नातिकाजीको सम्झनामा सम्मान र पुरस्कार घोषणा

म्यूजिक खबर
प्रकाशित: ६ पुष २०७४, बिहीबार

पुष ६, काठमाडौं । नातिकाजी स्मृति समाजले सोमबार सङ्गीत महर्षि (संगीतकार) नातिकाजीको  स्मृतिमा विभिन्न संगीतकर्मी र पत्रकारलाई सम्मान गर्ने भएको छ।

स्व. नातिकाजीकै निवासमा आयोजना गरेको संगीत महर्षि नातिकाजी श्रेष्ठको ९३औं जन्मजयन्ती एवं सम्मान तथा पुरस्कार घोषणा कार्यक्रममा समाजका सचिव दीपक श्रेष्ठले गायक एलपी जोशीलाई नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मान २०७४ प्रदान गर्ने जानकारी गराए।

नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान भने यस वर्षबाट पत्रकारिता क्षेत्रमा समेत प्रदान गरिने भएको छ। यसपटक यो सम्मानबाट नेपाल समाचारपत्रका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठलाई सम्मानित गरिने भएको छ। प्रधान सम्पादक श्रेष्ठसहित यो सम्मान यस वर्ष गायक तथा हास्यव्यंग्य अभिनेता मदनकृष्ण श्रेष्ठ, प्रसाद श्रेष्ठ, रमेश ताम्राकार, प्रेमराजा महत, गीतकार डा. भोला रिजाल र डा. अरुण सायमीलाई सो सम्मान प्रदान गरिने भएको छ।

नातिकाजी राष्ट्रिय संगीत पुरस्कार २०७४ गायक राजेशपायल राई, गीतकार सुवासचन्द्र ढुंगेल, गायिका कोमल वली र संगीतकार नारायण वलीलाई प्रदान गरिने भएको छ भने संगीतकार लक्ष्मण शेष, गायक प्रमोद खरेल र गायिका मीना निरौलालाई नातिकाजी राष्ट्रिय संगीत प्रतिभा पुरस्कार २०७४ प्रदान गरिने समाजले जनाएको छ। सम्मान तथा पुरस्कार छनोटका लागि गायक योगेश वैद्यको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको समाजले जनाएको छ।

समाजका अध्यक्ष शम्भुजित बासकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नातिकाजीले नेपाली संगीतको श्रीवृद्धिमा पुर्याएका योगदानको चर्चा गर्दै गीतकार रत्मशमशेर थापाले उनी नेपाली माटोको संगीत भर्ने संगीतकार भएको बताए। थापाले त्रिचन्द्र कलेजमा २०१८ सालमा नातिकाजीसँगै पढेको स्मरण गर्दै नेपाली गीत–संगीतको क्षेत्रमा नातिकाजीको योगदानलाई आधुनिक पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिए। त्यसै गरी समाजका अध्यक्ष तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बासकोटाले नेपाली संगीतलाई चिरकालसम्म जीवन्त राख्न नातिकाजीको संगीत कोशेढुंगा सावित हुने चर्चा गरे। यी सम्मान र पुरष्कार एक विशेष कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान गरिने पनि उनले जानकारी गराए।

कार्यक्रममा संगीतकर्मीहरुले नातीकाजीको तस्वीरमा माल्यार्पण गरी उनीप्रति श्रद्धा व्यक्त गरेका थिए।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु