
होइन म पैसालाई सबैथोक मान्न सक्दिनँ । धेरैजना आफ्नो खुबीले जानुभयो कतिले सम्झौता गर्नुभयो होला । म नराम्रो काम गरेर पैसा कमाउनु हुन्न । छाडा गीत गाएर अश्लिलता पस्केर लोकदोहोरीको बेइज्जत गर्नु छैन । कमाउनुको पछाडि गुमाउनु पनि पर्छ होला । कतिले आफ्नो प्रतिभाले कमाए होलान् त कतिले नकारात्मक बाटो रोजेर पनि कमाए होलान् तर म त्यो गलत बाटोमा लाग्दिनँ ।
यतिको संघर्ष गरेर गायिका बन्दाको अविश्मरणीय क्षण ?
सबैका आआफ्नै संघर्ष होलान् । म पनि कुनै दिन चिसो छिडीमा बसेर गायनलाई अगाडि बढाएकी थिएँ त्यो दिन बिर्सन सक्दिनँ । म सानैदेखि गाउने गर्थे । बुबा ममी पनि गीत गाउनुहुन्थ्यो । उहाँहरुसँगै गीत गाउन जान्थेँ, म सानो हुँदा पनि टेबलमाथि राखेर गीत गाउन लाउनुहुन्थ्यो । त्यो प्रभावले अहिले पनि मलाई सजिलो भयो ।
नयाँ के गर्दै हुनुहुन्छ ?
अब एउटा लोक गीत गर्दैछु । चेलीको परिवेशलाई समेटेको लोकगीत गर्छु । त्यस्पछि एउटा ठट्यौली गीत गर्ने सोचमा छु ।
लोकदोहोरीलाई कसरी लिने ?
लोकदोहोरीमा धेरै विकृति बढेको छ । ती विकृति भित्र्याउने मान्छेलाई नै हाम्रो मिडियाले, समाजले प्रोत्साहन दिन थालेको छ । लोकदोहोरी होइन फोहोरी भएको छ । त्यो फोहोरी बनाउनेलाई हटाउनुपर्छ । विकृतिले गर्दा राम्रा स्रष्टा पछाडि परेका हुन् ।
कलाकारिता क्षेत्रमा पारिवारिक फाटो आउने धेरै छ नि ?
कलाकारिता क्षेत्र भनेकै सामाजिक हुन्छ । एक आपसमा ठट्टा गर्ने रमाइलो गर्ने कुरालाई समाजले नराम्रो तरिकाले हेरिदिन्छ । त्यसकारण नबुझेको परिवारमा त्यसले फाटो ल्याइदिने गरेको हो । गीत गाउँदैमा र कलाकारबीच ठट्टा गर्दैमा त्यो चेली बिग्रिहाली भन्ने समाज पनि छ र केही चेलीहरु त्यस्ता छन् जसले समाजलाई नै बिगार्न खोजीरहेका हुन्छन् त्यस्ताले गर्दा राम्रालाई पनि नराम्रो सोचिन्छ । धेरैका घरबार छुटिसकेका छन् भने पारिवारिक फाटो पनि आउने गरेको छ । यसका लागि हामी कलाकार आफैंले पनि बुझ्नु जरुरी छ ।
अन्त्यमा ?
सीता केसी एउटी राम्री गायिका हो भन्ने पहिचान बनाउन खोज्छु । म एउटा संघर्ष गरिरहेकी गायिका हुँ, म मेरो कर्मलाई नै धर्म मानेर अगाडि बढ्छु । विकृतिको पछि लाग्ने होइनकी त्यसलाई हटाउने काममा मेरो पनि पाइला अगाडि बढ्नेछ । एक दिन सबैको पालो आउँछ भनेजस्तै मेरा गीतहरुले पनि बजारमा चर्चा पक्कै पाउनेछ । मेरा गीतहरु सुनिदिनुस् र प्रतिक्रिया दिनुस् सबैलाई यही अनुरोध छ । चिन्ता छैन केही जस्तो सफल गीत फेरि पनि ल्याउने प्रयासमा छु ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु