२४ असोज २०७४, काठमाडौं । मृगौला रोगबाट पीडित लोकप्रिय संगीतकार एवं गीतकार सुक गुरुङलाई साधना अनलाईन सांगीतिक समूहले गीतकार संघ नेपालको सहकार्यमा १ लाख ३६ हजार ४५ रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन् । गीतकार संघ नेपालले आफ्नै कार्यकक्षमा एक कार्यक्रमको आयोजना गरी उक्त सहयोग बुझेको हो । संघका अध्यक्ष चुडामणि देवकोटाले उक्त रकम बुझ्दै संगीतकार गुरुङलाई पोखरासम्म पु¥याउने बाचा गरेका थिए ।
विगत ३ बर्षदेखि मृगौला सम्बन्धी रोगबाट पीडित भई दुबै मृगौलाले काम नगरी सघन उपचारको क्रममा रहेका संगीतकार गुरुङलाई विभिन्न सङ्घ संस्था र गीत सङ्गीत प्रेमी व्यक्ति तथा समुहले उपचार खर्च जुटाउँदै आएका छन् । यसैक्रममा साधना अनलाईन सङ्गीत समुह र गीतकार सङ्घ नेपालको सहकार्यमा १ लाख ३६ हजार ६ सय ४५ रुपैया सहयोग उपलब्ध गराइएको हो ।
सुक गुरुङ नेपाली गीत सङ्गीतमा क्षेत्रमा नबिर्सने नाम हो । गुरुङ विगत ३ दशक देखि नेपाली गीति लेखनमा अनवरत साधनारत रहेका छन् । गीत लेखन मात्र नभएर सङ्गीत सिर्जनामा पनि उनी अब्बल रहेका छन् । उनका थुपै्र एकल एल्बमहरु बजारमा छन् । सिरानी, निवेदन, इसारा, सूचना जस्ता एल्बमहरु बजारमा प्रकाशित छन् ।
नयाँदेखि पुराना गायक गायिकाले स्वर दिएका उनका गीतमा अरुण थापा, कुन्ती मोक्तान, सुक्मीत गुरुङ, राजेशपायल राई, सुमित खड्का, शर्मिला वर्देवा आदि गायक गायिकाको स्वर छ । आखैँमा झलझली, छेक्यो छेक्यो देउराली डाँडा, भाईटिकामा भेट्न आउँला, माया यो माया, दोष कसैलाई दिन्न म, कात्रोमा गोजी हुँदैन जस्ता लोकप्रिय गीतहरु नेपाली स्रोता सामु दिइसकेका गुरुङ विगत ३ बर्ष देखि उपचारत रहेका छन् । उनको मृगौला मात्रै होइन दृष्टि पनि गुम्न गएको छ ।