तिज गीत अश्लिलताको पराकाष्ठाः गीतकार तथा संगीतकार हरि विष्ट

म्यूजिक खबर
प्रकाशित: २० श्रावण २०७३, बिहीबार

काठमाडौं । अहिले बजारमा आएका तिज गीतलाई हेर्दा तिज गीत अश्लिलताको पराकाष्ठा भएको छ, गीतकार तथा संगीतकार हरि विष्टले भने । माइतीको देश भाग–२ र पानी सलल तिज गीतको सार्वजनिक गर्दै विष्टले भने – तिज भनेको चेलीको चाड हो, नेपाली संस्कृति र समाजअनुसार हुनुपर्छ भन्ने कसैले बुझेनन् । छोटा लुगा लगाएर, अश्लिलता पस्केर अन्तर्राष्ट्रियस्तरमा आफूलाई प्रथम बनाउन खोज्नेहरुले तिज गीतलाई बिगारेका हुन् । समाजमा, परिवारमा सँगै भएर हेर्न नहुने प्रसङ्ग कोट्याउँदै विष्टले भने – ‘टीभीमा तिज गीतको म्यूजिक भिडियो हेर्दाखेरि ढोकामा कोही आउँदैछकी भनेर एउटा गार्ड पनि राख्नुपर्ने भइसकेको छ ।’

hari bista

सोही कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष चन्द्र शर्माले भिडियोको सार्वजनिक गरेका थिए । त्यस्तै कार्यक्रमबाटै भिडियोलाई यूट्यूबमा पनि सार्वजनिक गरिएको थियो । कार्यक्रममा गायिका देवी घर्ती र टीका पुनले माइतीको देशलाई गाएर सुनाएका थिए । कार्यक्रमलाई गायक एवं राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिका अध्यक्ष पीएन सापकोटाले संचालन गरेका थिए ।

हरि विष्ट प्राय गरेर मौलिक भाकालाई पस्कने स्रष्टा हुन् । उनका तिज गीतहरु हेर्दा लाग्छ आफैं सोही गाउँ र परिवेशमा घुमिरहेको छु जस्तो लाग्छ । माइतीघरको चर्चा गर्नु तिजमा चेलीको अधिकार हो । आफ्ना मनका पीडा पोख्ने र चेली र माइतीको प्रसंगलाई मौलिकतामा पस्कनु हरि विष्टको पहिचान नै हो । मध्यपश्चिमको भाकालाई टपक्कै टिपेर तिज भाकामा पस्केका विष्टले बजारमा ल्याएका माइतीको देश भाग–२ र पानी सलल गीत पनि मौलिकताभित्र रहेको छ । हरि विष्टकै शब्द र संगीतभित्र रहेको यस माइती देश भाग –२ मा देवी घर्ती र टीका पुनको स्वर रहेको छ भने पानी सललमा पार्वती ठाडा मगरको स्वर रहेको छ ।

माइतीको देशमा शंकर बिसीको निर्देशन रहेको छ भने रश्मी तामाङ र दीपाशा बिसीको अभिनय रहेको छ । राजेश घिमिरेको छायाँकन रहेको यस गीतको म्यूजिक भिडियोलाई नवीन रेश्मीमगरले सम्पादन गरेका छन् ।
त्यस्तै पानी सलललाई हरि विष्ट आफैंले निर्देशन गरेका छन् । करण चैंसिरको छायाँकन रहेको यस गीतको म्यूजिक भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका छन् । जसमा पूर्णिमा श्रेष्ठ र सरु थापाको अभिनय रहेको छ । यी दुईवटै गीतलाई गंगामाला फिल्म्सले प्रकाशन एवं व्यवस्थापन गरेका हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु