मैले गीतबाटै संसार देखेको छुः सञ्जय

म्यूजिक खबर
प्रकाशित: १२ चैत्र २०७२, शुक्रबार

गीतसंगीत बिना जीवन जीउने मान्छे कहिँ पनि पाइँदैन । उमेर अनुसारको गीतसंगीतमा सबै मानिसहरु रम्ने गर्छन् भने कसैले आफ्नो पूरा जीवन नै गीतसंगीतमा समर्पित गर्छन् । बच्चा हुन् या बृद्ध समयअनुसारका गीतसंगीतमा आफूलाई सामाहित गर्दै जीवनलाई मनोरञ्जनपूर्ण बनाउँछन् । भनिन्छ नि, संगीतबिनाको मान्छे अधुरो र अपूरो हुन्छ । हो, त्यस्तै संगीतबिना बाँच्न नसक्ने व्यक्तिभित्र पर्छन् गायक सञ्जय फ्राउन्डफेल्डर पनि । उनी यो संसारलाई बाहिरी आँखाले नियाल्न सक्दैनन् तर भित्री आँखाले नै यो संसारको मूल्यांकन गरेका छन् । उनको गायकीमा एउटा मिठास छ, जहाँ उनले आफ्नो संसारलाई स्वरबाट देख्ने प्रयास गर्छन् ।

कोही मान्छेले धेरै गीत गाउँदैमा ऊ हिट हुने होइन र धेरै समयसम्म उसको नाम चर्चामा आउँछ भन्नु पनि छैन । तर गायक सञ्जयमा त्यो क्षमता छ कि एउटा गीतबाटै आफूलाई उचाइमा पु¥याउन सक्ने । उनको स्वरको मिठासमा तारिफ गर्नेहरु पनि धेरै छन् । उनले धेरै गीत गाएका छैनन् तर थोरैमा नै उनको परिचय स्थापित भएको छ ।

sanjay frauenfelder

उनले गाएको लोकदोहोरी गीत हो ‘म त फूलझैं ओइलिएर झर्न थालिसकेँ’ । विरही कार्कीको शब्द र लयमा मुना थापा र सञ्जयको स्वर रहेको गीत ‘म त फूलझैं ओइलिएर झर्न थालिसकेँ’ले लोकदोहोरीको क्षेत्रमा राम्रो चर्चा बटुल्यो । जहाँ उनको स्वरको माग संगीत उद्योगमा थियो । उनले गाएको उक्त गीतबाट ५ विधामा म्यूजिक खबर म्यूजिक अवार्ड पनि जित्न सफल भयो । उनले संगीत उद्योगमा डेब्यू अवार्ड पनि त्यही गीतबाट हात पारे । त्यसपछि उनको स्वरको डिमान्ड बढ्यो तर उनी स्वीट्जरल्याण्डतर्फ गइसकेका थिए ।


उनी पोखराका बासिन्दा हुन् तर उनको कर्मभूमि भने स्वीट्जरल्याण्ड हो । उनले नेपाल छाड्ने बेलामा आफ्नै जीवनसँग मेल खाने गीत रेकर्ड गरेर गएका थिए । त्यस गीतको म्यूजिक भिडियो पनि निर्माण भयो बजारमा आयो । त्यसपछि सञ्जय फ्राउन्डफेल्डर कस्ता व्यक्ति हुन् भन्ने धेरैले अनुमान गर्न थाले । उनी आफूलाई गीतसंगीतबाट नै संसार देख्ने अभिलासा राख्ने गर्छन् । जन्मदेखि नै आँखा नदेखेका उनले आफ्नो भाग्य आफैं लेख्न पाए यो संसारलाई हेर्न पाउँथे भन्ने गुनासो पनि गीतबाटै गरेका छन् । विरही कार्कीको लय र समुन बैरागीको शब्दमा रहेको आफ्नो भाग्य आफैं लेख्न पाए बोलको गीतले पनि सञ्जयको जिन्दगी झल्काएको छ । उनले गाएको दुई गीतले नै उनको स्वरको माधुर्यतालाई नेपाली संगीतको क्षेत्रमा पस्केको छ तर यतिले मात्र उनलाई पुग्दैन । उनी भन्छन् म निरन्तर गीतसंगीतमै लाग्छु, मेरो संसार नै नै त्यही गीतसंगीतभित्र अडेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु