• ‘पछाडिका गाडीलाई समेत अघि जान नदिने थोत्रो ट्रक हुँ रे म’

    म्यूजिक खबर
    प्रकाशित: ७ भाद्र २०७१, शनिबार

    राजेश पायल राई
    काठमाडौं, ८ भदौ । राई इज किङ भन्ने वित्तिकै राजेशपायल राईको नाम साँच्चै गीतसंगीतमा राजाकै स्थानमा छ । त्यसो त किराँतहरूको राजखान्दानमा पर्ने उनी रोलक्रम चलिआएको भए अहिले उनी साँच्चिकै राजा हुन्थे रे । नेपाली संगीतमा ठाँट र चर्चाका दृष्टिले उनी एकप्रकारले राजाजस्तै छन् । उनी आफूलाई चटके भन्न रुचाउँछन् । त्यस्तै विहे प्रसंगमा कुरा गर्दा उनी ‘अरुलाई अगाडि जान नदिने थोत्रे ट्रक हुँ म भनेर भन्ने गर्छन्’ । उनले विहे नगर्दा भाइले समेत पालो कुरिरहेको बताउने राजेश पायल राईसँग सजना बराल र धनबहादुर खड्काले अन्तरंग कुराकानीलाई यहाँ प्रस्तुत गरिएको छ ।

    कत्तिको फुर्सद छ आजभोलि ?
    फुर्सद छ भन्नु कि छैन भन्नु ? हङकङ जाँदै छु । तर, अहिलेसम्म लगेज प्याक गर्न भ्याएको छैन । व्यस्त नै छु भन्नुप¥यो ।
    कतिऔँ पटकको हङकङ यात्रा हो यो ?
    यो मेरो बीसौँ पटक हो । सबैभन्दा धेरैचोटि गएको देश हङकङ नै हो । हङकङमा जति ओहोर–दोहोर मैले मेरो गाउँ (भोजपुर) मा समेत गरेको छुइनँ । र, मैले जति विदेश यात्रा सायद अरू नेपाली गायकगायिकाले गरेका पनि छैनन् ।
    हो र ?
    वर्षमा सात वटा पासपोर्ट सकिन्छ मेरो । यो त रेकर्ड नै हुन्छ होला ।
    अरू पनि केही रेकर्ड कायम गर्नुभएको छ कि ?
    चा–चारवटा एल्बम एकै पटक रिलिज गरेँ । छ÷सात सय वटा फिल्मका गीत गाएको छु । यी आफैँमा रेकर्ड हुन् ।
    रेकर्ड बनाउने सोख छ कि क्या हो ?
    छैन । रेकर्ड बनाउँछु भनेर काम गर्दिनँ । काम आफैँले रेकर्ड बनाइदिन्छन् । यत्ति हो, म लगनशील भएर काम गर्छु ।
    संगीतको एउटा उचाइमा पुगिसक्नुभयो । अझै केही गर्ने तिर्खा बाँकी छ ?
    म चटके हुँ । चटक देखाएर बाँच्छु । चटकेको तिर्खा कहिल्यै मेटिँदैन । उसलाई सधैँ नयाँ–नयाँ तरिकाले चटक देखाउन मन लाग्छ । त्यसैले ऊ खोज–तलाश गरिरहन्छ । म पनि चुप लागेर बस्नै सक्दिनँ । नयाँ ढंगले काम गर्ने लालसा ममा सदा रहिरहन्छ । नयाँ भाषा, नयाँ भाका र नयाँ सुर–तालका गीत गाउन मन पराउँछु । म एउटै चिजमा सीमित रहन सक्दिनँ ।
    विगतका के–के कुरा सम्झिनुहुन्छ ?
    भोजपुर सम्झिन्छु । धरान सम्झिन्छु । रेडियोभित्र छिरेर बाजेलाई गीत सुनाउने मेरो सपनाबारे सम्झिन्छु । काठमाडौँ आएको, रेडियो नेपाल धाएको, स्वर परीक्षा दिएको, नातिकाजीलाई भेट्न हप्तौँ कुरेको लगायत धेरै कुरा याद आउँछन् ।
    स्वर परीक्षा दिन काठमाडौँ आउँदा तपाईं १३÷१४ वर्षको हुनुहुन्थ्यो क्यारे । त्यो बेलादेखि नै नातिकाजीको फ्यान तपाईं ?
    नातिकाजीको को चाहिँ फ्यान थिएनन् होला त्यो बेला ? म त झन् संगीतमा रुचि भएको मान्छे । उहाँको फ्यान नहुने कुरै भएन । रेडियो नेपाल पुगेका बेला एकफेर उहाँलाई भेटेर आफ्नो आवाज सुनाउने कत्रो धोको थियो मेरो । तर, उहाँको एसिस्टेन्टले ज्यान गए भित्र पस्न नदिने ! एक हप्ता चिट लेख्दै, पठाउँदै गर्दा पनि भित्र जान पाइनँ । आठौँ दिनमा चिट–सिट केही लेखाइनँ । सीधै ढोका खोलेर भित्र गएँ । ‘म यस्तो–यस्तो मान्छे हुँ, हजुरले मेरो स्वर सुन्दिनुप¥यो’ भनेँ । उहाँले ‘सुनाऊ’ भन्नुभयो । केही दिनपछि उहाँकै संगीतमा गीत निकाल्दा मान्छेहरू छक्क परे ।
    आफ्नो स्वरको तागत देखेर आफैँ छक्क पर्नुभएको छ कहिल्यै ?
    पहिलो चोटि हङकङ जाँदा यस्तो भा’थ्यो । शम्भु राईले नेतृत्व गरेको टोलीमा त्यहाँ गएको थिएँ । उहाँले ‘चारपाँच हजार रुपैयाँ पारिश्रमिक पाउँछौ’ भन्नुभएको थियो । म दंग परेर गएँ । गएर गाउन थालेपछि त मान्छेहरूले स्टेजअगाडि रुमाल ओछ्याएर पैसा हाल्दिन थाले । हेर्दाहेर्दै पैसाको थुप्रो लाग्यो । पछि गन्दा ६० हजार रुपैयाँ जम्मा भएछ । यो कुरा कसलाई सुनाऊँ, कसलाई सुनाऊँ भएर खपिनसक्नु भएको थियो । ‘गीत पनि भयंकर राम्रो गाउँछु कि क्या हो’ भन्ने लागेको थियो ।
    यत्तिका वर्षदेखि गाउँदै हुनुहुन्छ । यसबीच धेरै गायक÷गायिका आए, गए । तपाईं टिकिरहनुभयो । तपाईंको माग घटेको छैन । किन होला ?
    मुख्य कुरा, गायनको मामिलामा म असाध्यै मेहनती छु । प्रत्येक गीतको कोण–कोणलाई बुझेर गाउने प्रयास गर्छु । यतिसम्म प्रयास गर्छु कि हलमा गएर फिल्म हेर्नेहरू गीत आउँदा ट्वालेट नजाऊन्, मेरो स्वरले पनि दर्शक बाँधोस् भन्ने लक्ष्य हुन्छ मेरो । दोस्रो कुरा, मेरो स्वर जुनसुकै अभिनेतालाई पनि म्याच हुन्छ । अनि अर्को कारण चाहिँ मेरो व्यवहार हो । मसँग व्यवहार गर्ने तरिका पनि छ । म घमण्ड गर्दिनँ ।
    आफूलाई ‘राई इज किङ’ भन्दै हिँड्नुहुन्छ । यो घमण्ड होइन ?
    यो त मलाई मिडियाले दिएको उपमा हो । कान्तिपुर साप्ताहिकले एकपटक ‘राई इज किङ’ भनेर छापेको थियो । उसले दिएको उपमा मैले स्विकारेको मात्र हुँ । तर, किरातहरूको इतिहास खोतल्ने हो भने म राजाकै खान्दानभित्र पर्छु । पहिलेको रोलक्रम चलिआएको भए अहिले म साँच्चीकै राजा हुन्थेँ । त्यताको राजा नभए पनि मेरा कृतिले मलाई अहिले पनि राजा नै बनाइदिएका छन् ।
    स्टेज उक्लेपछि पानी पनि नखाई लगातार १५÷२० वटा गीत गाइदिनु हुन्छ । यो कसरी सम्भव भएको ?
    १५÷२० होइन, २५÷३० वटै गीत गाइदिन सक्छु । अडियन्सको ताप देखेपछि मेरो थकान सुक्छ । पानी–सानी केही चाहिँदैन । जति भन्यो, उति गाइदिन सक्छु । तर, गाइसकेर कोठामा आएपछि मेरो बेहाल हुन्छ । साह्रै थाक्छु त्यतिबेला । स्टेजमा हुँदा चाहिँ मलाई दर्शकको आशीर्वाद मिल्छ क्यारे । त्यसैले त स्वर पनि सुक्दैन, थकाइ पनि लाग्दैन ।
    नातिकाजीदेखि रजिना रिमालसम्म सहकार्य गर्नुभएको छ । नेपाली संगीतको स्तर कसरी नियाल्दै हुनुहुन्छ ?
    अहिले प्रविधि बलियो भएर आएको छ । गाउन–बजाउन सजिलो छ । गायकगायिका धेरै भएका छन् । संगीत धेरै व्यावसायिक बनेको छ । तर, संगीतको स्तर चाहिँ खस्कियो भन्छन् मान्छेहरू । शाब्दिक हिसाबले खस्केको पनि छ । व्याकरणीय त्रुटि अत्यधिक हुन्छन् । उच्चारण गलत हुन्छन् । गीतको भाव नै टेढो हुन्छ । यद्यपि, मलाई के लाग्छ भने अहिले नारायणगोपाल दाइ हुनुभएको भए उहाँले पनि हाम्रोजस्तै टेढोमेडो गीत गाउनुहुन्थ्यो होला । जमाना बदलिसक्यो । गीतसंगीतको सुरताल फेरिइसक्यो । जमानाअनुसार चल्न सकेन भने गायक फ्लप हुन्छ । त्यसकारण कि त मैले जस्तो ‘मलाई पनि अंग्रेजीमा हाँस्न सिकाइदेऊ न’ खालका गीत गाउनुप¥यो । कि गाउनै छोडे हुन्छ । अंग्रेजीमा कसरी हाँस्ने ? भनेर निहुँ खोज्नु व्यर्थ छ अहिले ।
    जिन्दगीमा तपाईंले जति रमाइलो कमैले गरेका छन् रे । के गर्नुभयो त्यस्तो ?
    धेरै चिज गरेँ । रमाइलोको त कुनै हद थिएन । मेरो रमाइलो गर्ने माध्यम रक्सी, चुरोट–गाँजा र डिस्को थिए । चुरोट र डिस्कोको त लत नै थियो । रात पर्नासाथ डिस्को छिर्थें । रातभरि नाच्थेँ । बिहान हल्लिदैँ घर जान्थेँ । अरू मर्निङ वाक जाँदा आफू सुत्न गइन्थ्यो । अरू सुत्ने बेलामा मेरो दिन सुरु हुन्थ्यो । जिन्दगी पूरै उल्टो थियो । डिस्को नगएको रात छटपटीमा बित्थ्यो । रातभरि कानमा ढङढङढङ आवाज आइरहन्थ्यो । डिस्को नगई बाँच्नै नसक्ने भएको थिएँ । चुरोट त झन् छिनछिनमै खानुपर्ने । खान हुने, नहुने जुनसुकै ठाउँमा पनि चुरोट खाइदिन्थेँ ।
    त्यो दुनियाँबाट कसरी बाहिर निस्किनुभयो ?
    मेरो हात÷खुट्टा चल्न छोड्यो । चेक–अप गरेपछि थाहा भयो, अनिद्रा, गाँजा, चुरोट, रक्सीका कारण यस्तो भएको रहेछ । केही समय फिजियोथेरापी गरेँ । त्यसपछि मलाई होश आएजस्तो, बिउँझिएजस्तो भयो । लागुपदार्थ, डिस्को सबै छोडिदिएँ । नयाँ साथीहरू बने । गायनमा पुनः सक्रिय भएँ । सबैले राजेश पायल सुध्रियो भने । तर, मेरा पुराना साथीभाइ, जोसँग म चुरोट÷रक्सी खाने, डिस्को जाने गर्थें, ले राजेश पायल बिग्रिएर खत्तम भयो भने । यो सम्झिँदा खूब हास उठ्छ अहिले ।
    मायाप्रेम पनि त खूब गरियो होला नि त्यो बेला ?
    एकतर्फी प्रेम धेरै गरियो । धेरैजनासँग आकर्षित भइयो । तर, कसैलाई आई लभ यू भन्न सकिनँ । ‘रिजेक्टेड’ भइएला कि भन्ने डरले सधैँ कापिरहेँ म । कहिल्यै मुख खोल्न सकिनँ ।
    घरगृहस्थी टुंगो लाउने बेला भएन र अब ?
    भयो । चाँडै टुंगो लागोस् भन्ने चाहन्छु ।
    तपाईंले नै लगाउने होला नि टुंगो त ?
    म यतिबेला ठूलो अन्तद्र्वन्द्वमा छु । यत्तिका वर्ष आफ्नै मर्जीले काम गरियो । ममी–पापासँग छलफल पनि गरिएन खासै । त्यसैले घरबारको पाटो चाहिँ अभिभावकलाई छोड्दिऊँ कि भन्ने लाग्छ कहिले । तर, फेरि सोच्छु बिहे गर्ने मैले हो । जिन्दगी मैले बिताउनुपर्छ । यस्तो कुराको निर्णय त आफैँले गर्नुपर्छ भन्ने लाग्छ । यही दुइटा कुराले पिरोलिरहन्छन् ।

    rajesh-payal1
    बिहे गरौं भन्ने फ्यान पनि त होलान् ?
    घरमैं पु¥याएर विवाह गर्ने प्रस्ताव राख्नेदेखि ब्लडले लेटर लेख्नेसम्मका फ्यानको बेलिबिस्तार त केही समयअघि शुक्रवारसँगको कुराकानीमा लगाइसकेँ । भर्खरै अमेरिका जाँदा अचम्मकै बालिका फ्यान भेटेँ । उहाँ अहिले १२ वर्षको हुनुभयो । भन्नुहुन्छ, ‘म तपाईँसितै विहे गर्छु, ६ वर्ष कुर्नुस् ।’ उहाँहरु मेरो कलालाई मनपराउनुहुन्छ, त्यसैले त्यही लेभलको डिल गर्छु ।
    अभिभावकले के भन्नुहुन्छ ? कत्तिको प्रेसर आइरहेको छ ?
    प्रेसर त आउने नै भयो । मैले गर्दा भाइले समेत पालो पाएको छैन । कतिले त जिस्काएर ‘हाइवेमा बिग्रिएको थोत्रो ट्रक’ समेत भन्छन् मलाई । आफू पनि गुड्न नसक्ने, पछाडिका गाडीलाई समेत अघि जान नदिने थोत्रो ट्रक हुँ रे म । ममी–पापासँग चाहिँ छलफल गर्ने मौकै मिलेको छैन । उहाँहरू लन्डनमा बस्नुहुन्छ । म यता । फोनमा यस्तो कुरा के गर्नु ?
    गाडीको कुरा गरिहाल्नुभयो । कुन ब्रान्डको गाडी चलाउनुहुन्छ ?
    बसाइको टुंगो छैन । कहिले कता, कहिले कता पुगिरहेको हुन्छु । त्यसैले गाडी किन्न पाएको छैन । २०४६ सालमा पहिलो चोटि गाडी देख्दा कम्ता छक्क परेको थिइनँ । भोजपुरबाट हेलिकप्टर चढेर काठमाडौँ आउँदा गाडी देखेको थिएँ । ‘के रैछ यस्तो आफैँ गुड्ने साधन’ भनेर हेरेको हे¥यै भएँ । त्यही बेलादेखि गाडी किन्ने सपना देखेको हुँ । तर, किन्नै पाएको छैन ।
    गाडीभन्दा पहिले हेलिकप्टर चढ्नुभएको रहेछ । पहिले हेलिकप्टर किनेर गाडी किन्ने सुर हो कि ?
    होइन, होइन । त्यतिविघ्न धन कमाइसकेको पनि छैन । त्यत्रो विलासी पनि छुइनँ म । अब बिस्तारै गाडी चाहिँ किन्नुपर्ला ।
    शुक्रबार साप्ताहिकबाट

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु