‘परदेशी मन’ सार्वजनिकसँगै पत्रकार सम्मानित

म्यूजिक खबर
प्रकाशित: १४ पुष २०७१, सोमबार

काठमाडौं । गीतकार सीता शेरचनको डेब्यू एल्बम ‘परदेशी मन’को सार्वजनिकसँगै तीन पत्रकारलाई सम्मान गरिएको छ । नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवं वरिष्ठ संगीतज्ञ अम्बर गुरुङको हातबाट गीतिसंग्रह परदेशी मनको सार्वजनिक गरिएको थियो । राजधानी र युकेलगायत विश्वका विभिन्न देशका लागि राजधानीबाट प्रसारण हुँदै आएको बिएफबिएस रेडियोले ललितपुरस्थित आफ्नै स्टुडियोमा प्रत्यक्ष कार्यक्रम गरी गीतकार सीता शेरचनको एल्बम विमोचनसँगै तीन पत्रकारलाई सम्मान गरेको हो ।
कार्यक्रममा गुरुङले नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरीलाई झण्डै साँढे दुई दशकदेखि पत्रकारितामार्फत नेपाली कला र संगीत क्षेत्रमा योगदान पु¥याएवापत ५ हजार एक सय रुपैंयाँका साथ सम्मान गरिएको थियो । यसैगरी दुई दशकभन्दा अघिदेखि पत्रकारितामार्फत नै फिल्म र संगीत क्षेत्रमा योगदान पुयाएवापत पत्रकारद्वय डब्बु क्षेत्री र कृष्ण भट्टराईलाई पनि जनही ५ हजार एक सय रुपैंयाँसहित सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन आरजे तथा भिजे सरोज केसीले गरेका थिए ।
रेडियोका नेपालस्थित स्टेशन मेनेजर विनोदध्वज खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा गीतकार शेरचनले परदेशमा रहँदाका विभिन्न भावलाई गीतका रुपमा तयार पारेको बताएकी थिइन् । २२ वर्षदेखि प्रवासमा बस्दै आएकी गीतकार शेरचनको एल्बममा ‘अधुरो मायासँगै’, ‘लुकाएर आँशु हास्नु पर्दा’, ‘खुटुमा खुटु बाडुली’, ‘मलाई हेर्ने आकाशमा’ बोलका गीत रहेका छन् । जुन गीतहरुलाई ताराप्रकाश लिम्बु, शिखर सन्तोष र अर्जुन सुनामले संगीत दिएका छन् भने रजिना रिमाल, प्रमोद खरेत, अञ्जु पन्त र अर्जुन सुनामले स्वर दिएका छन् । कार्यक्रममा गीतकार शेरचनले कपनमा रहेको संयुक्त अपांग एकता आवाज केन्द्रका अध्यक्ष तिलबहादुर कार्कीलाई २१ हजार १ सय रुपैंयाँ सहयोग गरेकी थिईन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु