‘नेपाल भएर नै म नेपाली बन्न पाछु’

म्यूजिक खबर
प्रकाशित: २८ जेष्ठ २०७३, शुक्रबार

मुलुकभित्रको पीडा आफैंमा गहन हुन्छ तर नेपाल नै रहेन भने नेपाली बन्नुको अर्थ पनि हुँदैन । हामी जन्मिएको ठाउँमा तेरो र मेरो भन्ने लँडाइ त्यागेर सिंगो राष्ट्रको स्वार्थमा लाग्नुपर्छ भन्ने भावनामा एउटा राष्ट्रभक्ति गीत तयार भएको छ । मुलुकमा भएको नाकाबन्दीमा मधेसवादी दलले गरेको आन्दोलनसँगै रोएको देश र स्वाभिमान खोसिन लागेको जनताको एउटा पीडा हो यो राष्ट्रभावको गीत । पत्रकार सुमन बैरागीले त्यही पीडालाई आत्मसात गर्दै नेपाल रहे नै नेपाली भन्ने पहिचान हुन्छ भन्न खोजेका छन् ।

yubaraj chaulagain-santosh shrestha-suman bairagi-bipin acharya

नेपाल भएर नै म नेपाली बन्न पाछु
सगरमाथा बुद्धको देश शान्तिभूमि भन्न पाछु

सीमा मिच्न बैरी आए एक भई लड्नु पर्छ
स्वाभिमान बचाउन सबै अघि बढ्नु पर्छ
पहाडको जडिबुटी र तराईको अन्न पाछु
मेचीकाली फैलिएको मातृभूमि भन्न पाछु

सबैभन्दा पहिले आफू नेपाली हुँ भन्नु पर्छ
हिमाल पहाड तराईको त्यसपछि बन्नुपर्छ
विश्वमै स्वाभिमानी म नेपाली बन्न पाछु
चन्द्र सूर्य फरफराउने नेपालभूमि भन्न पाछु

सगरमाथा बुद्धको देश शान्तिभूमि भनेर जसरी विश्वमा चिनिएको हाम्रो पहिचान छ त्यसलाई बचाउन सकिएन भने हाम्रो आफ्नै अस्तित्व धरापमा पर्छ । भर्खरै रेकर्ड भएको यस गीतमा जसरी शब्दहरुले देशप्रेमभित्रको एउटा सन्देश बोकेको छ त्यसलाई संगीतकार सन्तोष श्रेष्ठले सांगीतिक तरङ्ग थपिदिएका छन् । शब्द र संगीतको तारतम्य मिलाउँदै विपिन आचार्यले संगीत संयोजन गरेका छन् । त्यही शब्द र संगीतभित्र गायक युवराज चौलागाईंले मिठासपूर्ण भावमा देशप्रतिको आस्थालाई कायम गरेका छन् । उनको जादूमय स्वरमा जसरी गीत बज्दै जान्छ त्यसगरी उर्जा र उजागर मिल्ने पक्का देखिन्छ । एमबी म्यूजिक कपुरधारामा रेकर्ड गरिएको यस गीत समग्रमा एउटा उत्कृष्ट राष्ट्रभावको गीत बन्न सफल भएको छ ।
सुमन बैरागी र सन्तोष श्रेष्ठको संयुक्त गीतिसंग्रह ‘सम्झना’ भित्रको यो गीत अब छिट्टै बजारमा आउनेछ । एल्बमभित्र प्रमोद खरेल, दुर्गा खरेल, शिशिर योगी, काव्य आचार्यको साथै युवराज चौलागाईंको स्वर रहेको छ । तिम्ले सधैं पीडा दियौ, नजलाइदेउ मुटु मेरो लगायतका पाँच गीत समावेश गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु