
१५ बैशाख, काठमाडौं । ज्वालामुखी गाउँपालिका–५ खरिमैदी जौबारी धादिङका बलबहादुर गुरुङ यतिबेला लोकगायनको क्षेत्रमा क्रियाशील छन् । मुटुभरि चोट बोलको गीतबाट ०६० देखि गायनमा प्रवेश गरेका बलबहादुरलाई गीत गाउने पेशा भन्दा पनि रहर थियो । नेपाली सेनामा जागिरे उनले जागिरसँगै गायनलाई अँगालेका थिए । गुरुङ परिवारबाट लाहुरे हुनु ठूलो थिएन तर उनी जागिरसँगैका सांगीतिक यात्रा एउटा ठूलो रहर थियो उनको मनमा । त्यसैले गीतसंगीतमा विशेषत लोकदोहोरीको क्षेत्रमा उनको यात्रा सहज रुपमा अगाडि बढ्दै गयो ।
गायक गुरुङले मुटुभरि चोट ०६० सालमा बजारमा ल्याएपछि पूर्णिमाको जून लागेझैं, किन हुन्छ्यौ ठूली, गुराँस फुलेसी बनै अर्को भयो, बिष घोलेर, बैंशालु जोवन सालैजो, तस्विर हेरेर जस्ता चर्चित गीतहरु बजारमा ल्याए । अहिले संगीतकर्ममा लागेको पनि १४ वर्ष भइसक्यो । नेपाली सेनाको जागिरकै सिलसिलामा उनले १२ वर्षपछि जागिर छोडेर गायनलाई मात्र आत्मसात गरे । गीतसंगीतकै नशाले उनले जागिर छाडेको बताउँछन् । जागिर र गीतसंगीत पनि परिपूरक नै हुन् भन्ने क्रममा गाउन सकिन्छ तर गाउनका लागि कतै कार्यक्रममा जान अलि असहज हुँदै गयो र गायनको नशाले जागिर त्याग्न बाध्य भएँ, गायक गुरुङ भन्छन् । अहिले उनी गुरुङ कलाकार संघको कार्यसमिति सदस्य समेत रहेर गीतसंगीतको क्षेत्रमा क्रियाशील छन् ।
पछिल्लो समय गायक गुरुङले ‘विछोड’ नामक वियोगान्त शैलीको लोकदोहोरी बजारमा ल्याएका छन् । मनमाया वाइवा र उनको स्वर रहेको विछोडमा उनले दिपासा बिसीसँग अभिनयसमेत गरेका छन् । बलबहादुर गुरुङकै संगीत रहेको उक्त गीतलाई गायक गुरुङ र सन्तोषी गुरुङले लेखेका छन् । रविन थापाको निर्देशन रहेको म्यूजिक भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका छन् ।