नयाँ रेकर्ड राख्दै सबैको मन छोयो परदेशीले

म्यूजिक खबर
प्रकाशित: १८ कार्तिक २०७२, बुधबार

काठमाडौं । निर्देशक नारायण रायमाझीले निर्देशन गरेको चलचित्र परदेशीले सबैको मन छुन सफल भएको छ । दसैंको फुलपातीबाट प्रदर्शनमा आएको चलचित्र परदेशीले अब तिहारलाई पनि सँगै मनाउने क्रममा हलहरुमा प्रदर्शन भइरहेको छ । अहिलेसम्मको चलचित्रको व्यापारलाई अग्रपंक्तिमा राख्दै
परदेशीले नयाँ रेकर्ड राखेको छ । प्रशान्त तामाङ, रजनी केसीको मुख्य भूमिका रहेको फिल्मले प्रदर्शनको २ साता पुरा गर्दै गर्दा ३ करोडको ग्रस कारोबार गरेको निर्माता राजेश वंशलले जानकारी दिए । फिल्मले गत शनिबार मात्र २० लाख ग्रस गरेर थप कमाईको संकेत गरेको हो ।

परदेशीले अधकट्टी, सुश्री र ठमेल डटकम जस्ता फिल्मसँग प्रतिस्पर्धा गर्नुपरेको थियो । तर, ३ वटा फिल्मलाई पछाडि छाड्दैै ‘परदेशी’ एक्लै व्यापारमा नयाँ रेकर्ड कायम राखेको हो । गीतकार, गायक एवं संगीतकारको परिचय बनाइसकेका नारायण रायमाझीको निर्देशनमा बनेको यो फिल्मले विदेश जाने र त्यहाँ गएर दुख पाउने नेपालीहरुको कथालाइ उठाएको छ ।विषयसँग दर्शकको ‘एसोसिएसन’ सफलताको कारक मानिएको छ । नेपाली युवा युवतीहरुको मुख्य केन्द्रविन्दुमा रहेको वैदेशिक रोजगारका बाध्यता र परिणामको बारेमा बनेको फिल्मलाई कथा अनुरुपको संगीतले सफलता दिलाउन महत्वपूर्ण भूमिका खेलेको रायमाझीले बताए ।

pardeshi
‘यसअघि राजेश वंशल र नारायण रायमाझीले फिल्म ‘गोर्खापल्टन’ बनाएर सफलता हात पारेका थिए । त्यो सफलतापछि पुनः परदेशी’को निर्माणमा लागेका रायमाझी र वंशलले चलचित्र निर्माताहरुमा भने एक प्रकारको अन्योलता थपिदिएका छन् । गाउँको कथा छाडेर फरक बाटो रोजेका नेपाली चलचित्रका निर्मातालाई पुनः गाउँकै कथामा सफलता मिल्ने रहेछ भन्ने सन्देशका साथ परदेशी अगाडि बढेको देखिन्छ । चलचित्र परदेशीले सबै नेपालीलाई रुवाउँदै तिहारसम्म हल नछाड्ने पक्का भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु