भुमरीले आफ्ना रचना सुनाए

म्यूजिक खबर
प्रकाशित: २८ असार २०७२, सोमबार

रोल्पा । गीतकार एवम् कवि भावेश भुमरी शनिबार रोल्पाका साहित्यकारमाझ उपस्थित भए । यहाँ आयोजित कार्यक्रममा उनले आफ्ना गीत र कविताहरु सुनाए । ललित साहित्य परिषद्ले आयोजना गर्दै आएको एकल रचना वाचनको १४ औं शृङ्खलामा उनले आफ्ना रचना सुनाएका हुन् ।

लिबाङस्थित रोल्पा गेष्टहाउसमा आयोजित कार्यक्रममा उनले आफ्ना २४ वटा गीत र ४ वटा कविता सुनाएका थिए । पहिलो चरणमा उनले ५ वटा राष्ट्रिय गीत सुनाए । त्यसपछि रमेश सुवेदीले भुमरीको व्यक्तित्व परिचय दिएका थिए । व्यक्तित्व परिचयको क्रममा सुवेदीले उनको प्यूठानदेखि काठमाडौंसम्मको संघर्षशील जीवन यात्राको आरोह अवरोह जानकारी गराएका थिए । त्यसपछि भुमरीले विभिन्न गीतहरु सुनाए । २४ वटा गीत सुनाइकेपछि अन्त्यमा भुमरीले ४ वटा गद्य कविताहरु सुनाए ।

bhavesh bhumari_sabita1

वाचित रचनाहरुको समीक्षा गर्दै डी.बी. टुहुरोले गीतहरुको तुलनामा कविताहरु सशक्त भएको बताए । भूमरीले राष्ट्रियता, सामाजिक विषयवस्तु, संयोगान्त, वियोगान्तजस्ता विषयवस्तुलाई एकै बसाइँमा रचना मार्फत् प्रस्तुत गरेका टुहुरोले बताए । समग्र कार्यक्रमको समीक्षा साहित्यकार नारायण आचार्यले गरेका थिए । आफ्नो जीवनकै पहिलो एकल रचना वाचन भएको भन्दै भुमरीले खुसी व्यक्त गरे ।

परिषद्का उपाध्यक्ष लोक आलोकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता ओम के.सी.ले गरेका थिए भने सञ्चालन महासचिव नवीन लोचनमगरले गरेका थिए । कार्यक्रमको अन्त्यमा परिषद्का अध्यक्षले भुमरीलाई एकल रचना वाचन सम्पन्न भएको प्रमाणपत्र र आजीवन सदस्यताको प्रमाण पत्र प्रदान गरेका थिए ।

bhavesh bhumari1

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु