चोट दिने मायादेखि वडा नं. ६ सम्म

म्यूजिक खबर
प्रकाशित: ६ फाल्गुन २०७१, बुधबार

काठमाडौं । आजभोलि मान्छे हेर्दैमा थाहा हुन्छ कसले कतिखेर चोट दिन्छ, तड्पाउँछ अनि मन चोर्छ भनेर । गीतसंगीत क्षेत्रमा त यो शब्द नै अति उपयोगी बनिसकेको छ किनभने एउटाले अर्कोलाई दिएको चोटको ब्याख्या गीतबाटै हुन थालेको छ । गायक कृष्ण काफ्ले पनि त्यही चोट दिनेमध्येका एक हुन् ।
२०४५ साल असोज १६ गते स्याङ्जाको रापाकोटमा जन्मिएका गायक कृष्ण काफ्लेको प्रारम्भिक अध्ययन भने नवलपरासीबाट भएको हो । बुबा केशवप्रसाद काफ्ले र माता फूलमाया काफ्लेको जेठो सन्तानका रुपमा जन्मिएका कृष्ण सानो छँदैमा नवलपरासीतिर बसाई सरेका हुन् । हुने विरुवाको चिल्लो पात भनेझैं कृष्णको प्राथमिक शिक्षाको सुरुवातदेखि नै गीतसंगीतले प्रभाव पार्न थाल्यो । उनी सानैदेखि नजिकमा हुने सांस्कृतिक कार्यक्रमदेखि मेला महोत्सवमासमेत आफ्नो सहभागी गराएर गीत गाउने गर्थे । उनको सानैदेखिको त्यो रुचिलाई देखेर शिक्षक, छरछिमेक र आफन्तजनबाट संगीतमा लाग्ने प्रेरणा मिलेको कृष्ण बताउँछन् ।
उनको गीतसंगीतको यात्राको क्रममा पहिलो शब्द, संगीत रहेको गीत चोट दिने माया थियो । मुखबाट सामान्य रुपमा गुनगुनाउँदै उनले चर्चित गायक मनोजराजको स्वरमा चोट दिने माया रेकर्ड गराए । जुन स्रोताहरुले मन पराइदिनुभएको गीतको रुपमा उनले लिने गरेका छन् । त्यसो त उनको जीवनको पहिलो गीत आफ्नै आवाजमा भने २०६५ सालमा आँसुमा डुबाउन्न भन्थ्यौ भन्ने गीत रेकर्ड भएको थियो । आफ्नै संगीत र स्वर रहेको यो गीत दिपक भट्टको शब्द रहेको यो गीत विलौना एल्बममा समावेश भएको कृष्ण बताउँछन् । त्यसपछि गायक कृष्णले संगीतको शिक्षा लिन काठमाडौं छिरेका हुन् । संगीतमा धेरै आरोह अवरोह पार गरिसकेका कृष्णले चोट दिने मायादेखि चलचित्र वडा नं. ६ सम्म आइपुग्दा आफ्नो स्वर र संगीतमा धेरै गीतहरु रेकर्ड गर्न सफल भएका छन् । संगीतमा नै दुःख गरेर संगीतभित्रै भविश्य खोजिरहेका गायक कृष्णले हालसम्म ६० भन्दा बढी गीतमा स्वर दिइसकेका छन् । फिल्मी, आधुनिक, लोकपप, पप, गजलजस्ता विधाहरुमा स्वर दिइसकेका उनका पावरफूल बैंशको झट्काले, मेरो मुटुको टुक्रा तिमी, आकाशका तारा, तिम्लाई आफ्नो बनाउने, फूलजस्तो रुप तिम्रो, यो जुनीमा तिम्रो मान्छे, म त हजुर मलेसियामा लगायतका दर्जनौं गीतहरु चर्चामा छन् ।

भारतीय गायक सोनु निगमका गीतहरु गुनगुनाउँदै नेपाली संगीत क्षेत्रमा आफ्नो परिचय स्थापित गर्न पुगेका गायक कृष्ण नारायण गोपाल, भक्तराज, दिप श्रेष्ठजस्ता गायकहरुको स्वर मन पराउने गर्छन् । सबै किसिमका गीतहरु गाउन सक्ने क्षमता भएका कृष्णले पछिल्लो समय दिपकराज गिरीको चलचित्र वडा नं ६ मा समेत शीर्ष गीतमा स्वर दिएका छन् । जुन गीत रेकर्डको क्रमदेखि नै चर्चामा छ । संगीतकार दीपक शर्माको धेरै संगीतमा गीत गाइसकेका कृष्णले चलचित्र दबाब, वडा नं. ६ मा पनि शर्माकै संगीतमा गाउने मौका पाएको बताउँछन् ।
यतिखेर श्री संगीत पाठशालामा संगीत गुरु चण्डीप्रसाद काफलेसँग संगीतको शिक्षा लिइरहेका कृष्ण संघर्षभित्र आफूलाई धैर्यताका साथ अगाडि बढाउँदा सफलता हात पार्ने बताउँछन् । संगीतमा लागेर बाँच्न सकिन्छ भन्ने गायक पछिल्लो समय गीतसंगीतको बिक्री कम हुन थालेको भए पनि एल्बम निकाल्ने सोचमा छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु