राष्ट्रकविलाई दीर्घ साधना सम्मान, घिमिरेलाई म्यूजिक खबर सङ्गीत पत्रकारिता पुरस्कार

म्यूजिक खबर
प्रकाशित: २८ असार २०७३, मंगलवार

असार ३० गते सम्पन्न हुने म्यूजिक खबर म्यूजिक अवार्डका अवसरमा राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई दीर्घ साधना सम्मानबाट सम्मान गरिने भएको छ ।

राष्ट्रकविलाई पच्चिस हजार पाँच सय पचपन्न नगद सहित ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरिने छ । त्यस्तै म्यूजिक खबर सङ्गीत पत्रकारिता पुरस्कार पत्रकार रमण घिमिरेलाई प्रदान गरिने भएको छ । यसको राशी पाँच हजार पाँच सय पचपन्न रहेको छ ।

त्यस्तै गायिका कल्पना गुरुङ र कलाकार रमेशचन्द्र राईलाई म्यूजिक खबर डायस्पोरा संगीत सम्मान प्रदान गर्ने निर्णय भएको छ । त्यसैगरी बाल गायक डेकेन्द्र थापालाई ‘म्यूजिक खबर बाल प्रतिभा प्रोत्साहन’ प्रदान गर्न लागिएको छ ।

त्यस्तै लामो समयदेखि गीतसंगीतमा क्रियाशील गायक तिलक बममल्ललाई ‘म्यूजिक खबर सिङ्गर अफ दि डिकेड’ बाट सम्मान गरिने म्यूजिक खबर म्यूजिक अवार्डका अध्यक्ष सुमन बैरागीले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

3-madhav-prasad-ghimire

राष्ट्रकवि माधव प्रसाद घिमिरे

नेपाल साहित्यमा राष्ट्रकविको उपमा पाउनुभएको व्यक्तित्व हुनुहुन्छ माधव प्रसाद घिमिरे । आजभन्दा ९७ वर्ष अघि गण्डकी अञ्चलको लमजुङ जिल्लाको पुस्तुनमा जन्मिनुभएको घिमिरेले नेपाली साहित्यको विविध पक्षलाई उजागर गर्न उल्लेख्य भूमिका खुल्नुभएको छ । राष्ट्रकवि घिमिरे त्यसै राष्ट्रकवि हुनुभएको होइन । भाषा साहित्यको विकासमा उहाँले दिएको योगदान नेपाली साहित्यका लागि र हामी समग्र नेपालका लागि उल्लेखनिय छ । भाषाको मिठास एवम् जनजनमा भिज्न सक्ने सरल भाषामा लेखिएकोले उहाँको साहित्य एवम् साहित्यिक कृतिहरु लोकप्रिय भएका हुन् । सरल मिठासयुक्त, स्पष्ट लेखनका कारण उहाँका कृतिहरु हामीमाझ चर्चित बन्न सफल भएका हुन् ।
राष्ट्रकवि घिमिरेले हामीलाई स्तरीय साहित्यिक कृति प्रदान गर्नुभएको त छ नै उहाँका गीतहरु पनि उत्तिकै लोकप्रिय छन् । गौरी, मालती मंगले, हिमाल पारी हिमाल वारी, अस्वस्थामा, राजेश्वरी एवं शकुन्तला आदि उहाँका चर्चित कृतिहरु हो । साना–साना नानीहरुदेखि बृद्धबृद्धासम्म माधव घिमिरे चर्चित हुनुहुन्छ । राष्ट्रकवि घिमिरेले सरल भाषामा भावना पोख्ने भएकै कारण साना बालकदेखि बृद्धसम्मले उहाँको साहित्य जनजिब्रोमा टिप्न सकेका हुन् । जसका कारण घिमिरे सबैका सामु लोकप्रिय हुनुहुन्छ ।
घिमिरेले लेखेको सबै कृतिहरु चर्चामा छन् । शोककाव्यको रुपमा आएको कृति गौरी उहाँको अत्यन्तै चर्चित कृति हो । आफ्नी अर्धाङ्गीनी ‘गौरी’ को निधनबाट जसरी राष्ट्रकवि भावुक हुनुभयो त्यसैगरी सो कृति पढ्ने हरेक पाठक आँखामा टिलपिल आँसु बोकेर भावनात्मक बन्न पुग्नुहुन्छ । उहाँले लेखेको गीतिनाटक मालती मंगलेका गीतहरु मात्रै आफंैमा चर्चित बन्न पुगेका छैनन् कि नाटक पनि औधी रुचाइएको छ । साथै रङ्गमञ्चमा पनि नाटकले रेकर्ड राख्दै प्रदर्शन भएको थियो ।
राष्ट्रिय भावनाका साहित्यिक मोहकताका, प्रेममय अभिव्यक्तिका, भावनाको अतिरञ्जनमा उहाँका गीत पाइन्छन् । प्रेममय मिठास त भए नै आङै नै सिरिङ्ग पार्ने राष्ट्रिय बोधका गीत घिमिरेको पर्यावाची हुन् । राष्ट्रकविका नेपाली हामी रहँुला कहाँ नेपालै नरहे, गाउँछ गीत नेपाली, लाग्दछ मलाई रमाइलो, फूलको थुंगा बगेर गयो गंगाको पानीमा, आजै र राति के देखेँ सपनी, सारङ्गी त रेटे पनि जस्ता सयौं गीत चर्चामा छन् ।
अग्रणी पुस्ताका नातीकाजी, शिवशंकर, अम्बर गुरुङदेखि अहिलेका सङ्गीतकार सन्तोष श्रेष्ठसम्म पनि उहाँको गीतलाई सङ्गीत दिलाउने सर्जक उहाँको रोजाइमा पर्दैमा आएका छन् । नारायण गोपालदेखि अहिलेका युवा पुस्तासम्मले उहाँको गीतमा मिठासपूर्ण स्वर भर्न पाएका पनि छन् ।
राष्ट्रकवि मावधप्रसाद घिमिरेको नेपाली साहित्यमा अतुलनीय योगदान रहेको छ । जनजनमा भिज्ने राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई ‘पाँचौं म्यूजिक खबर म्यूजिक अवार्ड–२०७३’ को अवसरमा ‘म्यूजिक खबर दीर्घ साधना सम्मान–२०७३’ सादरपूर्वक समर्पण गरिएको छ ।

tilak bammalla

तिलक बममल्ल 
चर्चित गायक तिलक बम मल्लले सांगीतिक यात्राको औपचारिक थालनी चाड विशेष गीत गाएर सुरुवात गर्नुभएको थियो । मल्लले २०५३ सालमा ‘चैते दशै बाग्लुङ्गे मेलामा’ बोलको गीत गाएर औपचारिक सांगीतिक यात्राको सुरुवात गरेपछि निरन्तर रुपमा सांगीतिक क्षेत्रमा क्रियाशील रहनुभएको छ । बाग्लुङ्ग गलकोटमा जन्मिनुभएका मल्लले आफ्नो २० वर्षे सांगीतिक यात्राको दौरानमा ११ वटा एल्वम प्रकाशित गरिसक्नुभएको छ ।
मल्लको २०५४ सालमा प्रकाशित ‘पहाडी ठिटो’ नामक एल्वम नेपालमा सबैभन्दा धेरै बिक्री हुने एल्वमभित्र आफ्नो नाम लेखाएको छ । त्यसपछि उहाँको ‘भोटे ताल्चा’, ‘पिरती’, ‘सोल्टी’, ‘नमस्ते’ लगायतका एल्वम चर्चामा रहे । उहाँ गायक मात्रै नभएर संगीतकार तथा संगीत संयोजकको कार्यसमेत गर्नुहुन्छ । २०६७ सालमा गीतकार लिला नेपालको ‘चुकेनन् योद्धाहरु’ नामक एल्वममा संगीत संयोजन गर्नुभएको थियो । सोहि एल्वमका लागि उहाँ ‘वेष्ट अफ तिलक बम मल्ल–२०६७’ घोषित हुनुभएको थियो । उहाँले ‘संगीत राष्ट्रको लागि’ नामक एल्वममा संगीतकारको भूमिका निर्वाह गर्नुभएको छ ।
गायक, संगीतकार तथा संगीत संयोजक मल्ल सांगीतिक क्षेत्रबाट बाहिर निस्किएर समाज सेवामा पनि पछिल्ला वर्ष सक्रिय हुनुहुन्छ । उहाँले गत वर्ष गएको बिनाशकारी भूकम्पपछि देशका विभिन्न ठाउँमा पुुगेर राहत वितरण गर्नुभयो । विभिन्न शैक्षिक संस्था तथा भूकम्प पीडित शिविरमा पुुगेर मल्लले बालबालीकालाई गीतसंगीतका माध्यमबाट पीडा बिर्साउन लागि परे । त्यति मात्रै होईन । उहाँले युु.ए.इ.मा निःशुल्क च्यारिटी शो गरी ४३ लाख ६ हजार ३ सय ८० रुपैयाँ संकलन गरी युु.ए.इ. स्थित नेपाली राजदुत मार्फत प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गर्नुभएको थियो ।
२० वर्षे सांगीतिक यात्रामा मल्लले देश तथा विदेशका विभिन्न देशमा सांगीतिक प्रस्तुति दिइसक्नुभएको छ । करिव २ सयभन्दा बढी गीत रेकर्ड गराएका मल्ललाई म्यूजिक खबर म्यूजिक अवार्डको अवसरमा ‘सिङ्गर अफ दि डिकेड’ द्वारा सम्मान गरिन लागेको हो ।

dekendra

डेकेन्द्र थापा
कतार गएँ साउदी गएँ गएँ लाहुर भोट
कहिँ पनि भेटिएन धन फल्ने बोट
गायक डेकेन्द्र थापालाई सानै उमेरदेखि संगीतको मोहले छोएको छ । समुधुर स्वरका धनी गायक डेकेन्द्र दैलेखदेखि काठमाडौं आएर गीत रेकर्ड गराउनका लागि विभिन्न दुःख कष्ठ भोग्दै आउनुभएको छ । आफु ४ बर्षको हुँदा आफ्नी जन्म दिने आमा बितेपछि कर्म दिने आमा निर्मला गिरीको पालन पोषणमा हुर्किएर कर्म खोज्दै गर्दा एउटा गायकको सम्भावना लिएर हिंड्नुभएको छ । डेकेन्द्र अहिले एसएलसी दिएर ११ को अध्ययन गर्ने क्रममा छन् । २०५८ सालमा जन्मिनुभएका गायक डेकेन्द्रले ५, ७ वटा गीत रकेर्ड गराइसक्नुभएको छ । २०६९ सालमा पहिलो गीत रेकर्ड गरेपछि उहाँको सम्भावनाले बजार पाउन थालेको हो । घरको आर्थिक अवस्था कमजोर भएको कारण डेकेन्द्रले आफ्नो प्रतिभालाई लुकाएर बस्नुको बाध्यता छ । गायक डेकेन्द्र त्यसो दैलेखी तारा बनिसक्नुभएको छ भने रेडियो नेपालको बालगीत प्रतियोगितामा पनि प्रथम भइसक्नुभएको डेकेन्द्र थापालाई रचनाकार निर्मला गिरीले आफ्नै सन्तानलाई जस्तै गरी हुर्काएर डेकेन्द्रको गायन भविष्यको लागि आवस्यक पहलकदमी लिईरहनु भएको छ । उहाँलाई म्यूजिक खबर म्यूजिक अवार्ड २०७३ को अवसरमा ‘म्यूजिक खबर बालप्रतिभा प्रोत्साहन सम्मान – २०७३’ समर्पण गर्न लागिएको छ ।

kalpana gurung

कल्पना गुरुङ 
पछिल्लो समय धेरै नेपाली कलाकार विदेशमा छन् । विदेश जाने कलाकारकै भिडमा मिसिएर गायिका कल्पना गुरुङ पनि बेलायत पुुगेको केहि वर्ष पूरा भयो । तर, गायिका गुरुङ वर्षमा एक पटक नेपाल आउँनुहुन्छ र गीत रेकर्ड गराउनु हुन्छ । तिनै गीतले उहाँलाई वर्षभरी चर्चामा राख्छ ।
२०३३ साल मसिंर २ गते गोरखामा जन्मिनुभएकी गायिका कल्पना गुरुङले २०५१ सालमा डाँफे कला मन्दिर पोखराबाट गायनको औपचारिक सुरुवात गर्नुभएको हो । त्यसपछि २०५२ सालमा पिएन क्याम्पस पोखराले आयोजना गरेको तीज गीत प्रतियोगितामा प्रथम भएपछि उहाँको गायन यात्राले झन् गति लियो । निरन्तर गायन मै रहेका बेला गायक तिलक बम मल्लसँग उहाँको भेट भयो र सँगै गायनको संयोग जु¥यो । त्यसबेला रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र पोखरामा रेकर्ड भएको थियो ।
कल्पनाको सांगीतिक यात्रामा ‘नजाउ लाहुर’, ‘पात बजाउँदै’, ‘जोवन साटौला’, ‘बुुटवल घुम्न आउँ’, ‘अर्को जूनी भएमा भेटौला’ लगायत दर्जन बढी एल्वम बजारमा आएका छन् । कल्पना नेपालकै पहिलो दोहोरी साँझ ‘पुुकार दोहोरी साँझ’ मा कार्यरत रहनुभएको थियो । २०५६ सालमा बुटवलमा आयोजित लोक दोहोरी प्रतियोगीतामा द्वितीय हुनुभएको थियो । बल बहादुर पुनसँग वैवाहिक जीवनमा गाँसिएपछि गायिका कल्पना अहिले बेलायतमा बसोबास गर्दै आउनुभएको छ । लोकदोहोरीको क्षेत्रमा विदेशमा रहेर पनि उल्लेख्य योगदान पु¥याउँदै आउनुभएकोमा गायिका कल्पना गुरुङलाई ‘म्यूजिक खबर डायस्पोरा सङ्गीत सम्मान–२०७३’ प्रदान गरिएको हो ।

ramesh chandra

रमेशचन्द्र राई 
रमेशचन्द्र राई नेपाली गीत संगीत तथा चलचित्र निर्माण एवं अभिनयमा समेत परिचित नाम हो । नेपाली गीतसंगीतको विकासमा, चलचित्रको विकासमा रमेशचन्द्र राईले आफ्नो ठाउँबाट केही न केही भए पनि योगदान दिइरहनुभएको छ ।
खोटाङमा १९७९ मार्चमा जन्मिनुभएका रमेशचन्द्र राईले कलाकारका रुपमा नै आफूलाई परिचित तुल्याउनुभएको छ । डेढ दशक अघिबाट यस क्षेत्रमा पाइला चाल्नुभएका राईले २००५ मा आफ्नो सोलो एल्बमको रुपमा ‘आरम्भ’ बजारमा ल्याउनुभएको थियो । त्यस्तै रमेशले फच्र्यून र माइ प्रमीश गरी दुई चलचित्रको निर्माण सँगसँगै अभिनय पनि गर्नुभएको छ ।
सुरक्षा विकास सिङ्गापुरमा लामो समय काम गरे पनि उहाँले नेपाली गीत संगीत एवं चलचित्रमा नै सेवा गरिरहनुभएको छ । गीतसंगीतको विकासमा होस् या चलचित्र निर्माण एवं अभिनयका माध्यमले गरिएको सेवा नै किन नहोस् उहाँले नेपाली साहित्य कलाप्रति औधि सम्मान राख्दै आउनुभएको छ । मूलतः यस क्षेत्रको विकासमा आफ्नो ठाउँबाट सानै भए पनि किन नहोस् योगदान गर्न सकुँ भन्ने सोच रमेशचन्द्र राईको रहेको छ । गीतसङ्गीतको क्षेत्रमा विदेशमा रहेर पनि उल्लेख्य योगदान पु¥याउँदै आउनुभएकोमा कलाकार रमेशचन्द्र राईलाई ‘म्यूजिक खबर डायस्पोरा सङ्गीत सम्मान–२०७३’ प्रदान गरिएको हो ।

raman

रमण घिमिरे
पत्रकारिताको क्षेत्रमा रमण घिमिरे एक सशक्त नाम हो । पत्रकारितामा करिब अढाइ दशक पार गरिसक्नुभएका घिमिरे संगीत पत्रकारिताका माध्यमले गीतसंगीतको क्षेत्रमा उल्लेख्य योगदान पु¥याउनुभएको व्यक्तित्व हुनुहुन्छ । घिमिरे राम्रो लेखक, कवि, गीतकार, समीक्षक मात्र नभएर सामाजिक क्षेत्रमा उहाँको कार्यले महत्वपूर्ण स्थान ओगटेको छ ।
कान्तिपुर पब्लिकेशन अन्तर्गत प्रकाशित भइरहेको नेपालमा साप्ताहिकमा स्थापनाकालदेखि नै कला, साहित्य संयोजकको रुपमा कार्यरत रहँदै आउनुभएका रमण घिमिरे कला पत्रकारिताको एक इतिहास नै हुनुहुन्छ ।
पत्रकारिताका अलावा उहाँले लेख्नुभएका गीतहरु पनि उत्तिकै चर्चित छन् । तिम्रो यादमा कल्पी कल्पी, कहिले तिम्रो पछ्यौरीमा अल्झें, आधीबाटो हिंडेपछि, रिसाउँदा नि आफ्नै खुशी हुँदा नि आफ्नै, मलाई यो जिन्दगीले कहाँ पु¥यायो, अझै पनि रिसाउँछ्यौ जस्ता गीतहरुको लेखनले पनि गीतसंगीतको क्षेत्रमा उच्चकोटीको गीतकारका रुपमा सङ्गीत क्षेत्रले पाएको छ । पत्रकारितालाई आफ्नो मूल कर्मका रुपमा लिँदै आउनुभएका रमण घिमिरेले पत्रकारिताका माध्यमले संगीत क्षेत्रमा पु¥याएको अतुलनीय योगदानलाई आत्मसात गर्र्दै म्यूजिक खबर म्यूजिक अवार्ड २०७३ को अवसरमा ‘म्यूजिक खबर सङ्गीत पत्रकारिता पुरस्कार–२०७३’ समर्पण गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु