‘भ्यू बढाउन र पैसा कमाउनकै लागि यूट्यूबेहरुले धेरै विकृति भित्र्याए’

म्यूजिक खबर
प्रकाशित: २८ फाल्गुन २०७४, सोमबार

 

नरहरि प्रेमी, गायक तथा संगीतकार

नामै नरहरी प्रेमी, प्रेमी चाहिं कसको नि ?
मलाई जसले माया गर्नुहुन्छ, उहाँहरु सबैको लागि म प्रेमी हुँ ।

पछिल्लो समय के मा व्यस्त हुनुहुन्छ ?
गीत संगीत रेकर्डिङमै लगायत श्रुति संगीतको सञ्चालनका नियमित काममा व्यस्त छु । सामान्यतया सांगीतिक जीवनयापन गर्दैछु ।

श्रुति संगीतको स्थापनाताकाको समयमा फर्केर केही बताइदिनुस् न ?

मैले भन्न चाहेको कुरालाई प्रश्न गरिदिनु भयो धन्यवाद । धेरै पहिला गीत गाउन भनेर नवलपरासीबाट काठमाडौं भित्रिएको मान्छे म । भाका–१ एल्बम निकालें । त्यो समयमा बजार व्यवस्थापन र प्रचार प्रसार गर्न कम्तीमा १ वर्षको समय लाग्थ्यो । मलाई एल्बम निकालेपछि अब त्यो १ वर्षको समयमा के गर्ने त भन्ने लाग्यो । अर्को गीत निकालौं कम्पनीले लगानी तत्काल नगर्ने के गरौं कसो गरौं भन्ने भयो । भाका–१ को उखुबारीमा माया भेट्न आउनु है रातो सारीमा ले चर्चा पाइरहेको थियो, मेरो र गायक तथा संगीतकार शान्तिराम दाईको नाम राखेर बागबजारमा एउटा संगीत विद्यालयले विद्यार्थी भर्ना ग्िररहेको रहेछ, पछि यो कुरा थाहा पाएपछि श्रुती संगीतको सोच आयो , र कुनै न कुनै ढङ्गले संगीतमै सक्रियता रहोस् भन्ने उदेश्यल ेस्थापना भयो ।

त्यतिबेलाको सोच र उद्देश्य अहिले पूरा भयो त ?
सन्तुष्ट छु । संगीतमै सक्रिय रहन्छु भन्ने मेरो उदेश्य भएको मान्छे, यो क्षेत्रबाट निराश हुनु परेन, अहिलेसम्म संगीतमै सक्रिय रहन पाएको छु । सँगसँगै श्रुती संगीतलाई पनि १२ भन्दा बढी शाखामा बिस्तार गर्न सकेका छौं । स्रष्टालाई सम्मान गर्ने परम्परा बसाएका छौं । यो क्षेत्रबाट सन्तुष्ट छु ।

श्रुति संगीतमा निःशुल्क शिक्षा पनि पाइन्छ रे नि ?
संगीतप्रति त्याग गर्न सक्ने तर विपन्नताका कारणले पछि परेका प्रतिभाहरुलाई हामीले निशुल्क शिक्षा दिंदै आएका छौं । यदि हजुरको नजरमा पनि आर्थिक हैसियतकै कारण पछि परेका कोहि देख्नु भएको छ भने निश्चय पनि १ जना हैन एकैचोटी १० जनासम्म सिफारिस गर्न सक्नुहुन्छ, त्यसकालागि हामी तयार छौं । निशुल्क शिक्षा मात्र हैन, गीत नै रेकर्ड पनि गराइदिनेछु ।

प्रेमीसँग फ्यानहरु कत्तिको पछि लाग्छन् नि ?
कतिपय भन्न खोजिएका उत्तर भन्न सक्दैनन् । यदि कतैले मलाई कसैले मन पराइरहनु भएको छ भने मलाई होइन मेरो व्यक्तित्वलाई मन पराउनु भएको हो । त्यसैले मैले मेरो व्यक्तित्वलाई धोका दिनु हुँदैन, नरहरिले भित्रि नरहरिलाई धोका दिन चाहँदैन । फ्यानहरुलाई लभ यू…

तपाईंको विचारमा अहिलेको संगीत क्षेत्र कहाँनेर छ होला ?
संगीत अथाह सागर हो । संगीतका ठूलाठूला व्यक्तिहरुले विद्यार्थी भन्नुहुन्छ भने म नरहरि प्रेमीले गुरु भन्नै मिल्दैन । संगीत कहाँ छ भन्ने सन्दर्भमा संगीत विश्वव्यापी भइरहेको छ । यसका बाबजूत चुनौति पनि धेरै छन् । पाइरेसीको चुनौति विश्वमा नै देखिएका अवस्था छ भने हामीमाझमा त सामान्य देखिन्छ । चुनौतिसँगै धेरै फाइदाहरु पनि छन् । यसलाई व्यवस्थित बनाएर लैजाने प्रक्रियामा हामी पनि लागिरहेका छौं । सबैको सहयोग र समर्थन रहेकै छ चिन्ता लिनु पर्ने अवस्था छैन चिन्तन गर्ने अवस्थामा छ ।

गीतसंगीतमा विकृति फैलिँदै गर्दा सेन्सर लागू हुनुपर्छ भन्ने लाग्दैन ?
यो साह्रै राम्रो प्रश्न हो । कस्ता विकृति शैलीका गीतहरु हावी भएका छन् । केही यूट्यूबेहरुले भ्यू बढाउन र पैसा कमाउनकै लागि त्यस्तो विकृतिहरु फैलाएका छन् । स्टेजमा समाजलाई पाच्य नहुने प्रस्तुतिहरु दिने गरेका छन् । यस विषयमा गम्भीरतापूर्वक हामी लागिरहेका छौं । विकृति धेरै नै हावी छ, आँधी चलिरहेको बेला एकचोटी त पक्कै रोकिन्छ भन्ने सोचौं । हामी पनि त्यस विषयमा छलफल गरिरहेका छौं ।

तपाईं गायक र संगीतकार के भन्न रुचाउनुहुन्छ ?
पहिला त अगाडि देखिने भएपछि गायक नै भन्न रुचाउँछु । जति गायक गायिका, हिरो हिरोइनको अन्तरवार्ता लिइएको हुन्छ त्यति संगीतकारको लिइँदैन । तर पनि संगीतकार भन्नमा लाज होइन, गायक बन्न भनेर आएको हुँदा गायक नै भन्न रुचाउँछु । हुन त म आफैं गीत लेखेको छु, संगीत पनि भरेको छु ।

तपाईले सिकाएका प्रशिक्षार्थीहरु को कहाँ पुगे भनिदिनुस् न ?
धेरै छन् यहाँ सिकेका तर सबैले यहाँ मात्र सिकेका हुँदैनन् । अरु ठाउँमा पनि सिकेका हुन्छन् त्यसैले श्रुतिमा नै सिकेर यस्तो भए भन्ने ठाउँ छैन । धेरै चलेका व्यक्तिहरु छन् जसले श्रुतिमा सिक्दा मसँग मात्र सिकेका हुँदैनन् अरु गुरुहरुसँग पनि सिकेका हुन्छन् । जस्तो प्रमोद खरेल पनि सुरुका दिनमा यहाँ सिक्नु भएको थियो । पछिल्लो समय दिपक शर्मा, कृष्ण काफ्ले प्राश्ना शाक्यदेखि सुमिना लोसम्म आउँदा धेरैले सिकेका छन् । जहाँ सिकेको भए पनि त्यहाँ हजारौंले सिकेका हुन्छन् तर एक दुई जना मात्र चर्चामा आउँछन् । गुरुले त बाटो मात्र देखाउने हो बाटो हिंड्ने त विद्यार्थी मात्र हो नि । श्रुतिमा मात्र होइन जहाँ सिके पनि विद्यार्थीमा निरन्तरता, इच्छाशक्ति हुनु पर्छ ।

श्रुति संगीत विद्यालयमा अहिलेसम्म कतिजनाले शिक्षा लिएका छन् भन्न मिल्छ ?
फेरि किन दुई चार जनाको नाम आयो वा दुई चार जना मात्र आए भन्नु होला । अहिलेसम्म हाम्रो डाटामा १२ सयदेखि १५ सयसम्मको भिजिट होला । कति जना समयको कारणले यहाँ छोटो समय सिक्नु भएको होला भने कोही लामो समयसम्म यहाँ संगीत सिकेर आफ्नो करिअर बनाउनु भएको छ । संगीतलाई योग, आध्यात्मा र विज्ञान जोडेर सिक्नुस् पक्कै पनि गायक बन्नुहुन्छ यदि त्यो नभए नालायक चाहिँ पक्कै बन्नुहुन्न ।

पहिलो विद्यार्थी को थियो श्रुति संगीतमा ?
गायक मेघ लामा पनि हुन् । उनी सुरुमा व्यवस्थापनमा मलाई सघाउँदै आए । तर पहिलो विद्यार्थी नै भन्नुपर्दा बलराम सापकोटा थिए । मेरो भतिज पनि थिए, जसले मलाई सघाउनका लागि यहाँ आएका थिए । उनी गायक बन्न आएका थिएनन् अर्कै विषयमा थिए तर पनि सहयोगका लागि साथीहरु जुटाउँदै आएका थिए । अहिले विदेशमा छन्, म्यूजिककै कारण फ्रेस हुन्छु भन्छ । जसले गर्दा अहिलेसम्म पनि बलरामले श्रुतिको हरेक कार्यक्रममा सहयोग गरिरहेका छन् ।

प्रशिक्षक चाहिँ को–को हुनुहुन्छ नि ?
गुरुहरु विभिन्न विधाका हुनुहुन्छ, कहिलेकाहिँ म आफैं पनि स्पेशल कक्षाहरु लिने गरेको छु । म आफू गाउने, अन्य कार्यक्रमहरुमा धाउने गर्छु त्यसैले अन्य गुरुहरुलाई पनि त्यो ठाउँ मिलेको छ । यहाँ गीटार, हारमोनियम, मादल लगायतका वाद्यवादन र भोकलका कक्षाहरु लिने गरिन्छ ।

तपाईं त राम्रो क्यारिकेचर गर्ने मान्छे, क्यारिकेचर पनि सिकाउनुहुन्छ की ?
त्यस्तो कक्षा नै त लिइँदिनँ, तर मान्छे जिन्दगीमा सधैं हाँसेर बाँच्नुपर्छ । हाँसेर बाँच्नका लागि बेला बेलामा मैले यसरी मनोरञ्जन दिएर कक्षाहरु लिनुपर्छ भन्ने चाहिँ लाग्छ ।

स्टेजमा चाहिँ कत्तिको गर्नुहुन्छ नि क्यारिकेचर ?
सन्दर्भअनुसार त्यो त दिनै पर्छ नि । ठाउँ, समय, समाज हेरेर मेरो प्रस्तुति दिने काम हुन्छ । श्रद्धान्जलीसभामा क्यारिकेचर ग¥यो भने पक्कै नि पाच्य हुँदैन । त्यसैले देश काल परिस्थितिअनुसार मैले प्रस्तुति दिने गर्छु ।

अहिलेसम्म बिर्सन नसकेका केही क्षण छन् की ?
मन पर्ने चिज एउटा भन्नु भन्दा धेरै हुन्छन् । सन्दर्भअनुसारका धेरै घटनाक्रम छन् । याद आयो पर्मफमिङ आर्टको बारेमा भन्दा राष्ट्रिय नाटक महोत्सव २०५२ मा मैले मुख्य क्यारेक्टर भएको नाटक ‘नाम नभएको मान्छे’ मा सर्वोत्कृष्ट कलाकार घोषित भएको थिएँ । म आफैंले लेखेको निर्देशन गरेको नाटक ‘पागलहरुको बीचमा एक्लो मान्छे’ सडक नाटक गर्दै जाँदा एउटा बजारमा पुग्यौं र सुरु ग¥यौं तर मान्छे हेर्न आउँदै आउँदैनन् । डोनरले पैसा दिइसकेका छन्, उनीहरु पनि सँगै हेर्दै हिंडेका छन् । तर कोही पनि नआउँदा हामीले सोच्न बाध्य भयौं । मैले नकारत्मकलाई सकारात्मकतामा ढाल्ने प्रयास गरें र दुईजना क्यारेक्टरबीचमा झगडा सुरु गराएँ । एकछिन पछि मान्छेको भीड लाग्यो झगडा हेर्न अनि हामीले यो नाटकको अंश मात्र थियो अब ‘पागलहरुको बीचमा एक्लो मान्छे’ पूरा नाटक हेर्नुहोस् भनेर नाटक देखाएका थियौं । त्यसमा हामी सफल भएका पनि थियौं ।
प्रस्तुतिः सविता पोखरेल

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु