जन्मदिनमा छन्दमै एकल वाचन

म्यूजिक खबर
प्रकाशित: २८ मंसिर २०७१, आईतवार

लिवाङ । मंसिरको २७ गते डा. कृष्णराज डिसीको जन्मदिन । जन्मदिनकै दिन लिबाङमा डिसीको एकल रचना वाचन । न आयोजकले जन्मदिनको अवसर पारेर यस्तो कार्यक्रम जुराएको हो, न त डिसीले नै जन्मदिनको अवसरमा पारेर एकल रचना वाचन गरेका । संयोगले एकल रचना वाचन भएको थियो । दाङबाट रचना सुनाउन उनी शनिबार रोल्पाको लिबाङ आएर रचना सुनाए ।

पहिलो चरणमा ५ वटा रचना वाचन गरिसकेपछि साहित्यकार रमेश सुवेदीले डा. डिसीको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पारे । प्रकाश पार्ने क्रममा डिसीको जन्मदिन आजैको मितिमा परेको भनिदिएपछि डिसीले उठेर सबैलाई नमस्कार गरे भने हलमा सहभागी सबैले ताली बजाएर जन्मदिनको शुभकामना दिए । सल्यानमा जन्मेका डिसी अहिले दाङमा बस्दै आएका छन् ।
‘रोल्पालाई सम्बोधन’ शीर्षकको कविताबाट गाउन थालेको डा. डिसीले अन्त्यमा ‘पुनः सम्बोधन रोल्पालाई’ शीर्षकको कविता गाएका थिए । यसबीचमा डा. डिसीले गुरु, मानवप्रवृत्ति एक झलक, आमा, म फूल हुँ, गरिब, बाल तपस्वी, जनता, नेता, रापती, थारु, ह्वील चिएयरको प्रश्न, सपना, यन्त्रमानव, सम्बोधन राष्ट्रकविलाई, कवि इच्छुकप्रति, दुख्नुको पीडा, परेदशीको चिठी लगायतका छन्द कविताहरु गाएका थिए । उनले मन्दाक्रन्ता, पञ्चामर, शार्दूलविक्रीडित, वंशस्थ, तोटक, भुजङ्गप्रयात, शिखरिणी छन्दका १९ वटा कविता र २ वटा गीत गाएका कार्यक्रम समीक्षक डी.बी. टुहुरोले बताए । डा. डिसीले पहिलो चरणमा ५, दोस्रो चरणमा ८ र तेस्रो चरणमा ८ रचनाहरु गाए ।
डा. डिसीका निशाराज, आमा ढलेको रात, अलवर्ट आइन्स्टाइन, गौतम बुद्ध, भगिरथ प्रयत्न, मरुभूमिको फूल लगायतको कृतिहरु प्रकाशित छन् ।
कार्यक्रममा राप्ती साहित्य परिषद् दाङका सचिव दीपक शर्मा, विश्व नारी नेपाली साहित्य राप्ती अञ्चल संयोजक गायत्री घर्तीमगर, राप्ती साहित्य परिषद् रोल्पाका अध्यक्ष गोकर्ण पुन, राप्ती साहित्य परिषद् रोल्पाका सल्लाहकार नारायणप्रसाद सुवेदी, जिल्लाका राजनीतिक दलहरुको तर्फबाट एकीकृत ने.क.पा. (माओवादी) रोल्पाका सचिव पुरण क्षेत्रीलगायतले शुभकामना मन्तव्य दिए ।
कार्यक्रममा परिषद्का संस्थापक अध्यक्ष डिबी टुहुरोले डा. डिसीलाई परिषद्को आजीवन सदस्यता प्रदान गरे, अध्यक्ष ओम पन्छीले एकल रचना वाचनको प्रमाण पत्र प्रदान गरे भने नारायण सुवेदीले उनलाई मायाको चिनो प्रदान गरेका थिए ।
परिषद्का सचिव खेमराज गाउँलेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अध्यक्षता ओम पन्छीले गरेका थिए भने सञ्चालन नारायण रेग्मी ‘जिज्ञासु’ले गरेका थिए ।

libang ramesh libang sahitya

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु