सत्य–स्वरुप र पशुपतिलाई छिन्नलता पुरस्कार

म्यूजिक खबर
प्रकाशित: २ असार २०७३, बिहीबार

छिन्नलता गीत पुरस्कार गुठीले २०७१ र २०७२ सालको छिन्नलता गीत पुरस्कार घोषणा गर्दै गायक सत्यस्वरुप र पशुपति शर्मालगायतलाई छिन्नलता पुरस्कार प्रदान गर्ने भएको छ ।
गुठीका अध्यक्ष प्रा. डा. वासुदेव त्रिपाठीको अध्यक्षतामा भएको साधारणसभाले २०७१ सालको छिन्नलता गीत पुरस्कार रचनातर्फ श्रवण मुकारुङ, गायनमा किरण प्रधान, सङ्गीततर्फ आलोकश्री र नवप्रतिभातर्फ गायक पशुपति शर्मा र सीता केसी (मलाई अमेरिका यही नै) भन्ने बालेको गीतलाई संयुक्तरुपमा प्रदान गर्ने निर्णय गरेको छ ।

satya-sworoop
यसैगरी २०७२ सालको छिन्नलता गीत पुरस्कार रचनातर्फ प्रमोद ढुङ्गाना, गायनमा सत्यस्वरुप आचार्य (संयुक्त), सङ्गीत रचनामा नारायण ओली र नवप्रतिभातर्फ गायक कालीप्रसाद बाँसकोटा र सोमिया बराइली (त्यो पारि डाँडामा घाम लाग्यो घमाइलो) भन्ने बोलको गीतलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको छ । गत वर्ष गएको विनाशकारी भूकम्पका कारण गुठीले ती दुई वर्षका पुरस्कार प्रदान गर्न स्थगित गरेको थियो ।

pashupati-sita kc
स्वर्गीय रमोलादेवी शाह छिन्नलताद्वारा स्थापित ती पुरस्कारअन्तर्गत गीत, गायन, सङ्गीत रचनामा जनही ५० हजार रुपैयाँ र नवप्रतिभातर्फ ३५ हजार रुपैयाँ रहेको छ । ती पुरस्कार असार ३१ गते हरिशयनी एकादशीका दिन साहित्यकार छिन्नलताको जन्मदिनका अवसरमा वितरण गरिने गुठीका सहकोषाध्यक्ष रमेशप्रसाद ढुङ्गानाले जानकारी दिए ।
यसैगरी गुठीको साधारणसभाले गुठीको रिक्त सदस्य पदमा वरिष्ठ कवि तथा गीतकार दिनेशहरि अधिकारी र उन्नति बोहरा शीलालाई नियुक्त गर्ने निर्णय गरेको उनले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु