फरक धारमा गीतकार देवेन गिरी

म्यूजिक खबर
प्रकाशित: ६ फाल्गुन २०७०, मंगलवार

काठमाडौं, ६ फागुन । गीतकार देवेन गिरी आफूलाई फरक धारको गीतकार बनाउन चाहन्छन् । केही समय पहिला मात्र ‘द पेन एण्ड देवेन’ गीतिसंग्रह बजारमा ल्याएका देवन गिरीले उक्त एल्बम पनि अरुको भन्दा पृथक नै बनाएका थिए । आफ्नो चेतनामा नै गीतसंगीत बसोबास गरेको बताउने देवेनले धेरै हण्डर र ठक्कर खाँदै जिन्दगीलाई चट्टानजस्तो बनाउँदै अहिले संगीतमय बनाउन सफल भएको बताउँछन् । प्राकृतिक झल्कोले सताउँदै जाँदा उनलाई आफ्नो देशको कला, संस्कृति र संगीतले पनि पछ्याउँदै गएको हुँदा एउटा फरक पहिचान खोज्दै जाँदा गीतकारको परिचय बनाउन सफल भएका छन् देवेन । जीवनको भोगाई र आँखाले देखेका कुराहरुलाई गीतमा उतार्न सफल भएका देवेनले आफ्नो द पेन एण्ड देवेनमा पनि फरक फरक अनुभूतिहरुलाई गीतका माध्यमबाट प्रस्तुत गरेका छन् ।
सानैदेखि संगीतमा रुचि राख्ने देवेनले संगीतलाई निरन्तरता दिने क्रममा आफ्ना भोाईलाई शब्दमा उतारिरहेका थिए त्यही शब्दहरुलाई एउटा संग्रह बनाउन सफल भएको बताउँछन् । जुन एल्बममा उनले बुढेसकालको माया राष्ट्रिय गीतमा एउटा पारिवारिक गाथालाई कोर्न सफल भएका छन् । जिन्दगीको चौतरीको कुरा गरेका छन् । जुन गीतको म्यूजिक भिडियोमा देवेन आफैंले अभिनय समेत गर्न सफल भएका छन् । जुन गीतलाई शम्भुजित बास्कोटाले संगीत दिएका छन् भने शिशिर योगी र साधना सरगमले स्वरबद्ध गरेका छन् । उक्त गीतको म्यूजिक भिडियोलाई भने भुषण दाहालले निर्देशन गरेका छन् ।

deven giri

जुठिएको सिउँदो पनि चोखो चोखो लाग्यो
माया बिनाको उनको मन भोको भोको लाग्यो
चाहनाको पोको त्यही पोखुँ पोखुँ लाग्यो
हकवालाको हातको फूल खोसुँ खोसुँ लाग्यो
त्यस्तै जुठिएको सिउँदो बोलको गीतमा पनि उनका शब्दहरु मार्मिक तरिकाले पोखिएका छन् । एउटा नारीको सिउँदो रंगिएपछि जुठो भएको भन्ने हाम्रो समाजमा उसको सहाराका बारेमा भने कसले कसरी सोच्ने गर्छन् । मायाबिनाको उसको जुठो सिउँदोको कुनै अर्थ छैन, त्यसैले सिन्दुरको अर्थमा माया नहुने हो भने उसका लागि पनि एकोहोरो मायाको सोच उनका शब्दमा पलाएको छ । यस गीतलाई सुरेश अधिकारीले संगीत दिएका छन् भने स्वरुपराज आचार्यले स्वरबद्ध गरेका छन् । यस गीतको म्यूजिक भिडियोलाई आलोक नेम्वाङले निर्देशन गरेका हुन् भने भुषण पोखरेल र झरना बज्राचार्यले अभिनय गरेका छन् । साथमा बालकलाकार सुदेश्नाको पनि अभिनय रहेको छ ।

त्यसैगरी किन किन टाँसिएर बसुँ बसुँ लाग्यो आज बोलको युगल गायन पनि यसमा समावेश गर्न सफल छन् देवेन । दुर्गा खरेल र दिपक लिम्बुको स्वर रहेको यस गीतमा अर्जुन पोखेरलको संगीत रहेको छु । यस गीतको म्यूजिक भिडियो सहेन्द्र श्रेष्ठले निर्देशन गरेका हुन् भने हर्षिका र किरणले अभिनय गरेका छन् । विवाह पूर्व प्रेमी प्रमिकाबीचको सम्वादलाई उनले यस गीतमा प्रस्तुत गर्न सफल भएका छन् ।

the pen deven

लुट्नु रैछ फकाएर लुट्यौ
छुट्नु रैछ सताएर छुट्यौ
लुटिँदा रोएँ छुटिँदा रोएँ
आँसुका सबै मूल सुकाएर रोएँ
नारी पीडामा आधारित रहेको यस गीतमा एउटा अस्मिता लुटिएकी नारीको चित्कारलाई प्रस्तुत गरिएको छ । एउटा प्रेमीको स्वार्थ पूरा भएपछि छोडिएकी नारीको सम्वेदनामा उनका शब्दहरु कोरिएका छन् । प्राय समाजमा भइरहेका वियोगका गीतहरुमध्ये उनको यो गीत पनि एक सशक्त बन्न सफल हुने देखिन्छ । यस गीतलाई महेश खड्काले संगीतबद्ध गरेका छन् भने रजिना रिमालको स्वरले अझ पीडादायी बनाइदिएको छ । यस गीतको म्यूजिक भिडियो चलचित्र पत्रकार सुव्रत आचार्यले निर्देशन गरेका हुन् भने यस गीतमा प्रदीप, नीता ढुंगाना र बालकलाकार सुदेनको अभिनय रहेको छ ।

the pen deven giri

देश बने पो हामी बन्छौं एक्लै बनेर के अर्थ हुन्छ र ?
देशै नांगियो भने हामी झाँगिएर के अर्थ हुन्छ र ?
पछिल्लो समयमा मुलुकमा व्यक्तिगत स्वार्थले गाँजिरहेको राजनीतिले गर्दा परदेशिएका बेरोजगार युवाहरुको पीडामाथि उजागर भएको देखिन्छ उनका कलमहरु । आफ्नो देश र भुगोल भन्दा अर्काको देशमा गएर काम गर्दा कत्तिको पीडा हुन्छ भन्ने उनका शब्दले उल्लेख गरेको छ । हामी व्यक्तिगत स्वार्थभन्दा माथि उठेर अघि बढ्नुपर्छ, आफ्नो स्वाभिमान बेच्नु हुँदैन देशकै लागि लड्नुपर्छ भन्ने उनका गीतका शब्दहरुलाई राजु सिंहले संगीतबद्ध गरेका छन् । यस गीतलाई रामकृष्ण ढकालले स्वरबद्ध गरेका छन् भने यस गीतको म्यूजिक भिडियोलाई प्रदीप कस्पालले निर्देशन गरेका छन् । यस गीतमा राजेश हमाल र देवेन गिरीका पुत्र सुदेन गिरीका साथमा कलाकार किरण मानन्धरको अभिनय रहेको छ । द पेन एण्ड देवेन एल्बमलाई देवसूची क्रियशनले बजारमा ल्याएको हो ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु