रेडियो र टेलिभिजनसँग रोयल्टीको अन्तरक्रिया

म्यूजिक खबर
प्रकाशित: २३ जेष्ठ २०७४, मंगलवार

जेष्ठ २३, काठमाडौं । संगीत रोयल्टी संकलन समाज नेपालले राजधानीमा संचालित एफएम रेडियो एवं टेलिभिजनहरुसँग अन्तरक्रिया गरेको छ । राजधानीको होटल ल्याण्डमार्कमा कार्यक्रमको आयोजना गरी एफएम रेडियो र टेलिभिजनका सरोकारवालाहरुसँग अन्तरक्रिया गरी प्रतिलिपी अधिकार र रोयल्टी व्यवस्थापनका बारेमा अन्तरक्रिया गरेको हो । नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यालयको सहकार्यमा रोयल्टी संकलन समाज नेपालले आयोजना गरेको उक्त कार्यक्रममा हिट्स एफएमका शनी श्रेष्ठ, रेडियो अडियोका दिपेन्द्र खनिया, सगरमाथा रेडियोका लक्ष्मणनाथ उप्रेती, इमेज एफएमका तपनाथ शुक्ला, नेपाल टेलिभिजन कार्यक्रम महाशाखाका रविन्द्र घिमिरे लगायतका सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

mrcsn_ishwary bhusal
त्यसैगरी रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी, प्रस्तोता समाज नेपालका अध्यक्ष तुलसी पराजुली, संगीत उत्पादक समाज नेपालका अध्यक्ष निर्मल ढकाल, संगीत उद्योग संघका अध्यक्ष सूर्य मगर, संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेष, संगीतकला पत्रकार संघकी उपाध्यक्ष विनिता मरहठ्ठा लगायतका संगीत क्षेत्रसँग सम्बन्धित संघसंस्थाहरुको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै रेडियो अडियोका दिपेन्द्र खनियाँले आफूले रोयल्टी दिने कामको सुरुवात गरेको भन्दै अब रोयल्टी सबै रेडियो, टेलिभिजनले दिनुपर्ने र व्यवस्थापनका विषयमा छलफल गरेर अघि बढ्न सबै रेडियो टेलिभिजनलाई आग्रह गरेका थिए । त्यस्तै इमेज टीभी तथा एफएमका तर्फबाट तपनाथ शुक्लाले रोयल्टी तिर्न सबै राजी हुनुपर्ने र आफ्नो संस्था पनि राजी रहेको बताएका थिए । यसलाई सुरुवातका केही अप्ठ्याराहरुलाई हल गर्दै अगाडि जान आफ्नो संस्था तयार रहेको बताउँदै रोयल्टीको व्यवस्थापनमा साथ दिने बताए ।

mrcsn_suresh adhikari
त्यसैगरी नेपाल टेलिभिजनका तर्फबाट रविन्द्र घिमिरेले आफूहरु रोयल्टी दिन तयार रहेको बताउँदै गीतसंगीतको व्यापार टेलिभिजनले नगरेका कारण कसरी तिर्ने भन्नेमा अन्यौल रहेको बताए । टेलिभिजनले कुनै पनि गीत बजाउन लैजाँदा रोयल्टी दाबी गर्ने छैन भनी कागज गराउने गरेको भन्ने जिज्ञासामा घिमिरेले आफूखुशी बजाइदिनुस् भन्दै आउनेलाई त्यो कागज गरिएको भए पनि रोयल्टी नदिने भनिएको छैन भने । भाषामा त्रुटी भयो होला भन्दै उनले आगामी दिनमा सच्याएर अघि बढ्ने बताए ।

royalty
त्यसैगरी रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले सम्पूर्ण उपस्थिति रेडियो, टेलिभिजनका सरोकारवाला निकाय, पत्रकारहरुबीच स्वागत गर्दै रोयल्टी तिर्दा धेरै फाइदा रेडियो टेलिभिजनले प्राप्त गर्ने उल्लेख गरे । अधिकारीले धेरै देशका उदाहरणहरु दिँदै अब गीतसंगीतको सार्वजनिक प्रयोग गर्ने वा व्यवसायिक प्रयोजन गरी गीत बजाउनेहरुले आफ्नो व्यवसायजस्तै गीतसंगीतको पनि व्यवसाय हो भन्ने बुझ्नु पर्ने बताए । रोयल्टीको व्यवस्थापनमा आफूहरुले कुनै कसुर बाँकी नराखेर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अगाडि बढेको बताउँदै अब रेडियो टेलिभिजन मात्र नभएर होटल, रेस्टुरेन्ट, दोहोरी साँझ, डान्सबार, डिपार्टमेन्टल स्टोर, सार्वजनिक यातायात सबै क्षेत्रबाट सार्वजनिक प्रयोग गरेवापतको रोयल्टी बुझाउनुपर्ने समय आएको बताउँदै कलाकारले पनि बाँच्नका लागि आफ्नो गीत सिर्जना गरेका हुन् भन्ने सबैले बुझ्नुपर्ने बताए । कार्यक्रममा प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यालयकी निमित्त रजिष्ट्रार सुष्मा पोखरेलले कार्यपत्र प्रस्तुत गरेकी थिइन् भने कार्यक्रम रोयल्टी समाजका महासचिव महेश खड्काले संचालन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु