पहिलो पथमा मानदेव

म्यूजिक खबर
प्रकाशित: १२ कार्तिक २०७३, शुक्रबार

संगीतकार नरहरि प्रेमीको एकल संगीतमा रहेको गायक मानदेव ताजपुरियाको पहिलो पथ सार्वजनिक भएको छ । म्यूजिक खबर डटकमको आयोजनामा राजधानीको अनामनगरस्थित विनायो क्याफेमा वरिष्ठ संगीतकार राजु सिंह, चर्चित गीतकार, कवि डा. नवराज लम्साल, नेपाल सांगीतिक संघका महासचिव संगीतकार सन्तोष श्रेष्ठ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका वरिष्ठ उपाध्यक्ष एवं नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली, भाइब्स क्रियशनका प्रबन्ध निर्देशक एवं गायक परशुराम रिजाललगायतको हातबाट फस्ट वेलाई सार्वजनिक गरिएको हो ।

mandev-2

भाइब्स क्रियशनका प्रबन्ध निर्देशक परशुराम रिजालको सभापतित्वमा भएको उक्त विमोचन कार्यक्रमलाई स्वागत गर्दै गायक मानदेव ताजपुरियाले आफ्ना अनुभवहरु सुनाएका थिए । त्यस्तै एल्बमभित्रको संगीतको पक्षलाई उजागर गर्दै संगीतकार नरहरि प्रेमीले भारतमा गएर रेकर्ड गर्दाका अनुभव सुनाए । उनले एउटा टेलर मास्टरले कपडाको साइज नाप्दै गर्दा तलमाथि गराएजस्तै आफूले मानदेवको घाँटीलाई पनि तलमाथि गराउँदै उत्कृष्टता खोजेको बताए ।

mandev
त्यसैगरी नेपाल सांगीतिक संघका महासचिव एवं संगीतकार सन्तोष श्रेष्ठले एल्बमको समीक्षा गर्दै गायकको मेहनत अनुसार निरन्तरताको खोजी हुनुपर्ने बताए । खोला बगेर सागर हुन्छ भन्दै संगीतकार श्रेष्ठले खोलाजस्तै निरन्तर संगीतमा बग्नुपर्ने भन्दै गायकलाई शुभकामना दिए । एल्बमको समीक्षा विमोचनमा गर्नुभन्दा पनि अब एल्बम बजारमा आउनुपूर्व नै समीक्षा हुनुपर्ने बताउँदै श्रेष्ठले गीतसंगीतको पक्ष पनि सबल भएको बताए ।

त्यस्तै वरिष्ठ गीतकार एवं कवि डा.नवराज लम्सालले फोनबाटै आफूले गीत टिपाएको स्मरण गर्दै गीतसंगीतमा निरन्तर लाग्ने सुझाव दिए । लम्सालले खोलाको छालजस्तो बगरमा पुगेर सुक्ने बन्नु हुँदै खोलाजस्तो निरन्तर बग्नुपर्छ भन्दै सदाबहार बन्न सक्ने फरक पहिचान बोकेर आउनुपर्ने बताए ।

त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ संगीतकार राजु सिंहले गीतसंगीतले सबैको मन जित्न सके मात्र सफल हुने बताउँदै मानदेवले पक्कै पनि आफ्नो परिश्रम, मेहनत गर्दै संगीतको शिक्षालाई सँगै लैजान सके भविश्य उज्ज्वल रहेको बताए । आफूले नै आफ्नो पहिचान बनाउने बताउँदै सिंहले सफलताको शुभकामना दिए । कार्यक्रम संचारकर्मी राधिका अधिकारीले संचालन गरेकी थिइन् ।

संगीतकार नरहरि प्रेमीको एकल संगीत रहेको फस्ट वे अर्थात् पहिलो पथमा अन्जु पन्त, सञ्जीवनी, अनुराधा पौडेलको संयुक्त स्वरलाई पनि समावेश गरिएको छ । एल्बममा मिनसागर लामा, किरण खरेल, डा.भोला रिजाल, डा. नवराज लम्साल, लोकराज अधिकारी, आदर्श सुशील, दिनेश गजमेरको शब्द रचना रहेको छ । हाम्रो माया, भुलौं भुलौं, झ्याप्पै, फिर्ता लिन, सबले मलाई, छालजस्तै र मिलन पछिको बोलको गीत समावेश रहेको छ । एल्बमलाई भाइब्स क्रियशनले बजार प्रबद्र्धन गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु