सम्पन्न भयो सन्तोष श्रेष्ठको एकल साँझ

म्यूजिक खबर
प्रकाशित: २२ माघ २०७०, बुधबार

santosh11

काठमाण्डौं, २२ माघ । युवा पुस्ताका चर्चिक संगीतकार सन्तोष श्रेष्ठले कला, साहित्य, संगीतका क्षेत्रमा योगदान पुर्याउदै आएको संस्था राप्ती साहित्य परिषदको अधुरो भवन निमार्ण सहयोगार्थ मंगलबार एकल साँझ सम्पन्न गरेका छन । २०३७ साल माघ २१ गते दाङ्को हापुरमा संगीतकार संन्तोष श्रेष्ठ जन्मिदा यो भवन ३ वर्षको थियो । आफू भन्दा ३ पहिले जन्मिएको साहित्य परिषद्को भवन निर्माणका लागि गीत संगीतको माध्यमबाट सहयोग गर्न उनले आफू जन्मिएकै दिन एकल साँझको आयोजना गरेको बताए । उनले एकल साँझमा ‘तिमीले भुल्न सके पनि मैले भुल्न सकिन भो’, ‘तिम्रो दिलमा चोट लाग्दा मेरो दिलमा दुख्छ’, ‘आउँछु भनी निष्ठुरीले भर किन पार्नु’, ‘तिमीले पराई ठानेपछि पराई हुन के भयो र ?’ लगाएतका गीत गाएर सुनाए ।

उनले राष्ट्रकवि माधवप्रसाद घिमिरेका शब्द रचना तथा नातिकाजीको स्वर र संगीतमा रहेको ‘नेपाली हामी रहौला कहाँ ? नेपालै नरहे’ बोलको स्वदेशगान गाएर आफ्नो एकल साँझको सुभारम्भ गरेका थिए । जम्मा १४ वटा गीतमा आवाज दिएका संन्तोषले सबै गीत राप्ती अञ्चलकै स्रष्टाहरुका रचनालाई स्थान दिएका थिए । उनका पिता यज्ञबहादुर र आमा देवा कार्यक्रममा उपस्थित भएर उनको जन्म दिन र एकल साँझलाई साथ दिएका थिए ।

२०५७ सालमा दाङ, हापुरबाट लोकदोहोरी गाउन काठमाडौं आएका सन्तोष श्रेष्ठले अर्जुनमिलन आचार्यले सङकलन गरेको ‘जाऊ त माया उधै सलल…’ बोलको गीत रेकर्ड गराएर सांगीतिक धरातलमा टेक्ने ठाउँ बनाएका थिए । गायनबाट आफ्नो सांगीतिक करियर सुरु गरेका सन्तोष श्रेष्ठ पछिल्लो समय समकालिन आधुनिक संगीतको मुलधारका एउटा सशक्त संगीतकारको रुपमा दरिएका छन । उनी संगीत र गायनका अतिरित्त साहित्य लेखनमा पनि उत्तिकै रुची राख्दछन् । ‘आँसु’ गजल संग्रह र ‘अधुरो’ लधुकथा संग्रह गरी २ साहित्यीक कृति निकालीसकेका सन्तोषको कित्तामा अर्को पाटापनि थपिदिएको छ उनको एकल साँझले । एकल साँझले थपिदिएको समाजसेवामा सन्तोषको उपस्थिती निरन्तर रहने विश्वास लिन सकिन्छ ।
२०५६ साल मा खुल्ला लोकगीत प्रतियोगीतामा जील्ला प्रथम भएसंगै सांगीतिक यात्राको औपचारिक थालनी गरेर ‘राष्ट्रिय युवा प्रतिभा पुरस्कार’– २०६६, काठमाडौं . ‘सर्वोत्कृष्ट सङगीतकार पुरस्कार’–(२०६६), काठमाडौ, ‘तोयाराम– ईश्वरादेवी साहित्य पुरस्कार’– (२०६७), दाङं, ‘म्युजिक खबर म्युजिक अवार्ड’(२०१३), ‘रापती म्युजिक अवार्ड’ (२०७०), ‘रापती सास्कृतिक प्रतिभा पुरस्कार’ (२०६९) लगाएत थुप्रै सम्मान तथा पुरस्कार थापेका उनले २०६३ र २०६४ मा पनि दोहोरी गीत प्रतियोगीतामा प्रथम भएका थिए ।
अञ्जु पन्तले गाएको (रचनाः लोकराज अधिकारी) ‘तिमीले पराइ ठानेपछि पराइ हुन के भयो र…’ बोलको गीतले संगीतकारका रुपमा एउटा उचाइ र नाम दिए संगै सांगीतक यात्रामा तेजीलो रफ्तारमा दौडिएका श्रेष्ठले १३ वटा एल्वममा एकल संगीत दिइसकेका छन । एल्वम बाहेक दर्जनौ फुटकर गीतमा संगीत दिएका श्रेष्ठको सांगीतिक यात्रा यतिबेला एकल साँझसम्म आईपुगेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु