संगीतकार चौधरीले दिने भए निःशुल्क संगीत शिक्षा

म्यूजिक खबर
प्रकाशित: ९ बैशाख २०७३, बिहीबार

संगीतकार विकास चौधरीले संगीत शिक्षा सिक्न चाहने तर सिक्नका लागि आर्थिक समस्यामा परेका संगीत पारखीहरुलाई निःशुल्क संगीत शिक्षा दिने भएका छन् । चलचित्र एवं आधुनिक गीतसंगीतको क्षेत्रमा क्रियाशील रहँदै आएका संगीतकार विकास चौधरीले अनाथ, गरिब तथा जेहेन्दार व्यक्तिहरुलाई तीन महिनासम्म निःशुल्क संगीत शिक्षा प्रदान गर्ने भएका हुन् । विकास चौधरीले संचालन गर्दै आएको शान्ति इन्टरटेनमेन्ट संगीत पाठशालाद्वारा तीन महिनासम्म संगीतका पारखीहरुलाई निःशुल्क शिक्षा प्रदान गर्ने तर उक्त विद्यार्थीहरु अनाथ, गरिब तथा जेहेन्दार हुन् भन्ने सिफारिस भने अनिवार्य हुनुपर्ने संगीतकार चौधरीले बताए ।

bikash chaudhary

विद्यार्थीहरुलाई संगीतको तीन महिनाको कोर्ससँगै उनीहरुलाई आवश्यक पर्ने स्टेशनरी सामान पनि निःशुल्क प्रदान गरिनेछ । निःशुल्क संगीत शिक्षा दिनका लागि शान्ति इन्टरनेटमेन्टका संरक्षकहरुको महत्वपूर्ण योगदान रहेको संगीतकार चौधरीले बताए । संगीत पाठशालाका संरक्षकहरु हरि उप्रेती, पुरुषोत्तम फुयाँल, रघु द्यौराली, डीपी शर्मा, मुरारी भट्टराईले निःशुल्क संगीत शिक्षणका लागि गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । उनीहरुकै सहयोगमा संगीतकार चौधरीले निःशुल्क संगीत प्रशिक्षण गराउनेछन् । यो योजना सार्वजनिक हुनासाथ निःशुल्क संगीत सिक्ने विद्यार्थीहरुको कक्षा संचालनमा आइसकेको पाठशालाका संचालिका सविना केसीले जानकारी गराइन् ।

त्यसो त शान्ति इन्टरटेनमेन्ट संगीत पाठशालाका सल्लाहकारहरु लक्ष्मीनाथ शर्मा, ओम प्रतीक, प्रदीप भारद्वाज, राजेश शाही, सुमन बैरागी, ज्ञानेन्द्र देउजा, नवराज श्रेष्ठ, गोविन्द गौतमको सल्लाह र सुझाव अनुसार पनि निःशुल्क संगीत शिक्षणले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । निःशुल्क संगीत शिक्षण अनाथ, गरिब तथा जेहेन्दार विद्यार्थीको जीवनमा यो सुनौलो अवसर पनि बन्न सक्ने विश्वास संगीतकार चौधरीले लिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु