लाजमर्दो गीत भन्दै रेकर्ड गर्न मानेन् बाजुरालीले

म्यूजिक खबर
प्रकाशित: २४ कार्तिक २०७३, बुधबार

काठमाडौं । मालश्री स्टुडियोका संचालक एवं व्यस्त संगीत संयोजक विनोद बाजुरालीले सबैका गीतलाई सुमधुर बनाउन धेरै मेहनत गरेका हुन्छन् । एकातिर आफ्नो शोखको पेशा त अर्कातिर व्यस्त र राम्रो विजनेश गरिरहेका विनोद बाजुरालीले आफ्नो स्टुडियोमा गीत लिएर आएका सुन्दर ढकालको गीतलाई लाजमर्दो गीत भन्दै रेकर्ड नै गरेनन् । डिल्लीराज भण्डारीको एल्बम रहेको उक्त गीतलाई सुन्दर ढकालले लेखेका हुन् भने उनकै शब्द र स्वर रहने बाजुरालीले बताए । लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रीय अधिवेशनबाट सदस्य पदमा निर्वाचित भएपछि उनले आफ्नो प्रतिबद्धतामै समाजलाई पाच्य नहुने गीत एरेन्ज पनि नगर्ने र रेकर्ड पनि नगर्ने बताएका थिए । सोही अनुसार उनले आजभोली स्टुडियोमा रेकर्ड गर्न आउनेको शब्द राम्रोसँग हेर्ने गरेका छन् ।

binod-bajureli
सुन्दर ढकालले लेखेको शब्द यस्तो थियो– ‘चुमने मन छ अंगअंग– लाजसरम नमान मसँग’ । शब्द हेर्दैमा नकारात्मक र उत्तेजक देखेपछि बाजुरालीले यस्तो गीत म रेकर्ड गर्दिनँ भनेपछि तुरुन्तै शब्द परिवर्तन गर्न उनीहरु लागेका थिए । त्यस्तै प्रतिष्ठानका महासचिव सुवास केसीले आफूले पनि शब्द हेरेको र शब्दले समाजमा अश्लिलता पस्कने खालको भएको बताए । केसीले आफ्नो कार्यसमितिको सबै साथीहरु सजग रहेको बताउँदै लोकसंगीत बिगार्न उद्दत रहेकाहरुमाथि सबैले सजग हुनुपर्ने बताउँदै बाजुरालीले गरेको कामको प्रशंसा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु