भूगोल त्यागेर नेपाली बनेका गीतकार

म्यूजिक खबर
प्रकाशित: १२ चैत्र २०७२, शुक्रबार

नेपालीभाषा बोलेकै भरमा जन्मिएको भूगोल त्याग्नुपर्दाको क्षण कस्तो होला हामी कसैले पनि सोच्न सक्दैनौं । हामी नेपालमा छौं नेपाली हौं भनेर गर्व गर्न पछि पर्छौं तर म नेपालीभाषी हुँ नेपाली नै बोल्छु भन्दा देश निकाला हुनेहरु आज धेरै छन् । भुटानमा जन्मिएर आफ्नो थातथलो छाड्नुपर्दाको पीडा बोकेका गीतकार हुन् हरि उप्रेती । सानै उमेरमा भूगोल त्यागेर नेपालमा शरणार्थी बनेका गीतकार हरि उप्रेतीसँग नेपाली माटोको साइनो छ । भुटानमा २०३४ सालमा जन्मिएका उप्रेती २०४७ सालमा नेपालीभाषी भएकै कारण देशनिकाला हुनुपरेको थियो । सानैमा जन्मभूमि छोड्दाको पीडा र नेपालमा शरणार्थी बनेपछिको १८ वर्षको अनुभवलाई समेट्दै गीतकार उप्रेतीले गीतिसंग्रह करुणा तयार गरेका छन् । आफ्नो भाषा र संस्कृतिकै कारण जीवनलाई दुःखमा परिणत गर्नु परेकाले त्यसको संरक्षणका निम्ति थप उर्जा दिलाउन करुणा तयार भएको गीतकारको भनाई छ ।

hari upreti1
कहिले खुल्ला आकाशलाई घरको छानो बनाएर, ढुङ्गाको शिरानी लगाउँदै धर्ती ओछ्याएका गीतकार उप्रेतीले दुई दशक कहालीलाग्दो जीवन बिताउँदाको क्षणलाई गीतमा बदलेका छन् गीतकार उप्रेतीले । तिनै दर्द र वेदनाहरुलाई गजल र गीतमार्फत विभिन्न सामाजिक सञ्जालमा पोख्दै आएका गीतकार उप्रेतीले नेपालबाटै एसएलसीदेखि स्नातकोत्तर सम्मको उच्च शिक्षा हासिल गरी नेपालका विभिन्न विद्यालय तथा कलेजमा प्र्राध्यपनसमेत गरे । शरणार्थी हुनुको पीडामा नेपाल छिरे पनि उनले नेपालीपन र नेपालीमन बोकेर नेपालकै खातिर काम गरिरहँदा धेरै उतार चढाव बेहोर्नु प¥यो । अहिले पुनर्वासको सिलसिलामा अमेरिका पुगेका गीतकार उप्रेती नेपालको भाषा, साहित्य र कला संस्कृतिको संरक्षणका निम्ति संघर्ष निरन्तर रुपमा लागिपरेका छन् ।

विभिन्न सामाजिक कार्यमा आफूलाई समर्पित गरिसकेका गीतकार उप्रेती यतिबेला भने ग्लोबल भुट्नीज कम्यूनिटी कोलोराडो र ह्यूमनहोप फाउनडेसनका संस्थापकसमेत हुन् । धर्म संस्कृतिको संरक्षणका खातिर स्थापना भएको वैदिक सनातन भजन मण्डलीका संसथापक सदस्य समेत रहेका गीतकार उप्रेतीले संगीतलाई भावना र मनोरञ्जन मात्र नभई जीवनदर्शनको मार्ग निर्देशकको रुपमा पनि लिएका छन् । गीत र संगीतका माध्यमबाट माया प्रेम, दुख, दर्द, सद्भाव र जीवनको अमूल्य दर्शन प्रवाहित हुन्छ भन्ने कुरामा विश्वस्त रहेका गीतकार उप्रेती संगीतबिनाको मानिस निरस हुन्छ भन्छन् ।

hari upreti
जुनसुकै उमेरका व्याक्तिलाई जीवन जीउन सिकाउने एक मात्र साधन गीतसंगीत नै हो । यसले आफ्नो पहिचान आफ्नो संस्कृतिलाई उजागर गर्दछ भने जीवनलाई मनोरञ्जनपूर्ण वातावरणमा जीउन सिकाउँछ गीतकार उप्रेती भन्छन् । नेपाली संगीतको उत्थानमा लागेको उप्रेतीले नेपाली माटो सुहाउँदो गीतसंगीतलाई प्राथमिकतामा राख्ने गर्दछन् । उनी भन्छन् जन्मले भूगोलको सीमा फरक भए पनि कर्मले नेपालीपनलाई नै आत्मसात गरेको छ, नेपाली माटोलाई नै माया गर्न सिकाएको छ । सुगम संगीतको क्षेत्रमा आफूलाई एउटा खुड्किलोमा उभिने प्रयास गरिरहेका गीतकार उप्रेतीको एकल रचना र विकास चौधरीको एकल संगीतमा ‘करुणा’ नामक गीतिसंग्रह पनि बजारमा आउन लागेको छ । नेपालका चर्चित गायक गायिकाको स्वर रहेको गीतिसंग्रह करुणालाई सबल बनाउन जीवनका हरेक सुख दुखमा साथ दिने जीवनसंगीनी राधिका उप्रेती र छोरीहरु लिला, लक्ष्मी उप्रेतीको महत्वपूर्ण देन रहेको बताउँछन् । त्यस्तै आधुनिक गीतिसंग्रहलाई प्रकाशन गर्न पुरुषोत्तम फुयाल र नवराज श्रेष्ठको सहयोगले आफूलाई गीतकारको श्रेणीमा उभ्याउन सकेको गीतकार उप्रेती बताउँछन् । नेपाली माटोको गन्ध विदेशको जुन कुनामा गए पनि आउँछ उनले भने मलाई गीतकार गीतकवितामा लाग्ने प्रेरित गर्ने भूगोल नै नेपाल हो जहाँ मैले बाल्यकालमा शरणार्थी भएर बस्दाको पीडाभित्र नेपालको उर्जाशील वातावरण मिलेको थियो । म जहाँ गए पनि नेपालीपनमा बाँचेको हुन्छु र नेपालीमन बोकेको हुन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु