मन्त्रीले गीत गाएर सुरु भयो रनिङ शिल्ड

म्यूजिक खबर
प्रकाशित: २४ चैत्र २०७२, बुधबार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आयोजनामा आजबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको अन्तर दोहोरी साँझ रनिङ शिल्ड उद्घाटन गर्न गएका नेपाल सरकारका सूचना तथा सञ्चार मन्त्री शेरधन राईले पूर्वेली लोकगीत गाउँदै दोहोरी गीत रनिङ शिल्डको सुरुवात गरे । कार्यक्रमका प्रमुख अतिथि राईले गायक तुलसी पराजुलीले गाएको खोटाङ जिल्ला दिक्तेल बजारगीत गाएर कार्यक्रमको उद्घाटन गर्दा कार्यक्रममा सहभागीहरु वास्तविक दोहोरी गीत बुझेको मन्त्री भन्दै अब दोहोरीका लागि सरकारबाट केही होला भन्ने आशा व्यक्त गरेका थिए । प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्माको अध्यक्षतामा सुरु भएको उक्त कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष अमर विरही गुरुङ, पूर्व अध्यक्षहरु प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, दुर्गा रायमाझी, प्रतिष्ठानका सल्लाहकार नारायण रायमाझी, आरसी कोइराला लगायतका प्रतिष्ठित कलाकारहरुको सहभागीता रहेको थियो ।

dohori running sheild
अन्तर दोहोरी साँझ लोक तथा दोहोरी गीत रनिङ शिल्डको दोस्रो वर्षको कार्यक्रमको सुरुवातमा बोल्दै अध्यक्ष चन्द्र शर्माले लोक तथा दोहोरी गीतको क्षेत्रमा सरकारले केही नगरेको भए पनि व्यक्ति र संस्थाकै पहलमा भए पनि सबैभन्दा धेरै सदस्य र शाखा भएको ठूलो संस्था बनाउन सफल भएकोमा खुशी व्यक्त गरे । माटोको गीत लोक गीत हो, लोकगीत गाउने आँसु कवि हुन् शर्माले कार्यक्रमलाई सम्बोधन गर्दै भने यो रनिङ शिल्ड लोकदोहोरी क्षेत्रका लागि सबैभन्दा महत्व बोकेको प्रतियोगिता हो ।

त्यस्तै गायिका कोमल वलीले कार्यक्रममा महिलाहरुको प्रतिनिधित्व गर्दै मन्त्री राईलाई व्यंग्य पनि गरिन् दिनदिनै नेपाल सरकारका सूचना तथा सञ्चार मन्त्री शेरधन राई भनेर समाचार पढ्छु तर मन्त्रीले कोमल वली नै नचिनेपछि कसको के लाग्दोरहेछ र ? वलीले कहिल्यै पनि ढाँट्दैन गायिका वलीले भनिन् चाहे केपी वली होस् वा कोमल वली अब लोकदोहोरीका लागि सरकारले के गर्छ ? सेलीब्रेटी कार्ड बाँड्न लाग्नुभएका मन्त्री राईले अब कसलाई सेलीब्रेटी भन्नुहुन्छ ? यसको प्रक्रिया के हो ? लोकदोहोरी गाइरहेको कलाकारका अगाडि कतिजना मान्छे हुन्छन् त्यो सरकारले बुझ्नुप¥यो अनि मात्र सेलीब्रेटी को रहेछ भन्ने थाहा पाउनुहुन्छ भन्दै मन्त्री शेरधन राईप्रति इंकित गर्दै भनिन् ।

कार्यक्रममा प्रस्तोता समाजका अध्यक्ष हेमन्त शर्मा, प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष बद्री पंगेनी, पूर्व अध्यक्ष प्रजापति पराजुली, सल्लाहकार नारायण रायमाझी लगायतले लोकदोहोरीको विकास, संरक्षण एवं विस्तारका बारेमा सबै क्षेत्रबाट एकजुट हुनुपर्ने भन्दै सरकारी क्षेत्रबाट त्यसको उचित मूल्यांकन गरी व्यवस्थापन हुनुपर्नेमा जोड दिएका थिए । उद्घाटन सत्रमा गायक मिलन लामाले माझीदाइ पोखरा फेवातालको गीत गाएर सबैलाई नचाएका थिए भने शंकर बिसी र पार्वती राईको जोडीले नृत्य प्रस्तुत गरेर दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

folk & duet songs

रनिङ शिल्डमा नेपालभरका एक सय २० वटा दोहोरी साँभहरुले सहभागी जनाउने छन् भने भोलीबाट २८ गतेसम्म दोहोरी साँझहरुको प्रतिस्पर्धा रहनेछ । रनिङ शिल्डमा उत्कृष्ट दोहोरी साँझले ५५ हजार ५ सय ५५ नगदसहित रनिङ शिल्ड जित्नेछ । प्रथम भएको दोहोरी साँझले एक वर्षसम्म रनिङ शिल्डलाई आफ्नो दोहोरीमा राख्न पाउनेछ भने त्यसपछि पुनः प्रतिष्ठानलाई फिर्ता गर्नुपर्नेछ । दोस्रो हुनेले ३३ हजार ३ सय ३३ र तेस्रो हुनेले २२ हजार २ सय २२ रुपैयाँ नगद सहित प्रमाणपत्र गिफ्ट ह्याम्परहरु जित्नेछन् । कार्यक्रमलाई ब्लु डायमन्ड ह्वीस्कीले मुख्य प्रायोजन गरेको छ भने विभिन्न संघसंस्थाहरु कार्यक्रममा आबद्ध भएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु