छोरीले पढ्यो भने पोइल जान्छन् : गीतकार राधा

म्यूजिक खबर
प्रकाशित: १८ मंसिर २०७१, बिहीबार

काठमाडौं । दाङ जिल्लाको धनौरी गा.वि.स.को खैरेनी गाउँमा जन्मिएर गीतसंगीतको क्षेत्रमा आफूलाई क्रियाशील बनाउँदै आउनु राधा पाण्डे यतिखेर एकल एल्बम अबिरा  लिएर बजारमा आउनुभएको छ । व्यापार व्यवसायका साथमा सहकारी क्षेत्रमा कार्यरत रहनुभएकी राधा गीतसंगीत मै आवद्ध रहँदै आफ्ना गीति सिर्जनालाई मजबुत बनाउँदै आउनुभएको छ । घरमा बुबाले छोरीले पढ्यो भने पोइल जान्छन् भनेर पढ्न नदिएको दिनको स्मरण गर्दै राधाले आजको यो स्थानमा आउँदा लुकीछिपी सिकेको कखराले ठूलो काम दिएको बताउनुहुन्छ । पाण्डेका एकल रचना रहेको एल्बम अबिरामा सन्तोष श्रेष्ठ, गोबिन्द मधुर र धनु ज्ञाङमीको  संगीत रहेको छ भने मन्जु उपासना, प्रकाश रेग्मी, बि.पी. वाग्ले अश्मि रिसाल तथा बिन्दु परियारको स्वरले सजिएको छ । प्रस्तुत छ, म्यूजिक खबर डटकमका लागि सविता पोखरेलले पाण्डेसँग गरेको कुराकानी :

गीत कहिले देखि लेख्न थाल्नुभयो ?
लेख्नेको कुरा गर्ने हो भने मैले ५ वर्षको उमेर देखि नै जानी नजानी लेख्थें । तर २०४६ सालदेखि भने कलम राम्रो तरिकाले चलाउन थालेकी हुँ ।
कविता, कथा सानैदेखि लेखें गीत भने पछि लेख्न थालेको हुँ ।
के का लागि लेख्नुहुन्छ ?
सन्तुष्टिका लागि ।
लेखेर सन्तुष्टि हुनुहुन्छ त ?
अहिलेसम्म सन्तुष्टि छु ।
कतिवटा एल्बम निकाल्नुभयो अहिलेसम्म ?
दुईवटा । पहिलो ‘यता माया सम्झेर मैं रुने’ लोकगीतको एल्बम निकालेँ भने ‘अबिरा’ मेरो दोश्रो प्रस्तुति हो । यो आधुनिक गीतिसंग्रह हो ।
अबिराको प्रतिक्रिया कस्तो आइरहेको छ ?
राम्रो आइरहेको छ । अरुकोभन्दा अलि भिन्न किसिमको छ अबिरा ।
कुन शैलीका गीत बढी लेख्नुहुन्छ ?
म जुन शैलीका पनि गीत लेख्छु । तर अबिरामा भने माया प्रेमका गीत लेखेकी छु । मायामा एकान्त मै भेट्नु पर्छ भन्ने छैन, माया जहाँ जसरी पनि गर्न सकिन्छ भन्ने भाव बोकेको गीत लेखेको छु, एउटा रुप सजाएकी छु । भने अर्कोमा बाढीपीडीतको भाव बोकेको गीत पनि लेखेको छु र मेरो ३ वटै गीतमा माया भन्ने शब्द छैन ।
शब्दको खेती गर्ने मान्छ तपाईं त निकै पढ्नु भाको होला है ?
हैन हैन तपाईंले धेरै मार्मिक कुरा पो निकाल्नुभयो त । मैले त विद्यालय गएर पढेकै छैन । मेरो बुवाले मलाई पढ्न दिनुभएन । पढाईको कुरा हुँदा मलाई मेरो बुवाले पीडा कति दिनुभयो कति । मलाई खान लाउनको दुःख चाहिं भएन । तर पढ्नु हुँदैन छोरीले पढ्यो भने पोइल जान्छन् भनेर पढ्न दिनुभएन । उता बुवालाई छोरीले पढ्नु हुन्न भन्ने मानसिकता भने यता मलाई चाहिं पढ्नै पर्छ भन्ने चाहना त्यसैले लुकीछिपी मेरी फूपुसँग कखरा चिने । मेरो शैक्षिक योग्यता बश त्यहि नै हो । मलाई त्यहि कखराले आज आत्मसन्तुष्टि दियो भने मेरो बुवालाई भने सायद छोरीलाई पढ्न नदिएर गल्ती गरेंछु भन्ने ग्लानी भएको होला । त्यो कुरा उहाँले ‘अबिरा’को बिमोचन समारोहमा भन्नु त भएन तर फेसको हाउभाउबाट देखाउनुभयो । अबिरा मैले मेरो बुवाको हातबाट बिमोचन गराएँ । त्यहाँ उहाँ रुनुभयो । म जमिनदारको छोरी भएर खान लाउन र पैसाको दुःख चाहिं भएन ।
एल्बमको नाम ‘अबिरा’ राख्नु भएको छ नी सुन्दा त नयाँ लाग्छ ? यसको शाब्दिक अर्थ के हो ?
अबिरा सुन्दा नै अलग लाग्छ मन पर्छ । अर्को कारण मेरो पारिवारिक नाम हो अबिरा । अ– मेरी छोरी अस्मिता तथा आस्थाको प्रतिनिधि गर्ने शब्द हो भने बि– बिगत तथा मेरो छोरा बिश्वराजको प्रतिनिधि गर्ने शब्द हो भने रा– राधा म स्वयंको संयोजनबाट उत्पती भएको शब्द हो अबिरा । त्यसैले अबिरासँग मेरो गहिरो सम्बन्ध तथा प्रेम छ ।
परिवारको सपोर्ट छ त ?
छ, मलाई मेरा बच्चाहरुले धेरै नै सपोर्ट गरेका छन् ।
भविष्यको योजना केही छ ?
गीत संगीत तथा साहित्यिक लेखनलाई निरन्तरता दिन चाहन्छु ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
मायामा मुटु नजोरेको गीत छ मेरो । देश, आफ्नो जन्म ठाउँ, बाढी पहिरोले पीडित सबैलाई एक एक गरेर सान्त्वना दिन नसकेता पनि गीत मार्फत सान्त्वना दिएकी छु । कस्तो लाग्छ श्रोताहरुलाई गीत सुनेर प्रतिक्रिया दिनुहोला । एकपटक सुन्दा गीतको भाव नबुझिएला दोश्रो पटक, तेश्रो पटक सुनेपछि गीतको भाव राष्ट्रप्रेमले ओतप्रोत भएको छर्लङ्ग हुन्छ । अन्त्यमा, नेपाली गीत संगीत सुनीदिनुहोस् सांगितीक क्षेत्रलाई माया गरिदिनुहोस् । प्रतिक्रियाका लागि मेरा मोबाइल नं. ९८४१३९७४६२ मा कल गरेर गाली या तालि दिनसक्नुहुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु