नेपाली संगीत हिजो र आजमा सांगीतिक छलफल

म्यूजिक खबर
प्रकाशित: ९ असार २०७३, बिहीबार

काठमाडौं । बुधबार राजधानीको प्रज्ञा भवनमा आयोजित ‘नेपाली संगीत हिजो र आज’ विषयको गोष्टीमा संगीतकर्मीहरुले अहिलेसम्म रेकर्ड भएका गीत संगीतको अभिलेख नराखिएकोमा दुःख व्यक्त गरेका छन् । अभिलेखको अभावका कारण पनि कुन गीत कहिले रेकर्ड भएको र त्यो गीतका स्रस्टाहरु को को भएको भन्ने बारे अनुमानका भरमा लेख्ने गरिएको उनीहरुको भनाई छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्धारा आयोजना गरिएको उक्त कार्यक्रममा संगीतकर्मीहरुले यस्तो भनाई राखेका हुन् । कार्यक्रममा संगीतकार टीका भण्डारीले ‘नेपाली संगीत हिजो र आज’ बिषयको कार्यपत्र प्रस्तुत गरेका थिए । नेपाली आधुनिक संगीत यात्रा सेतुरामबाट १९६० सालपछि सुरु भएर अहिलेसम्मको अबस्थाको चर्चा भण्डारीको कार्यपत्रमा गरिएको थियो । कार्यपत्रमा उनले नेपाली अधुनिक संगीतको इतिहास र यसको अबस्था, नेपाली, लोक, शास्त्रीय, चलचित्र, पप संगीत र यी गीत संगीतका अबस्था बारे चर्चा गरेका थिए । उनको कार्यपत्रमा नेपाली गीतसंगीतको प्राविधिक विकाश क्रम, यसका चुनौती, हिजोका गीतहरुको विशेषता, आजका गीतहरुको अबस्था, आजको संगीतको अबस्था, नेपाली संगीतका चुनौतीहरु र भोलीको नेपाली संगीतको अपेक्षा बारे उल्लेख गरिएको थियो । भण्डारीको कार्यपत्रमाथि गीतकार डा. कृष्णहरि बरालले टिप्पणी गरेका थिए । छोटो समयमा तयार गरिएको कार्यपत्रमा धेरै कुरा समेटिएको उनले बताए ।

1606231990a35da2-af6b-4595-841a-5ef044472a19

कार्यपत्रमा उल्लेख गरिएका तिथि मिति धेरै गलत भएकाले त्यसलाई सच्याउन उनले सुझाब दिए । कार्यपत्रको बिषय ‘नेपाली संगीत हिजो र आज’ निकै बृहत भएकाले यो शिर्षकबाट एक दर्जन विधापारिधिका लागि शोध बिषय निकाल्न सकिने पनि उनले बताए । कार्यक्रमका प्रमुख अतिगि अग्रज गीतकार किरण खरेलले सो कार्यपत्रको प्रसँसा गर्दै अझ थप अध्ययन अनुसन्धात गरी कार्यपत्रलाई पुस्ताको रुपमा ल्याउन सुझाब दिए । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ (सरुभक्त)ले नेपाली गीत संगीतको खोज अनुसन्धान, सँरक्षण सम्वर्धन र विकाश गर्नु नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको दायित्व हो भने । त्यसैले गीत संगति सम्बन्धी विभिन्न गोष्ठी, खोज अनुसन्धान गरेर त्यसलाई पुस्तकको रुपमा ल्याईने पनि उनले बताए । सोही प्रतिष्ठानका उपकुलपति शम्भुजीत बासकोटाले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै नेपाली संगीतको इतिहासबारे जानकारी गराउन सो विचार गोष्टी आयोजना गरिएको हो भने । उनले अग्रजहरुको सृजनालाई जोगाएर आउने पुस्तालाई हस्तान्तरण गर्नु पर्ने धारणा राखे । सो कार्यक्रमकी संयोजक एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ परिषद सदस्य उन्नती बोहरा ‘शिला’ले नेपाली गीत संगीतको बारे आफना धारणा राख्दै सो कार्यक्रमको उदेश्य बारे प्रकाश पारिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु