राष्ट्रगानका संगीतकार अम्बर गुरुङको निधन

म्यूजिक खबर
प्रकाशित: २५ जेष्ठ २०७३, मंगलवार

नेपाली राष्ट्रगानका संगीतकार संगीतज्ञ अम्बर गुरुङको निधन भएको छ । वरिष्ठ संगितकार गुरुङको ७९ बर्षको उमेरमा निधन भएको हो । विगत लामोसमयदेखि पार्किनान्सको रोगबाट ग्रसित बनिरहेका गुरुङको स्वास्थ्यमा गडबढ भएपछि ग्रान्डि अन्तर्राष्ट्रिय अस्पताल धापासीमा उपचारार्थ राखिएको थियो । गुरुङको उपचारकै क्रममा मंगलबार विहान २ बजेर ३७ मनेटमा निधन भएको हो ।

भारतमा आन्द्रा सम्बन्धी रोग, मधुमेह, उच्च रक्तचाप तथा पार्किन्सन रोगको लामो उपचारपछि नेपाल फर्किएका गुरुङलाई खाने बित्तिकै वान्ता हुने समस्या देखिएछि अस्पताल भर्ना गरिएको थियो ।

पछिल्लो समय एस्पिरेसन न्युमोनिया, पेट तथा अन्न नलिको रक्तश्राव, मधुमेह र उच्च रक्तचाप लगायतका रोगसंग लडिरहेका गुरुङलाई स्वास प्रस्वासमा समस्या देखिएको अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले जानकारी दिए ।

Amber-Gurung

सन् १९३८ फेब्रुअर २६ मा भारतको दार्जिलिङमा जन्मिएका गुरुङको पुख्र्यौली घर भने गोरखा जिल्लाको रिसिङमा हो । नेपाली राष्ट्रिय गानका संगीतकार एवम् संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति समेत रहेका गुरुङले नेपाली संगीत क्षेत्रको उत्थानकालागि महत्वपूर्ण योगदान गदिइसकेका छन् । वरिष्ठ संगितकार गुरुङले सयौंको संख्यामा लोकप्रिय र कालजयी नेपाली गीतहरुमा संगीत भरेर गीतसंगीतमा आफ्नो नामलाई अमर बनाएका छन् ।

बि.स २०५२ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानको निर्देशक समेत रहेका गुरुङले नौ लाख तारा उदाए बोलको गीतबाट नेपाली संगीतमा पाइला टेकेका हुन् । गुरुङले अक्षरका आवाजहरू गीतिसंग्रह, कहाँ गए ती दिनहरू, कहिले लहर कहिले तरंग र सम्हालेर राख लगायतका कृती रचना गरिसकेका छन् ।

संगीतको साधनामा पाँच दशकदेखी लागी परेका गुरुङलाई नेपाली कला र संस्कृतिको उत्थान गरेको भन्दै २०५४ सालको जगदम्बाश्री पुरस्कार बाट सम्मान गरिएको थियो । त्यस्तै २०२८ सालमा गोरखा दक्षिणबाहु चौथो, २०३८ सालमा इन्द्रराज्यलक्ष्मी पुरस्कार, २०४७ सालमा छिन्नलता गीत पुरस्कारबाट सम्मान गरिएको थियो । उनका तीन छोरा र एक छोरी छन् ।

संगीतका मुर्धन्य व्यक्तित्व संगीतकार अम्बर गुरुङ सांगीतिक क्षेत्रका नक्षत्रका रुपमा चिनिन्छन् । नेपाली संगीत उद्योगमा कालजयी गीतसंगीत पस्किसकेका संगीतकार गुरुङप्रति म्यूजिक खबर डटकम भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दछ ।

Biography of Amber Gurung Click Here

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु