संगीत महोत्सवमा झुमे गोर्खाली

म्यूजिक खबर
प्रकाशित: ६ बैशाख २०७३, सोमबार

गोरखा बजार यसपटक विविध संगीतमय बन्यो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र गोरखा जेसिसद्वारा शनिबार सो स्थानमा आयोजित ‘संगीत महोत्सव–२०७३’का कारण गोरखा बजार संगीतमय बनेको हो ।
स्थानीय रानीपोखरी प्रांगणमा मध्याह्नपछिबाट सुरु भएको सो सांगीतिक महोत्सव अबेर साँझसम्म चलेको थियो । लामो खडेरीपछि साँझ पानी पर्दा समेत दर्शकहरू संगीत महोत्सवमा निरन्तर रमे । कार्यक्रममा स्थानीय, क्षेत्रीयदेखि राजधानीबाट गएका कलाकारले आफ्ना गीतसंगीत र नृत्यबाट दर्शकको मन जिते ।

स्थानीय गीतकार राजेन्द्र बजगाईंको राष्ट्रिय भावनाको गीत ‘लेखलेख…’ गाउँदै विभिन्न कलाकारले सो महोत्सवको सांगीतिक कार्यक्रम सुरु गरे । यसपछि गोरखाली गायक हरिराम परियारले
‘गोरखाको बस चल्यो…’ गीत सुनाए । लगत्तै मञ्चमा उत्रिएकी गोरखाकी गायिका सुमन गुरुङले ‘गैरी खेतको सिरौ हान्यो…’ गीत सुनाएर दर्शकलाई नचाइन् ।
कार्यक्रमको प्रारम्भमा लगातार स्थानीय कलाकारले गीत प्रस्तुतिले केही सुस्ताएका दर्शकले जब सोही प्रतिष्ठानका उपकुलपति एवं अग्रज संगीतकार शम्भुजित बाँस्कोटालाई गायनका लागि अनुरोध गरे । त्यसपछि गायिका बानिका प्रधानसँग मञ्चमा उत्रिएका उपकुलपति बाँस्कोटाले रातो रुमाल हल्लाउँदै ‘चट्ट रुमाल क्या मालुम…’ गीत गाउँदा मैदानका चारैतिर रहेका दर्शकहरू छमछमी नाचे । बाँस्कोटाले अर्की गायिका सुमन गुरुङसँगको सहकार्यमा ‘अच्छा लेकिन लन्डनको चिसोले सताउला…’ गीत गाउँदा दर्शक भने खलखली पसिना बगाउँदै निरन्तर नाचिरहे । दर्शकले वान्स मोर भन्दा पुनः गीत गाउने वाचासहित बाँस्कोटा र गुरुङ मञ्चबाट उत्रिए ।
काठमाडौंबाट सोही कार्यक्रमका लागि गोरखा पुगेका कलाकार विश्व नेपालीले कार्यक्रममा के छ बन्दोबस्ती… र यो लामो जीवन… जस्ता गीतहरू सुनाएर दर्शकलाई मन्त्रमुग्ध पारे । यस्तै, राजधानीबाटै गोरखा पुगेकी गायिका बानिका प्रधानले ‘मेरा आशक्तिका…’, ‘डाँडाकाँडा…’ जस्ता गीत प्रस्तुत गरिन् । सञ्जय तुम्रुकले प्रस्तुत गरेको राष्ट्रिय भावनाको गीत ‘फर्की आऊ शान्ति तिमी…’मा दर्शकले तालीले साथ दिए । गायिका सुमन गुरुङले सञ्जयसँग अर्को गीत ‘सेती खोला सँगसँगै तरौंला…’ सुनाए ।
कार्यक्रमको रौनक स्थानीय कलाकारको लोक प्रस्तुतिले बढायो । योङ स्टार क्लब मनकामना–२ को प्रस्तुति चुड्का नृत्य, कालिका युवा क्लब मनकामनाका कलाकारको प्रस्तुति कौरा नृत्यले महोत्सवको रौनक बढाएको थियो । नेपाल मगर संघ पस्लाङ राम्चेका कलाकारको प्रस्तुति पाङ्दुरे नाच पनि गजबकै थियो । त्यसो त तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद गोरखाको ठाडो भाकामा पनि दर्शकले मनोरञ्जन लिए ।
गोरखा—९ बिरिन्चोक भजन समूहका ज्येष्ठ कलाकारले प्रस्तुत गरेका खैजेडीसहितको बालन नृत्य पनि महोत्सवको आकर्षण बनेको थियो । उनीहरूको प्रस्तुति हेर्न ती गाउँबाट स्थानीय बासिन्दाहरू गोरखा आएका थिए ।

यस्तै स्थानीय गायिका रूपसना श्रेष्ठले ‘तिमीले त हेर्न…’, विमला तामाङले ‘लाखौं कोसिस गर्दा…’, स्थानीय गायक गणेश श्रेष्ठले ‘आउनुस् गोरखा…’, अर्का स्थानीय गायक दीपक गुरुङले

‘तिमी पारि त्यो…’, अर्का गायक मनराज गुरुङले ‘केही मीठो…’ जस्ता गीत प्रस्तुत गरे । यस्तै, स्थानीय गायक साजन गुरुङले ‘गोरखाली…’, सविन श्रेष्ठले ‘बस्यो माया आँखैमा…’ गीत सुनाए ।

उपकुलपति बाँस्कोटाकै सभापतित्वमा सम्पन्न सो कार्यक्रमको उद्घाटन गोरखाका भजनमणि एवं अग्रज सञ्चारकर्मी नेत्रमणि आचार्यले गरेका थिए । कार्यक्रममा बोल्दै उपकुलपति बाँस्कोटाले भने, ‘गत वैशाखको भूकम्पपछि हामी यहाँ सांगीतिक कार्यक्रम लिएर आउँदा उहाँहरू निराश हुनुहुन्थ्यो ।

gorkha district

त्यतिबेला हामीले प्रस्तुत गरेको सांगीतिक कार्यक्रमले केही राहत दिए पनि फेरि गोरखावासीमा ऊर्जा थप्दै स्थानीय लोक संस्कृति संरक्षणका लागि गोरखामा सांगीतिक महोत्सव आयोजना गरिएको हो ।’ महोत्सव भव्य भएकोमा खुसी व्यक्त गर्दै उनले यस्तो सांगीतिक महोत्सव प्रतिष्ठानले मुलुकका विभिन्न स्थानमा आयोजना गरिने बताए ।

यस्तै, सोही प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवं महोत्सबको राष्ट्रिय संयोजक गीतकार उन्नति बोहरा ‘शिला’ले वीर पुर्खाहरूको भूमी गोरखाका कैयौं लोक गायन एवं लोक नृत्य लोपोन्मुख अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गर्दै भनिन्, ‘यस्तै लोक कलाको संरक्षण, प्रवद्र्धन एवं स्थानीय कलाकारलाई प्रोत्साहित गर्न गोरखामा पहिलोपटक बृहत् सांगीतिक महोत्सव आयोजना गरिएको हो ।’ गोरखा जेसिसका अध्यक्ष प्रेमध्वज थापा मगरले गोरखामा आयोजित यो सांगीतिक महोत्सवमा स्थानीय कलाकारले राष्ट्रिय कलाकारसँग आफ्ना गीतसंगीत प्रस्तुत गर्न पाउँदा उनीहरूको हौसला बढेको बताए । यस्ता कार्यक्रमलाई फेरि गोरखामा आयोजना गर्न अध्यक्ष थापा मगरले अनुरोध गरे ।

कार्यक्रममा आयोजक संस्था संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र गोखरा जेसिसका तर्फबाट अग्रज कलाकार नेत्रमणि आचार्यलाई सम्मान गरिएको थियो । पत्रकारिता र भक्तिसंगीतमा आचार्यको आजीवन योगदान रहेकाले उनलाई सम्मान गरिएको स्थानीय कार्यक्रम संयोजक सरन श्रेष्ठले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु