• सदाबहार अन्जु

    म्यूजिक खबर
    प्रकाशित: २७ पुष २०७४, बिहीबार

    सबिता पोखरेल / म्यूजिक खबर

    गायिका अन्जु पन्त नेपाली सांगीतिक क्षेत्रमा सदाबहार गायिकाको  छवि बनाइसकेकी गायिका हुन् । १९७७ सालमा जन्मिएकी गायिका पन्तले गायनको सुरुवात नै भजनबाट गरेकी हुन् । रेडियो नेपालले आयोजना गरेको अधिराज्यव्यापी गायन प्रतियोगिताबाट उत्कृष्ट बन्दै व्यवसायिक गायनतर्फ मोडिएकी उनले माइतीघर माइतीघर बोलको गीतबाट सांगीतिक क्षेत्रमा चर्चा बटुलेकीकी हुन् । जुन माइतीघर चलचित्रको गीत थियो त्यसमा उनले रिमेक गरेकी थिइन् । उनले उक्त गीत गाएपछि पुरानो चलचित्रमा आशा भोस्लेले गाएको उक्त गीतको मिठासभन्दा उनले गाएको माइतीघरलाई धेरैले मन पराएपछि एकाएक उनको स्वरको पनि प्रशंसा हुन थाल्यो । कम्पन नामक एल्बम बजारमा ल्याएपछि गायिका अन्जु पन्तले निरन्तर रुपमा व्यवसायिक गायन अँगाल्न पुगिन् । भन्नैपर्दा उनलाई पछाडि फर्किएर हिंड्नुपर्ने अवस्था आइपरेन । कलेक्सन एल्बमहरु, चलचित्रको पाश्र्व गायनमा उनको स्वरले एकलौटी राज गर्दै आयो ।


    गायिका अन्जु पन्तको यात्रा महिला गायनको प्रतिनिधित्व गर्दै आगाडि बढिरह्यो । उनको गायनले लगभग आधा दशक पार गर्दै गर्दा उनले फेरी आफ्ना श्रीमान मनोजराजसँग संयुक्त रुपमा एल्बम कोशेढुंगा लिएर बजारमा आइन् । उनको कोशेढुंगा वास्तविकतामा नै कोशेढुंगा त बन्नुपर्ने थियो, तर विछोडको कोशेढुंगा बन्यो । जुनबेला अन्जु पन्तको गायनमा एकलौटी चलिरहेको थियो त्यही बेला उनीहरुको सम्बन्धमा विछोडको चर्चा चल्दा गायिका पन्तमाथि ठूलो नोक्शानी मिल्यो भन्दा फरक पर्दैन । त्यसपछि करिब एक वर्षभन्दा बढी गायिका पन्त पारिवारिक तनावकै कारण गायनको दुनियाँबाट हराउन पुगिन् ।

    त्यतिबेला नेपाली सांगीतिक जगतमा महिला गायनको लागि उनको पछाडि अन्जना गुरुङ थिइन् तर उनी पनि आफ्नो गायनसँगसँगै परिवारसहित अमेरिकातर्फ लागिन् । जतिबेला गायिका अन्जनाको काली सुन्दरी, बदनाम भएँ मजस्ता गीतहरु चर्चामा थिए । उनी अमेरिकातर्फ लागेपछि महिला स्वरको नेपाली सांगीतिक जगतले आशा गरेजस्तो गायिका पाउन सकेको थिएन । तर माण्डवी त्रिपाठी, रजिना रिमाल, मिलन अमात्यहरुको आगमन भयो । हुन त माण्डवी त्रिपाठी भने पहिलादेखि नै लोकदोहोरी, चलचित्र, आधुनिक गायनमा निरन्तर थिइन् तर चर्चा पाउन त्यति सकेको अवस्था थिएन । त्यस्तै गायिका सिन्धु मल्ल पनि थिइन् तर लोकदोहोरीमा मात्र उनको चर्चा देखिन्थ्यो । तर व्यवसायिक रुपमा भने कसैले पनि आधुनिक एवं पाश्र्व गायनमा स्थान लिन सकेका थिएनन् ।


    एकाएक पारिवारिक सम्बन्ध विच्छेदका कारण हराएकी अन्जु पन्त पुनः नेपाली गायनमा फर्किइन् । एक दुईवटा गीतहरु गर्दै उनको गायनको यात्रा के सुरु भएको थियो त्यति नै बेला फेरी उनले हिन्दू धर्म विरोधी गीत नगाउने भन्ने अफवाह फैलिन थाल्यो । उनी क्रिश्चयन बनेपछि दसैंको दुर्गा माता भन्ने गीत गाउने क्रममा उनले उक्त शब्द नगाउने भनेको हल्लाले उनको सांगीतिक छविमाथि नै प्रहार हुन थाल्यो । त्यतिखेर उनले चाहेर वा नचाहेर गल्ती गरिन् वा कसैले उनीमाथि त्यो घटनालाई अगाडि बढायो भन्ने कुरा एकातिर चर्चामा रह्यो तर उनले त्यसलाई सामना गर्दै ‘मलाई आरोप लगाइएको हो यो सत्यता होइन’ भन्ने कुरा गरिन् । त्यसपछि घटनाहरु सेलाउँदै गयो अन्नतः अन्जु पन्त फेरी नेपाली सांगीतिक जगतकी एउटी समधुर स्वरकी धनी भएकी गायिकाकै पदचाप पछ्याउँदै अगाडि बढिरहिन् ।


    होला अन्जु पन्तका स्वरमा सजिएका उनकै लगानीको एल्बम भने बजारमा भेट्न पाइँदैन । उनको एकल एल्बमका कम्पनलाई रुपमा रेबल क्रियशनले बजारमा ल्याइदिएको थियो भने कोशेढुंगा उनीहरुको लगानीमा बजारमा आएको थियो । त्यसपछि गायिका अन्जुको आफ्नै लगानीको गीतको एल्बम भने स्रोताहरुले पाउने छैनन् अर्थात् उनको नामकै एल्बम कसैको लाइबेरीमा भेटिने छैन । तर पनि उनका कालजयी स्वर भएका एल्बमहरु भने सांगीतिक जगतको एउटा लाइबेरी नै बनेको छ । हजारौं गीतमा स्वर दिएकी गायिका अन्जु पन्तले गाएका गीतहरु व्यवसायिक बन्न पनि सफल भएका छन् । माइतीघर होस् वा तिम्ले पराई ठानेपछि होस् वा म तिमीबिना मरिहाल्छु, नबिर्से तिमीलाई नपाएँ तिमीलाई नै किन नहोस् सबै कालजयी गीत हुन् । शक्ति बल्लभ, दीपक जंगमदेखि पछिल्लो पुस्ताका सन्तोष श्रेष्ठ, अर्जुन पोखरेल, हरि लम्साल, वसन्त सापकोटा, महेश खड्का जस्ता हस्तीहरुको संगीतमा स्वर दिइसकेकी गायिका अन्जुको पछिल्लो समय विकल्पमा कोही देखिँदैन । अर्थात् अहिले पनि उनको एकलौटी भएको छ सांगीतिक क्षेत्र । हुन त महिला गायनमा माण्डवी त्रिपाठी, मिलन अमात्य, रजिना रिमाल, अन्जना गुरुङ पनि निरन्तर गायनमा नै छन् तर पनि उनको जस्तो गायकी भने संगीत क्षेत्रले पाउन सकेको छैन । त्यसैले उनी सदाबहार गायिका हुन् भन्दा फरक पर्दैन । उनका सबै गायनले सदाबहार रुप लिइरहेका नै छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु