मध्य र सुदूरमा किन जाँदैछन् स्रष्टाहरु ?

म्यूजिक खबर
प्रकाशित: ६ फाल्गुन २०७१, बुधबार

काठमाडौं । सामान्य रुपमा बुझ्दा पनि मध्य र सुदूरपश्चिमाञ्चलतर्फ स्रष्टाहरु यही फागुन १६ गते हुने कार्यक्रममा जाँदैछन् भन्दा हुन्छ । तर त्यति मात्र होइन नेपालको विकासले छुन नसकेका सुदूरपश्चिमाञ्चल क्षेत्रमा स्रष्टाका सिर्जनाले भने राम्रै छुने भएकाले सिर्जनाका माध्यमले अझ फराकिलो बनाएर केन्द्रसम्म जोड्ने नीतिमा स्रष्टाहरु त्यहाँ जान लागेका हुन् ।
मध्य तथा सुदूरपश्चिमाञ्चल स्तरीय बृहत स्रष्टा भेला नाम दिइएको स्रष्टाहरुको भेलाले दाङको घोराहीमा केही दिन बहस, अन्तरक्रियालगायत मध्य र सुदूरपश्चिमाञ्चल क्षेत्रमा रहेका स्रष्टाको नालेबेली पनि खोतल्ने जमर्को गर्ने योजनामा रहेको छ । गीतकार संघ नेपालको आयोजनामा हुन लागेको यस कार्यक्रममा स्रष्टाहरुले आफ्ना प्रतिलिपी अधिकार, रोयल्टी र मोफसलबाट केन्द्रसम्मको कनेक्सन गर्न लागेको हो ।
फागुन १६ मा हुन घोराहीमा हुन लागेको यो बृहत स्रष्टा भेलामा मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रमा रहेका संगीतकर्मीहरुको अवस्थालाई मध्यनजर गर्दै दाङकै स्रष्टा संगीतकार सन्तोष श्रेष्ठले मध्य र सुदूरपश्चिम क्षेत्रको आधुनिक गीतको सांगीतिक अवस्था शीर्षकमा कार्यपत्र प्रस्तुत गर्न लागेका छन् भने उक्त कार्यपत्रमाथि सुदूरपश्चिमकै संगीतकार एवं गायक तिलक सिंह पेलाले टिप्पणी गर्ने भएका छन् । स्रष्टाहरुको बृहत छलफल तथा कार्यपत्र प्रस्तुत गर्ने यस कार्यक्रममा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सहकार्य गर्ने भएको गीतकार संघ नेपालका महासचिव शुभ मुकारुङले म्यूजिकखबरलाई बताए ।
त्यस्तै दोश्रो कार्यक्रमका रुपमा प्रतिलिपि अधिकार, रोयल्टी एवं गीतकार संगीतकारले भोग्नु परेको पीडा र सम्बन्धित स्रष्टाको अधिकार सुरक्षित कसरी बनाउने, लेख्ने मात्रै की अब त्यसबाट केही लिने पनि भन्ने कुरालाई प्रष्ट पार्न लागिएको छ । जुन कार्यक्रम प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयको सहकार्यमा हुन लागेको र यसको सहआयोजकका रुपमा संगीत रोयल्टी संकलन समाज र प्रस्तोता समाज रहने भएको गीतकार संघ नेपालका उपाध्यक्ष विपिन किरणले जानकारी दिए । यस कार्यक्रममा स्रष्टाको हकअधिकारका बारेमा नै बढी केन्द्रित रहेर अन्तरक्रिया हुने बताइएको छ ।

ghorahi dang musickhabar
त्यसैगरी कपिराइटस्का बारेमा लिखित कार्यपत्र प्रस्तुत हुने र रोयल्टीका बारेमा बृहत अन्तरक्रिया हुने बताइएको छ । दाङका लागि स्थानीय संयोजकका रुपमा राप्ती साहित्य परिषद्ले भूमिका निर्वाह गरेको छ भने प्रचार प्रबद्र्धकको रुपमा भने नेपाल पत्रकार महासंघ दाङ शाखा रहेको छ ।
मध्य र सुदूरपश्चिमलाई नै किन केन्द्रित गरियो भन्ने बारेमा चाहिँ गीतकार संघका अध्यक्ष योगेन्द्रमणि दाहालले अब स्रष्टाहरु लेख्ने मात्रै होइन लेखेर पनि बौद्धिक सम्पत्तिको सुरक्षा हुने प¥यो र त्यसबाट केही न केही लिन सक्नुप¥यो भन्ने उद्देश्य एकातिर रहेको र अर्कोतिर केन्द्रमा भन्दा पनि मोफसलमा बढी चेतना जगाउन सकियो भने बौद्धिक सम्पत्तिको सुरक्षा हुने बताए । दाहालले स्रष्टाहरु केन्द्रिकृत भएर गाउँमा, बस्तीमा रहेको आफ्नो सिर्जनालाई सम्मान गर्न नसकिरहेको अवस्थामा यो बृहत भेलाले मध्य तथा सुदूर पश्चिमका स्रष्टाहरुसँगको सिधै समन्वय, भेटघाट हुने हुनाले स्रष्टाहरुको आत्मीयता बढ्ने बताए । ती ठाउँमा रहेका स्रष्टाहरु र केन्द्रमा रहेका स्रष्टाहरुबीचको भेटघाटले एकातिर सम्बन्धलाई मजबुत बनाउँछ भने अर्कोतिर ती क्षेत्रको गीतसंगीतको अवस्थाबारे पनि प्रष्ट हुने र रोयल्टी एवं प्रतिलिपी अधिकारको बारेमा सुसूचित गराउन यो भेलाको आवश्यकता रहेको दाहालले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु