नजर बेचेर गाउँ विकासमा लगानी

म्यूजिक खबर
प्रकाशित: २२ कार्तिक २०७१, शनिबार

काठमाडौं । गीतकार पद्यमा लिंखा मगरले आफ्नो नजर बेचेर गाउँ विकासमा लगानी गरेकी छिन् । नेपाली संगीतमा गीतकार पद्यमा लिंखा मगरले आफ्नो पहिलो गीतिसंग्रह ‘नजर’को बिक्रीबाट उठेको रकम झुलुवाङ भिजेज फाउन्डेसन (जेभीएफ) लाई हस्तान्तरण गरेकी छन् । निष्ठा म्युजिकले शनिबार राजधानीमा एक कार्यक्रमको गरी राष्ट्रगानका सर्जक व्याकुल माइलाले जेभीएफका कन्ट्री को–अर्डिनेटर पूर्णबहादुर बुढा मगरलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए । जेभीएफकै कामको सिलसिलामा बस दुर्घटनामा परी दुवै खुट्टा गुमाएका मगर बैशाखी टेकेर कार्यक्रममा उपस्थित थिए । एक वर्षको अवधिमा गीति एल्बम बेचेर ७ लाख १३ हजार २ सय ५० रुपैयाँ हस्तान्तरण गरिएको हो ।

हस्तान्तरित रकम जेभीएफद्वारा निर्माणाधीन झुम्लावाङ सामुदायिक स्वास्थ्य केन्द्रको कोषमा जाने जेभीएफको असिस्टेन्ट इन्टरनेसनल कोअर्डिनेटर कला कोयूले बताइन् । जेभीएफले रूकुम जिल्लाको झुम्लावाङलाई दिगो विकासको क्षेत्रमा ‘नमुना गाउँ’ बनाउनका लागि शिक्षा, स्वास्थ्य, सामाजिक–सांस्कृतिक तथा आर्थिक विकासको क्षेत्रमा स्वदेशी÷विदेशी स्वयंसेवकको सहकार्यबाट विभिन्न परियोजना सञ्चालन गरिरहेको छ । संखुवासभाको माम्लिङ जन्मघर भई झुम्लावाङ कर्मथलो भएकी गीतकार पद्मा लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी छन् । उनले शुभकामना सन्देशमार्फत गाउँठाउँको विकासमा सहयोग पुगोस् भन्ने हेतुले ‘नजर’ एल्बम बजारमा ल्याएको उल्लेख गर्दै त्यसमा साथसहयोगका लागि आभार व्यक्त गरेकी छन् ।

एल्बममा राजेश थापाको सोलो संगीत छ ।  एल्बममा संगीता राना, उदय सोताङ, राजेशपायल राई, रिमा गुरुङ होडा, स्वरुपराज आचार्य, अञ्जु पन्त र दीपक लिम्बूको स्वर समेटिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु