देवलको स्वर्णीम सपना

म्यूजिक खबर
प्रकाशित: २९ फाल्गुन २०७१, शुक्रबार

काठमाडौं । गीतकार देवल भण्डारीको एकल शब्द रचना र अर्जुन पोखरेलको एकल सङ्गीतमा स्वर्णीम सपना आज राजधानी लोकर्पण गरिएको छ । म्यूजिक खबर डटकमको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि गजलकार तथा गीतकार डा.कृष्णहरि बराल, अतिथिसंगीत कार संघ नेपालका अध्यक्ष लक्ष्मण शेषलगायतले गीतिसंग्रह स्वर्णीम सपनाको लोकर्पण गरेका थिए ।
गीतकार भण्डारीका बुबा डोलराज भण्डारी र आमा जानुका भण्डारीको सभापतित्वमा उक्त कार्यक्रम भएको थियो । कार्यक्रममा आफ्ना गीति लेखनका बारेमा बोल्दै गीतकार भण्डारीले आफ्ना धमिरा लाग्न लागेका गीतका पानाहरुलाई मूर्त रुप दिनका लागि स्वर्णीम सपना ल्याएको बताएका थिए । आफ्नो विदेश बसाइको क्रममा विभिन्न कठिनाइका बीचमा आफ्नो लेखिएका शब्दहरुलाई भारतीय गायक गायिकाको स्वरमा रेकर्ड गराउन सफल भएको बताएका थिए । अब दोस्रो एल्बममा नेपाली गायक गायिकाको स्वर नै समावेश गर्ने बताउँदै गीतकार भण्डारीले संगीतकार अर्जुन पोखरेलसँगको सहकार्यले आफूलाई संगीत क्षेत्रमा स्थापित गर्ने बताएका थिए ।
त्यस्तै संगीतकार अर्जुन पोखरेलले गीतका भण्डारीको चाहना अनुसार आफूले संगीत भर्न सफल भएको बताउँदै भारतीय गायक गायिकाले गीत गाउनुमा दुई देशबीचका कलाकारहरुको सहकार्य मात्र भएको बताएका थिए । मुम्बईमा गरिएको रेकर्डमा भएको गुणस्तर भएको बताउँदै केही फरक स्वाद दिनका लागि पनि भारतमा कहिलेकाहीँ रेकर्ड गर्न गएको मात्र भएको पोखरेले बताएका थिए ।
एल्बम स्वर्णीम सपनाको विमोचनपछि शुभकामना मन्तव्य दिँदै संगीतकार संघका अध्यक्ष लक्ष्मण शेषले अब वास्तविक रुपमा नै संगीत उद्योगको स्वर्णीम सपना पूरा हुन लागेको बताएका थिए । संगीत उद्योगमा गरिएका आन्दोलन र त्यसका उपलब्धीको स्वर्णीम सपना आउन लागेको बेलामा नै गीतकार भण्डारीको गीतिसंग्रह स्वर्णीम सपना बजारमा आएकोले सफलता पाउने संगीतकार शेषले बताएका थिए ।
त्यसैगरी संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले गीतकार भण्डारीको स्वर्णीम सपना पूरा हुने बताउँदै संगीतकार अर्जुन पोखरेलको व्यक्तित्व चर्चा गरेका थिए । संगीतकार पोखरेल पछिल्लो पुस्ताका एक मात्र सफल संगीतकारका रुपमा लिइएको बताउँदै अधिकारीले शब्द, संगीत र एरेन्जको अनुभवका साथमा सरल र मिठासपूर्ण संगीत दिएकै कारण पछिल्लो पुस्तामा चर्चामा रहन सफल भएको बताएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि डा.कृष्णहरि बरालले गीतको समीक्षा गर्दै एउटा सफल गीतकारको रुपमा देवल भण्डारीलाई पाएको बताएका थिए । डा.बरालले गीतका हरेक शब्द शब्द केलाउँदै फरक रुपमा देवलले गीतलाई प्रस्तुत गरेको बताउँदै शुभकामना दिएका थिए । बरालले आगामी दिनमा पनि यस्तै शब्दहरुको लेखनको निरन्तरता हुनुपर्ने बताएका थिए ।

swornim sapana
कार्यक्रमको अन्त्यमा सभापतित्वको आसनबाट गीतकार भण्डारीका बुबा डोलराज भण्डारीले छोराको प्रगतिको खुशीमा हराएका बताएका थिए । छोराले गरेको प्रगतिले आफूलाई पनि खुशी मिलेको हुँदा आगामी दिनमा यस्ता प्रगतिका पाइलाहरु अगाडि बढुन् भन्ने शुभआर्शिवाद दिएका थिए । कार्यक्रमको संचालन संचारकर्मी प्रदीप निरौलाले गरेका थिए ।
एल्बममा देवल भण्डारीको एकल शब्द रहेको छ भने संगीतकार अर्जुन पोखरेलको एकल संगीत रहेको छ । एल्बममा सर्माएर लजाएर, दुनियाँको नजरमा, खुला कतै देख्दिनँ, शब्द शब्द लेखुँ म, भाकल गरेर, कुन बेला आइ बस्यौ जस्ता गीतहरु समावेश गरिएका छन् । उक्त गीतहरुमा उदितनारायण झा, दीपानारायण झा, अभिजित, महालक्ष्मी, आभास, साधना सरगम जस्ता चर्चित गायक गायिकाले स्वर दिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु